सुदूर नेपाललाई विश्वसँग जोड्दै

रैथाने बाली उत्पादनमा जुट्यो बझाङको ‘मष्टा’, यसरी हुँदैछ बजारीकरण

२०८० जेठ १९, ०४:१४ नारायण अवस्थी

धनगढीः बझाङको मष्ठा गाउँपालिकाले रैथाने अन्न बालीको उत्पादन बढाउने नीति लिएको छ। गाउँपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा रैथाने बालीको उत्पादन तथा बिक्रीवितरण गरेर घरघरमा रोजगारी बढाउने लक्ष्य राखेको छ। पालिकामा नवप्रवर्तन साझेदारी कोष अन्तर्गत सञ्चालित परियोजनाबाट रैथाले अन्न बालीको उत्पादन, उपभोग र बजारीकरणको योजना कार्यान्वयन भइरहेको गाउँपलिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले बताए।

‘गाउँपालिकाले रैथाने अन्न बालीको उत्पादन, उपभोग र बजारीकरण बढाउने नीति लिएको छ,’ उनले भने, ‘गाउँपालिकालाई रैथाने अन्न बालीको उत्पादन, उपभोग र बिक्रीवितरणको केन्द्र बनाउन रैथाने बालीको उत्पादन बढाउने योजना बनाइएको छ।’ गाउँपालिकाले  कोदो, फापर, जौ, जै, लट्टे अर्थात् बेथे, कागुनो, सिमी र चिनो जस्ता रैथाने बालीको उत्पादन र उपभोग बढाउने लक्ष्य लिएको छ।

जसका लागि प्रदेश सरकारसँग साझेदारी गर्दै नवप्रवर्तन साझेदारी कोष अन्तर्गत रैथाने बालीको उत्पादन, उपभोग र बजारीकरणको विकास गर्न परियोजना नै सञ्चालन गरिएको छ। मष्टा गाउँपालिकामा रैथाले बालीको खेती विस्तार गर्दै उत्पादन र उपभोग बढाउन यो वर्ष नवप्रवर्तन साझेदारी कोषको १ करोड ५० लाख र गाउँपालिकाको ५० लाखसहित २ करोड लागतमा कृषि यान्त्रिकारण, उत्पादनमा जोड र क्षेत्र विस्तारका कार्यक्रम गरिने गाउँपालिकाका कृषि अधिकृत प्रभाकर जोशीले बताए।

‘रैथाने बालीको उत्पादन बढाउन यो वर्ष यान्त्रिकरणमा सहयोग गर्दै क्षेत्र विस्तार गर्ने योजना छ,’ उनले भने, ‘किसानहरूलाई प्राविधिक ज्ञान र कृषि पूर्वाधारमा सहयोग गरेर रैथाने उत्पादनबाट आर्थिक लाभ लिन सक्ने बनाउने पालिकाको योजना छ।’ मष्टा गाउँपलिकाको दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिको कार्यपालिका बैठकको  पहिलो निर्णय रैथाने उत्पादनको उपभोग प्रवर्द्धन गर्ने थियो।

जसअनुसार पालिकामा रैथाने अन्नबाट बनेका खाजा र खानाका परिकार उपभोग गर्ने नीति लिइएको छ। रैथाने बालीप्रतिको आम बुझाइमा परिवर्तन ल्याएर स्वास्थ जीविकोपार्जन र आर्थिक स्रोतको मुख्य आधार रैथाने बालीको उत्पादन बढाएर प्राप्त हुने कुरा किसानहरूलाई बुझाउन सफल भएको गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराको दाबी छ। ‘गाउँमा रैथाने उत्पादनको महत्त्व किसानहरूले बुझ्न थालेका छन्।

स्वस्थ जीवनका लागि रैथाने अन्न उपभोग गर्नुपर्ने कुरा विस्तारै सबैले बुझ्न थालेका छन्,’ उनले भने, ‘हामीले रैथाने बालीको उत्पादन बढाएर बाहिरबाट आउने खाद्यान्न रोक्ने योजना बनाएका छौँ। जसका लागि आगामी वर्षको बजेटमा पनि रैथाले अन्न बालीको क्षेत्र र उत्पादन बढाउने कार्यक्रम समावेश गरिनेछन्।’ मष्टा गाउँपालिकामा यो वर्ष २ सय हेक्टर क्षेत्रमा कोदो खेती गरिएको थियो। पालिकामा ५० हेक्टर क्षेत्रमा सिमी खेती गरिएको पालिकाले जनाएको छ।

अन्य रैथाने बालीको क्षेत्र विस्तार गरि उत्पादन बढाएर बजारीकरणमा किसानलाई सहयोग गर्ने नीति गाउँपालिकाको छ। रैथाने अन्नको उत्पादनमा जोड दिने र बाहिरबाट आउने खाद्यान्नको प्रतिस्थापनसँगै  उत्पादन भएको रैथाने अन्न पालिकाले उचित मूल्यमा किसानबाट सोझै खरिद गर्ने नीति बनाएको छ।

रैथाने अन्न उत्पादन, उपभोग र बिक्रीवितरण सँगसँगै लैजान सके उपभोक्ताले स्वस्थ अन्न उपभोग गर्न पाउने र किसानलाई आर्थिक रुपमा फाइदा हुने भएकाले उत्पादन, उपभोग र बजारीकरण सँगसँगै गर्नुपर्ने सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले बताए। उनले युवा जनशक्तिलाई रैथाने अन्नको खेतीमा आकर्षण गराउन सके प्रतिफल पनि प्राप्त हुने र कम लागतमा नाफा आर्जन हुने बताए। ‘रैथाने बालीको खेतीगर्न युवा जनशक्तिको आकर्षण बढाउनु पर्छ,’ उनले भने, ‘युवाको आकर्षण बढाउन सके उत्पादन पनि बढ्छ।

प्रदेश सरकारले पनि रैथाने अन्न उत्पादन बढाउन कार्यसम्पादनमा आधारित सहयोग गर्नेछ।’ गाउँपालिकाले धनगढीमा गरेको कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहले रैथाने बालीको संरक्षण, उत्पादन र बजारीकरणमा प्रदेश सरकारले सहयोग गर्ने बताए। उनले कुन जिल्लाको कुन स्थानीय तहमा के को सम्भावना छ त्यसको पहिचान गरेर काम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री सिंहले रैथाने बालीको संरक्षण र विस्तारका  लागि आवश्यक नीति बनाउन पहल गर्ने बताए।

मष्टा गाउँपालिकाले रैथाने अन्नको क्षेत्र विस्तार गरेर उत्पादन बढाउने नीति लिएको छ। सिँचाइ, उपकरण र खेतीपातीका लागि किसानलाई  प्राविधिक सहयोग गर्दै रैथाने अन्न उत्पादनलाई पालिकाको पहिचान बनाउने योजना वर्तमान जनप्रतिनिधिको टिमले लिएको छ। मष्ठा गाउँपालिकल्ले उत्पादिन कृषि उपजको बजारीकरणका लागि पालिकामा पाँच संकलन केन्द्र, एक बिउ बैंक र एक कोसेली घर सञ्चालनमा ल्याउने तयारी छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस