सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौथो भजहर कपः सिवाईसी र यात्री युवा क्लब विजयी

२०८१ वैशाख १८, ०६:१४ खबर संवाददाता

धनगढीः कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा भईरहेको चौथो भजहर कप फुटबल प्रतियोगितामा सिवाईसी र यात्री युवा क्लब विजयी भएका छन्।

थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैँ आएको भजहर कपको चौथो संस्करणको खेलमा सिवाईसीले हिमसागर युवा क्लबलाई हरायो भने यात्री युवा क्लबले धनगढी फलसिलिङलाई किनारा लगाएको हो। श्री युवा जनहित क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको पहिलो खेलमा सिवाईसीले हिमसागर युवा क्लबलाई टाईब्रेकरमा किनारा लगायो।

निर्धारित समय एक एकको बराबरी भएपछि टाईब्रेकरमा सिवाईसीले ५–३ ले नतिजा आफ्नोतिर पारेको हो। दोस्रो खेलमा यात्री युवा क्लबले धनगढी फलसिलिङलाई फराकिलो अन्तरले हरायो। यात्रीले धनगढी फलसिलिङलाई ४–० लेकिनारा लगाएको हो।

पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ भईरहेको प्रतियोगिता वैशाख २२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए। थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ। त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस