‘विद्यार्थीसँग क्षमता भएर पनि झुर परीक्षा प्रणालीका कारण फेल भए’
धनगढी: बृहत राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम जोशीले कुराकानी गरेका छन्। कार्यक्रमा प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
शिक्षा क्षेत्रतिर काम गर्ने मन कसरी बन्यो ? के कुराबाट अभिप्रेरित हुनुभयो ?
शिक्षा क्षेत्रसँग सबै जोडिएका नै हुन्छन्। कोही विद्यार्थीको रुपमा त कोही शिक्षक, शिक्षाकर्मीको हिसाबले। फरक यत्ति चाहिँ हुन्छ कोही परिवर्तन गर्न चाहन्छन्। मेरो विषयमा कुरा गर्दा मेरो परिवारको लगभग सबै सदस्य शिक्षण क्षेत्रमा नै काम गर्ने भएकाले पनि मेरो अभिरुचि बढी देखिन गयो र झुकाव बढ्दै गयो।
कक्षाकोठा भित्रै गएर शिक्षक भएर करिब १० वर्ष काम गर्ने अवसर पाए। कक्षाकोठामा गएर पढाउदै गर्दा हाम्रो पद्धति, तरिका, पाठ्यक्रम, परीक्षा प्रणाली यी सबै चिज गलत रहेछन्। हामीले यी चिज पुरै नयाँ ढंगबाट लैजानुपर्छ भन्ने मलाई लाग्यो। त्यसपछि म एउटा शिक्षकको भन्दा अलि फरक रुपमा प्रशिक्षकको रुपमा काम गर्न थाले। सबैलाई यी कुरा बुझाउदै अनि देश भरीनै पुगेर अगाडि बढ्दै गइरहेको छु।
बृहत राष्ट्रिय शिक्षा अभियान भनेको चाहिँ के हो ? किन सुरु गर्नु भएको हो ?
शिक्षामा आमूल परिवर्तन गर्नुपर्छ। हिजोका पद्धति, तौरतरिका पाठ्यक्रम र प्रणालीले अहिलेको समय सापेक्ष २१औं सताब्दीय शैक्षिक आवश्यकता पूरा गर्न सक्दैन। त्यसकारण यसलाई कक्षा कोठाबाट नै हटाउनुपर्छ।
शिक्षकहरूबाट नै यसलाई हटाउनुपर्छ। पाठ्यक्रमबाट नै हटाउनुपर्छ र मुल्यांकन जसरी गरिरहेका छौ यसलाई पनि सुधार गर्नुपर्छ। फुल मर्न लागेको छ भने यसलाई मर्न दिन्छौं। तर पानी हालेर बचाउनतिर लाग्दैनौं। हाम्रो मुल्यांकनले यही गर्छ।
त्यसैले त्यहाँ पनि समस्या छ र यी सबै कुराहरूलाई परिवर्तन गर्नुपर्छ भनेर एउटा अभियान शुरु गरेका हौं बृहत राष्ट्रिय शिक्षा अभियान। देशभरीका शिक्षा क्षेत्र नितिगत तहबाट नै बदलिनुपर्छ भनेर सोच राख्ने सबैलाई जोड्दै, बहस गर्दै एउटा अभियानको रुपमा अगाडि ल्याएका छौ।
इसिडीदेखि युनिभर्सिटी सम्मका सम्पूर्ण एजेन्डाहरुलाई समेटेर हामी अगाडि बढीरहेका छौ। सबैभन्दा पहिला इसिडी ठिक हुनुपर्छ र त्यसपछि सबै विश्वविद्यालय ठिक हुनुपर्छ। विश्वविद्यालयले अनुसन्धान गर्नुपर्छ अनुसन्धान गर्ने क्षमता भएका नागरिक उत्पादन गर्नुपर्छ। इसिडी सेन्टरले चाहिँ भोलिको जग बसाल्नुपर्छ।
शैक्षिक क्षेत्रका हरेक तत्वहरु परिवर्तन हुनु जरुरी छ भनेर नागरिक तहबाट सुरु भएको एउटा अभियान हो बृहत राष्ट्रिय शिक्षा। अभियान व्यक्तिगत रुपमा चाहिँ म यसलाई एउटा आन्दोलन भन्न रुचाउँछु।
हाम्रो शिक्षा प्रणालीका समस्या के–के हुन भन्छ त तपाईको अनुभवले, अध्ययनले ?
