सुदूर नेपाललाई विश्वसँग जोड्दै

चाडपर्वका वेला किसानलाई अलैँची थन्क्याउने चटारो

२०७६ असोज २०, ०४:२३ खबर संवाददाता

अलैँची टिप्ने सिजन सुरु भएसँगै पूर्वी पहाडी जिल्लाका किसानलाई यतिखेर अलैँची थन्क्याउन भ्याइ नभ्याइ भएको छ। चाडपर्व मनाउन छाडेर किसानहरु अलैँची थन्क्याउने काममा लागेका छन्। पूर्वी पहाडी जिल्लाको मुख्य नगदे बालि अलैँची यतिखेर पाँचथरसँगै ताप्लेजुङ र इलाम लगायतका जिल्लाहरुमा टिप्ने सिजन सुरु भएको छ। भदौको अन्तिमबाट सुरु भएर कात्तिक महिनाभर त्यहाँका किसानहरुलाई अलैँची थन्काउन भ्याइनभ्याइ हुने गर्दछ।

पाकिसकेको अलैँची समयमै नटिपे बोटमै कुहिने साथै जंगली जनावरहरुले खाने हुनाले समयमै टिप्नु पर्दछ। अलैँचीे दशैँ, तिहारजस्ता पर्वको समयमा पाक्ने हुनाले बर्से्नि चाडपर्वको समयमा अलैँची थन्काउन भ्याइनभ्याइ हुने गरेको फालेलुङका अलैँची किसान राजकुमार लिम्बूले बताए। उनले भने, ‘अलैंँची टिप्न भ्याइनभ्याइ छ, चाडपर्व भनेर हुन्न, समयमै नटिपे बोटमै कुहिएर जान्छ, टिप्नै पर्छ।’

अलैँची टिप्न कामदार (कुल्ली) को अभाव भएको पनि किसानहरुले बताएका छन्। गाँउघरमा भएका युवा विदेशिने तथा पढाइको सिलसिलामा शहरतिर बस्ने हुनाले कामदारको अभाव भएको अर्का किसान याम लिम्बूको भनाइ छ। विशेष गरेर अलैँची फुल्ने समयमा यसवर्ष लामो समय खडेरी परेकाले अलैँची उत्पादन घट्ने किसानहरुले बताएका छन्। अलैँचीलाई पानी चाहिने चैत, वैशाखमा खडेरी लागेपछि अलैँचीको बोट मरेका कारण उत्पादनमा गिरावट आउने भएको हो। यो समयमा फल लाग्नको लागि अलैँची फुल्ने गर्दछ।

अलैँची विकास केन्द्र फिक्कल इलामका अनुसार ताप्लेजुङमा चार हजार १ सय ५० हेक्टरमा अलैँची खेती हुने गर्दछ जुन नेपालमै सबैभन्दा धेरै हो। यस्तै पाँचथरमा १ हजार ७ सय  ३७ र इलाममा १ हजार २ सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको छ।
 

कमेन्ट लोड गर्नुस