सुदूर नेपाललाई विश्वसँग जोड्दै

राइजिङ स्टार प्रिमियर लिग: डिस्कभरी, विद्याभूषण, गार्डेन र थ्री स्टार विजयी

२०८२ मंसिर २१, ०६:०३ खबर संवाददाता

धनगढीः धनगढीमा जारी ‘बाल्मिकी प्लस टू राइजिङ स्टार प्रिमियर लिग’ (आरपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज चार खेल सम्पन्न भएका छन्।

पहिलो खेलमा डिस्कभरी सेकेन्डरी स्कुलले ब्राइटवे पब्लिक स्कुललाई ५१ रनले पराजित गर्दै जीत हात पारेको छ। पहिले ब्याटिङ गरेको डिस्कभरीले १० ओभरमा ६ विकेट गुमाएर ११६ रनको बलियो योगफल तयार पारेको थियो। त्यसको जवाबमा ब्राइटवेले निर्धारित १० ओभरमा ८ विकेट गुमाई ६५ रन मात्र जोड्न सक्यो।

दोस्रो खेलमा विद्याभूषण पब्लिक स्कुल विजयी बन्न सफल भयो। उसले ग्ली एकेडेमीलाई ७ विकेटले हरायो। ग्लीले पहिले ब्याटिङ गर्दै १० ओभरमा ६ विकेटको क्षतिमा ८१ रन बनाएको थियो। लक्ष्य पछ्याउँदै विद्याभूषणले ८.३ ओभरमै ३ विकेट गुमाउँदै जित दर्ता गर्‍यो।

तेस्रो खेलमा गार्डेन स्कुलले एक्सिस विद्याश्रमलाई ३ विकेटले पराजित गर्दै विजय हासिल गर्‍यो। एक्सिसले पहिले ब्याटिङ गर्दै १० ओभरमा ९ विकेट गुमाई ९३ रन बनाएको थियो। गार्डेनले ९.२ ओभरमा ७ विकेट खोसिए पनि लक्ष्य पूरा गर्न सफल भयो।

चौथो खेलमा थ्री स्टार स्कुलले सिद्धार्थ विद्या निकेतनलाई ५ विकेटले पराजित गर्‍यो। सिद्धार्थले पहिले ब्याटिङ गर्दै १० ओभरमै सबै विकेट गुमाएर ५१ रन बनाएको थियो। थ्री स्टारले ४.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

राइजिङ स्टार बोर्डिङ स्कुलको आयोजनामा धनगढीको मट्यारीस्थित श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगितामा ८ कक्षामुनिका २४ टिम सहभागी छन्।

प्रवन्ध निर्देशक कलेन्द्र शाहीका अनुसार प्रतियोगिताका विजेतालाई ५० हजार रुपैयाँ, उपविजेतालाई २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ। साथै, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट ब्याटर, बलर तथा उदयमान खेलाडीलाई जनही २–२ हजार रुपैयाँ पुरस्कार दिइनेछ।

कमेन्ट लोड गर्नुस