सबैभन्दा पहिला त समस्या पत्ता नलगाई अभियानमा जाँदै गइएन। हाम्रो शिक्षामा हामी विद्यार्थीलाई पुस्तक अर्थात विषयबस्तु त पढाउँछौ तर त्यो जिन्दगीमा कहाँ काम आउँछ त ? हामीले पढिरहेको कुरामा जीवनसँग, जगतसँग, परिवारसँग, जीवन पद्धतिसँग जोड्ने कला कहाँनिर छ त ?
त्यो मैले कहिँ पनि देखिन। सम्भवत यो एउटा समस्या होला कि एउटा विद्यार्थीले रोबर्ट बनाए अवमूल्यन गर्छौ र न्यूटनको सिद्धान्त याद गरेन भनेर उसलाई फेल गराई दिन्छौं। विद्यार्थीको भएको क्षमताको अवमूल्यन गरेर पाठ्यक्रम बनाउने मान्छेको सोचाइ अनुरुप उसलाई ढालेर त्यो विद्यार्थीलाई त्यसमा राम्रो प्रस्तुति गराउन खोज्ने र गरेन भने फेल गराउने। यो एउटा ठूलो समस्या हो। यस्ता कयौं उदाहरण छन् जहाँ विद्यार्थीसँग क्षमता भएरै पनि यो झुर परीक्षा प्रणालीका कारण फेल भएका छन्। उनीहरु देश हाक्न सक्थे। संसार हाक्न सक्थे तर पनि एकदम निराश र निरीह बनाई दिएको छ।
अर्को समस्या हाम्रो पाठ्यक्रममा हो। अहिले निर्माण भइरहेको, पढाई रहेको पाठ्यक्रमले आउने १०/२० वर्ष पछिको जनशक्ति निर्माण गर्ने हो। तर त्यो दिशामा हामी जान सकिरहेको छैनौं।
अर्को कुरा पढेलेखेकाहरुमा आचरण हुनुपर्ने अनुशासन हुनुपर्ने चरित्रवान हुनुपर्ने तर यो देश बिगारेको नै पढेलेखेकाहरुले छ। विश्व बिगारेको त पढेलेखेकाहरुले छ। बिचरा त्यो अनपढ त सोझो छ। आफ्नो चरित्रलाई बेचिरहेको छैन। आफ्नो स्वाभिमान जोगाउन लागिपरेको छ। मैले घुस खानु हुन्न पसिनाको कमाई मात्रै खानुपर्छ। अरुलाई ढाट्नुहुन्न छलकपट गर्नुहुन्न भन्छ।
तर पढे लेखेकाहरुले खुरापात गरिरहेको छन्। अरुलाई कसरी लडाउन सकिन्छ त्यतातर्फ सोचिरहेको छ। यसको समस्याको मुल जड भनेको त हाम्रो शिक्षाले आचरण निर्माण गर्न सकेन। शिक्षालाई सीपसँग जोड्न सकेन।
अहिले पनि विश्व बैंकले भनिरहेको छ। नेपालमा हरेक वर्ष ३ लाख श्रम शक्ति बजारमा आउँछ। ३ लाख जति रोजगारी सरकारले बजारमा निर्माण गर्न नसक्ने हो भने शैक्षिक बेरोजगारीले भयावह स्थिति ल्याउन सक्छ।
दक्षिण एसिया सबैभन्दा बढी शैक्षिक बेरोजगारी भएको देश नेपाल बनिरहेको छ। डिग्री छ तर हातमा सीप छैन। यी नै नेपालमा शिक्षाका समस्या हुन। सबैभन्दा ठूलो समस्या त सरकारले सञ्चालन गरेका स्कुल तथा विश्वविद्यालय गुणस्तरीय न हुनु पनि हो।
सरकारले शिक्षामा छुट्याउने बजेट एकदमै न्यून छ। राम्रो संरचना, सुविधासम्पन्न संरचना निर्माण हुन सकिरहेको छैन। अहिले पछिल्लो समयक परिस्थिति हेरौं न २ वर्ष भइसकेको छ कोरोना कहरले विद्यालय क्षेत्र सुनसान भएको।
अनलाइन कक्षा सुरु गरौ भनेको पनि २ वर्ष नै भयो तर भन्यो हुन सक्दैन। किनकी त्यो सक्षमता नै निर्माण गर्न सकेको छैन हाम्रो शिक्षा प्रणालीले।
अहिले ८० प्रतिशत भन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयहरुमा पढ्छन्। ती विद्यार्थीहरुमाथि सरकारले ठुलो कुठाराघात गरिरहेको छ। तिनको गुणस्तर उदेकलाग्दो छ।