सुदूर नेपाललाई विश्वसँग जोड्दै

महामारीकै बीच कांग्रेस कैलालीमा भाँडभैलो, टीकापुरका १२ सय जना क्रियाशिल सदस्यताबाट छुटे

२०७८ वैशाख २३, ०९:०२ खबर संवाददाता

धनगढीः कोरोना महामारी फैलिएको बेला कैलालीमा आन्तरिक विवाद चर्किएको छ। 

क्रियाशिल सदस्यता फारम बुझाउने विषयमा कुरा नमिल्दा कांग्रेस कैलालीमा विवाद चुलिएको हो। 

खासगरी जिल्लाको क्षेत्र नं. १ को टीकापुर नगरपालिकामा कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ। नेपाली कांग्रेस कैलालीका उपसभापति प्रकाशबहादुर बमका अनुसार वैशाख १५ गतेभित्र क्रियाशिल सदस्यता फारम दर्ता गर्नुपर्ने समय सीमा तोकिएको थियो। 
तर कांग्रेसभित्रको गुट-उपगुट तथा आ–आफ्नो निकटकालाई सदस्यता वितरण गर्न थालेपछि विवाद बढेको थियो। सो विवाद बढेपछि समय सीमाभित्र दर्ता नभएको बताइएको छ। 

हाल २ पक्षबीच आरोपप्रत्यारोप चुलिएको छ। एक पक्षले सिफारिस गरिएका सदस्यमा आफ्ना मान्छे नपरेपछि योजनाबद्ध रुपमा छुटाइएको आरोप लगाएको छ भने, अर्कोपक्षले आफुहरुलाई बाइपास गर्दै सदस्यता फारम भरेर कब्जा गर्ने रणनीतिमा लागेकोले दर्ता गर्नमा रोकेको बताएको छ।

कांग्रेस कैलालीको क्षेत्र नं. १ (क) का सभापति रामकृष्ण चौधरीले वडा समितिदेखि नै सदस्यताको फारम नगएपछि छुटेको बताए। नेतृत्वमा स्वार्थ बाँझिएपछि सदस्यता फारम छुटेको उनको भनाइ छ। सदस्यताकै विवादले बीपी स्मृति भवन तथा क्षेत्र नं. १ को कार्यालयमा तोडफोड भएको हुन सक्ने उनको भनाइ छ। वैखाश ११ गते कार्यालयमा तोडफोड गरिएको थियो।

त्यस्तै, नेपाली कांग्रेस क्षेत्र नं. १ (ख) का सभापति प्रकाश शाहले पार्टीको विधान बमोजिम सिफारिस गरिएका सक्रिय सदस्यलाई छुटाउन तथा आफु निकटका नपरेपछि सुनियोजित ढंगले फारम दर्ता नगरेको आरोप लगाए।

क्षेत्र नं. १ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीलाई इंगित गर्दै शाहले भने, “केही व्यक्तिको बल मिच्याई, क्षेत्र नं. १ लाई विवादित बनाउन र व्यक्तिगत स्वार्थको कारण सुनियोजित ढंगले टीकापुर नगरपालिकाको वडा नं. १ लाई छुटाइएको हो।”
तर क्षेत्रीय सभापति अधिकारीले केही पक्षले आफ्नो निकटकालाई मात्रै क्रियाशिल सदस्यताको लागि सिफारिस गरेको बताए। टीकापुर नगरपलिकाको वडा नं. को वडा भेलामा वडा सभापतिले एक पक्षलाई नबोलाएरै आफु निकटका व्यक्तिहरुलाई एकलौटी ढंगले सिफारिस गरी पार्टी कब्जा गर्ने रणनीतिमा लागेकोले रोकिएको बताए। १५ गते दर्ता गर्नुपर्ने अन्तिम दिन भएपनि क्षेत्रीय समितिलाई अध्ययनको समय नै नदिने गरी १३ गते फारम बुझाएको र समय नभएपछि दर्ता गर्न नसकेको सभापति अधिकारीको भनाइ छ। 

कांग्रेस कैलालीका उपसभापति बमका अनुसार टीकापुर नगरपालिकाभित्रका क्रियाशिल सदस्यहरुको फारम दर्ता हुनबाट छुटेको हो। नगरपालिकाको वडा नं. १ को ७ सय ७ जनासहित १२ सय जनाको सदस्यता फारम दर्ता हुनबाट छुटेको छ।
क्रियाशिल सदस्यता फारम दर्तामा छुट्नेहरु कांग्रेसको अब हुने महाधिवेसनमा सहभागी हुन नपाउने भएका छन्।

“कांग्रेसको सदस्यता दर्ता प्रणाली केन्द्रीय समितिबाट नियन्त्रित छ। वडा समितिले सिफारिस गरी पठाएका फारम क्षेत्रीय समितिमा त पुग्यो। क्षेत्रीय समितिले समय सीमाभित्रै कम्युटरमा इन्ट्री गर्नुपर्ने प्रणाली छ। तर समयभित्र इन्ट्री नभएपछि लक भयो,” बमले भने, “अब केन्द्रीय समितिले समय थप गर्न महसुस गरेमा हुने हो। नभए, त्यसको अर्को विकल्प रहेन।”

कमेन्ट लोड गर्नुस