सुदूर नेपाललाई विश्वसँग जोड्दै

माछा पालनमा देव फार्म हाउस धनगढीद्धारा बायो फ्लक प्रविधि प्रयोग

२०७६ असोज ४, १२:११ जनक विष्ट

धनगढीमा माछा पालनका लागि बायो फ्लक प्रविधी प्रयोगमा ल्याईएको छ। धनगढीको देव फार्म हाउसले परिक्षणको रुपमा माछा पालनका लागि बायो फ्लक प्रविधि प्रयोगमा ल्याएको हो। नेपालकै हकमा नयाँ मानिएको बायो फ्लक प्रविधीको सुदूरपश्चिममा पहिलो पटक धनगढीमा प्रयोग गरिएको हो।

परम्परागत रुपमा यसअघि देखि नै माछा पालन गर्दै आएको देव फार्म हाउसले बायो फ्लक प्रविधीको बीहिबारदेखि परिक्षण सुरु गरिएको जनाएको छ। कम लागतमा बढि आम्दानी लिन सकिने बायो फ्लक प्रविधीमा आधारित एउटा ट्याङकीमा माछा हालेर परिक्षणका रुपमा प्रयोग गरिरहेको देव फार्म हाउसले विस्तारै अन्य ट्याङकी पनि जडान गर्ने योजना बनाएको छ।

फार्मका सञ्चालक रविनकान्त पन्तले इन्डोनेसिया सहित छिमेकी राष्ट्र भारतमा समेत प्रयोगमा रहेको यो प्रविधीलाई परिक्षणको रुपमा सुरु गरिएको जानकारी दिए। पन्तले आधुनिक प्रविधीमा रुपमा विकसीत भएको बायो फ्लक प्रणालीमा ब्याक्टेरीयाको मद्दतले माछा पालन गरिने बताउँदै गुणस्तर मापन गर्ने र सोही अनुसार सन्तुलन कायम गर्न सकिने उपकरण जडान गरिएको ट्याङ्कीमा माछा हालेर पालन गरिने जनाए।

 

पानीको समेत बचत गर्न सकिने बायो फ्लक प्रविधी परिक्षणको रुपमा मात्र प्रयोग गरिरहेको भएपनि दशैँपछि थप ट्याङ्की जडान गरिने सञ्चालक पन्तले बताए। भारत लगायतका देशमा प्रयोगमा आईसकेको बायो फ्लक प्रविधीको प्रयोग गरी नेपालको पूर्वी क्षेत्रमा मत्स्य पालन सुरु गरिएपनि सुदूरपश्चिममा भने पहिलो पटक परिक्षणका रुपमा प्रयोग गर्न थालिएको हो।

झण्डै ४० हजार रुपैँयामा एउटा ट्याङकी जडान गर्न सकिने यो प्रविधीमा माछा हुर्कन बढ्न आवश्यक पर्ने तापमान, डिजोल्ब अलिक्सजन, अमोनिया, पिएच परिक्षण र नियन्त्रण गर्न सकिन्छ  भने कम लागतमा बढि मुनाफा कमाउन सकिन्छ। परम्परागत रुपमा एक कठ्ठामा निर्माण गरिने पोखरीमा पाँच देखि सात सय माछा मात्र उत्पादन गर्न सकिने भएपनि यो प्रविधीमा एक कठ्ठा जमिनमा १५–१६ वटा ट्याङकी जडान गर्न सकिने र झण्डै १० देखि १२ हजार माछा उत्पादन गर्न सकिने देव फार्म हाउसका सञ्चालक पन्तले उल्लेख गरे।

 

बायो फ्लक प्रविधीका लागि आवश्यक पर्ने समाग्रीको समेत नेपालमै उपलब्धता भएका कारण अन्य किसानले पनि सहजै प्रयोग गर्न सक्छन् तर बायो विकसीत गर्ने उपकरण मात्र भारतबाट ल्याउनुपर्ने हुन्छ। परम्परागत रुपमा माछा पालन गर्दा हेरचाह गर्ने जनशक्ति समेत आवश्यक पर्ने हुँदा केही खर्चिलो हुने भएपनि बायो फ्लक प्रविधीमा धेरै जनशक्ति समेत आवश्यक नपर्ने हुँदा सहजै प्रयोगमा ल्याउन सकिन्छ।  
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस