सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ‘विषादीको सहि ज्ञान कृषकको सुरक्षा अभियान’

२०८२ असार ६, १०:२६ खबर संवाददाता

कञ्चनपुर : कृषिमा विषादीको अन्धाधुन्ध रूपमा प्रयोग हुन थालेपछि मानव स्वास्थ्य जोखिममा पर्न थालेको छ। खेतबारीमा विषादी छर्कने किसानै क्यान्सर, मृगौला तथा फोक्सो सम्बन्धी रोगको शिकार हुन थालेका छन्।

किसानलाई विषादीको सुरक्षित प्रयोगसँगै वैकल्पिक उपाय प्रवर्धन गर्ने उद्देश्यले बेदकोट नगरपालिका–५ सुन्दरपुरमा रहेको बाली संरक्षण प्रयोगशालाले विषादी सम्बन्धी सचेतना कार्यक्रममा जोड दिन थालेको छ। व्यावसायिक खेतीमा संलग्न किसानलाई विषादीको सुरक्षित रूपमा प्रयोग गर्ने तरिका, विषादी छर्किदा अपनाउनुपर्ने सावधानी तथा जैविक विषादीमा जोड दिनका लागि सचेत पार्ने कार्य भइरहेको प्रयोगशालाका निमित्त कार्यालय प्रमुख भक्तबहादुर पालले बताए। ‘विशेष गरी व्यावसायिक तरकारी उत्पादन हुने क्षेत्रका किसानलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेका छौं’, उनले भने, ‘जिल्लामै व्यावसायिक रूपमा बढी तरकारी उत्पादन हुने शुक्लाफाँटा नगरपालिका–३ का किसान र एग्रोभेट सञ्चालकका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरी विषादीको उचित व्यवस्थापन र एग्रोभेट व्यवसायीले पालना गर्नुपर्ने मापदण्ड सम्बन्धमा विस्तृत रूपमा जानकारी दिएका छौँ।’

कार्यक्रमलाई अन्य पालिकाका पुर्‍याइ विषादीको प्रयोगलाई न्यूनीकरण गरी विकल्पका रूपमा जैविक विषादीको प्रयोग गर्ने तरिकाबारे जानकारी दिने कार्य हुनेछ। प्रयोगशालाका बाली संरक्षण अधिकृत सन्तोष भट्टले रसायनिक विषादीको अन्धाधुन्ध प्रयोगले मानव स्वास्थ्य, माटोको उर्वरता, तथा वातावरणमा नकारात्मक असर पु¥याइरहेको हुँदा यसप्रति सजग हुन जरुरी रहेको बताए।

विषादीको विकल्पका रूपमा नीमको तेल, ट्राइकोडर्मा, बायोपेस्ट, बायोफर्टिलाइजरको प्रयोगसँगै जैविक विषादी तथा फेरेमोन ट्रयापको प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ थियो। किराको जीवनचक्रअनुसार नियन्त्रण विधि अपनाउनुपर्ने उल्लेख गर्दै उनले विषादी छर्दा मास्क, पन्जा, चस्मा, सुरक्षात्मक पोसाक अनिवार्य प्रयोग गर्न र विषादी राख्ने स्थान बच्चा तथा जनावरको पहुँचभन्दा टाढा राख्नुपर्ने सुझाव दिए। ‘विषादी छर्ने बेला हावाको दिशा नहेरी छरियो भने विष आफैँमा फर्कन्छ’, उनले भने, ‘समय, मात्रा र मौसमको अवस्था विचार गरेर मात्रै विषादी छर्किनुपर्छ।’ एग्रोभेट सञ्चालकले म्याद गुज्रेका विषादी बिक्री नगर्ने, ग्राहकलाई सहि सूचना दिने, प्रतिबन्धित विषादीको बिक्री वितरण रोक्ने, सूचना बोर्ड राख्ने विषादी वर्गीकरणअनुसार छुट्टाछुट्टै राख्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ रहेको छ।

प्रयोगशालाका बाली संरक्षण प्राविधिक सत्यराज जोशीले कृषि क्षेत्रमा उत्पादन वृद्धिका लागि प्रयोग गरिने विषादीको दुरुपयोग र लापरवाहीका कारण मानव स्वास्थ्य, वातावरण र खाद्य सुरक्षा प्रतिकूल प्रभावित भइरहेकाले, विषादीको सुरक्षित, वैज्ञानिक र जिम्मेवार प्रयोगको आवश्यकता औँल्याए।

विषादी छर्कने किसानले सावधानी नअपनाएमा छालामार्फत, श्वासमार्ग वा आँखा हुँदै विषादी शरीरमा प्रवेश गर्नसक्ने भएकाले सुरक्षाका उपाय अपनाएर मात्रै विषादी छर्किनुपर्ने उनले बताए। विषादीले कलेजो, मुटु, मिर्गौला, फोक्सोमा क्षति पुर्‍याउने कार्य, स्नायु प्रणालीमा समस्या, विषेश गरी कलेजो, रगत र रक्त क्यान्सरको समस्यासँगै प्रजनन समस्या (बाँझोपन)को समस्या देखापर्ने उनले उल्लेख गरेका छन्।

उनका अनुसार बालबालिकामा शारीरिक र मानसिक समस्या पनि विषादीले निम्त्याउने गर्दछ। किसानले मानव स्वास्थ्यलाई कम असर गर्ने विषादीको प्रयोगमा जोड दिनुपर्ने कुरा औँल्याउदै उनले किसानलाई विषादीको प्रयोगबारे समुचित ज्ञान नहुँदा आज विषादी छर्केको तरकारी टिप्न तोकिएको म्यादअघि नै टिपेर बजारमा लगेर बिक्री गर्दा गम्भीर समस्या निम्तिने गरेको बताए। ‘कृषिमा प्रयोग हुने विषादीले किसानको ज्यान जोखिममा पार्दछ भने ग्राहकको स्वास्थ्यलाई दीर्घकालीन रूपमा असर गर्छ’, उनले भने, ‘त्यसैले सुरक्षित उत्पादन र उपभोगका लागि सचेत व्यवहार, जैविक प्रविधिको प्रयोग र सही जानकारी अत्यावश्यक छ।’

रसायनिक विषादीको असरबारे पहिलो पटक यति गहिरो जानकारी पाएको सचेतना कार्यक्रममा सहभागी सावित्री चौधरीले बताए। ‘विषादी छर्किए रोग किरा नियन्त्रण गरि उत्पादन बढाउन सकिन्छ भन्ने मात्रै जानकारी थियो’, उनले भने, ‘विषादीले तरकारी उत्पादन गर्नेकै स्वास्थ्य जोखिमा रहेको कुरा जानकारी पाए, विषादीको बट्टामा राखिएको रङका बारेमा जानकारी पाउने कार्य सँगै विषादी छर्केको कति समय भित्र तरकारी टिप्न उपयुक्त हुने कुरा सिके।’ अब रसायनिक विषादी नभएर घरमै शून्य लागतमै बनाउन सकिने जैविक विषादी तयार गरी तरकारीमा छर्किने उनले बताए।

 

कमेन्ट लोड गर्नुस