सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’

२०८२ मंसिर २१, ०४:५० खबर संवाददाता

सुदूरपश्चिम: सर्जक एवं कलाकारलाई स्वफूर्त प्रतिभा प्रस्फुटन गराउने, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ‘भजन सन्ध्या’मा सामूहिक रूपमा सर्जकबाट भजनकीर्तन प्रस्तुत हुन थालेको छ । 

धनगढी उपमहानगरपालिका कार्यालयको व्यवस्थापनमा प्रत्येक शनिबार साँझ जेनजी सडक छेउमा आयोजना हुने ‘भजन सन्ध्या’मा स्थानीय किशोरकिशोरी, वृद्धवृद्धालगायतको सहभागिता बढ्दै गएको हो।

सामूहिक रूपमा सर्जकबाट भजनकीर्तन प्रस्तुत हुन थालेपछि धनगढीस्थित ‘जेनजी मार्ग’को माहोल रोमाञ्चक बन्न थालेको छ। मादल, ढोलक, खैँजडी, हारमुनियमको ताल र सुरिलो स्वरमा सर्जकहरूले आआफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर पाएसँगै यसले कला, संस्कृतिको संरक्षणका साथै प्रवद्र्धनमा टेवा पुगेको भजन गीतका रचनाकार गणेशराज भट्टले बताए।
 
भजनकीर्तनका गीत गाउँदा दर्शकहरूमा पनि उत्साह र उमङ्ग थपिने गरेको उनको भनाइ छ। आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर पाउँदा आनन्दको अनुभूति हुनुका साथै संस्कृति संरक्षणमा सहयोग पुगेको उनले विश्वास व्यक्त गरे।

“आफ्नो सिर्जना अरुलाई सुनाउन पाउने अवसर पनि सर्जकहरूले पाएका छन्”, भट्टले भने, “आफ्नो रचनाले स्थानीयलाई एकताबद्ध बनाउनुका साथै हाम्रा धर्म, कला, परम्पराको जगर्ने गर्न महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका छन्।”
 
उपमहानगरको रोजगार शाखाका सदस्यसचिव महेश मल्लले भने, “भजन सन्ध्या कार्यक्रम स्वस्फूर्त रूपमा भइरहेको छ। दिउँसोको समयमा विभिन्न विद्यालयका बालबालिकालाई लक्षित गरेर गीत तथा नृत्यसमेत प्रस्तुत गरिन्छ।” उनका अनुसार बालबालिकालाई खेल्नका लागि जम्पिङ, घोडा, चिप्लेटीलगायत खेल सामग्रीको व्यवस्था उपमहानगरले गरेको छ।

भजन सन्ध्या कार्यक्रममार्फत भाषा, साहित्य, धर्मको संरक्षण एवं सम्वद्र्धन, कला, मूल्यमान्यताको प्रवद्र्धन हुनुका साथै सर्जकहरूका बीचमा आपसी सम्बन्ध प्रगाढ बनाउने माध्यम बनेको भट्टले बताए।

जेनजी मार्गमा स्थानीय महिलाद्वारा उत्पादित सामग्री तथा वस्तु बिक्रीका लागि ‘शनिबारीय’ मेला पनि सञ्चालन भइरहेको छ। गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा निधन भएकाहरूको स्मृतिमा उपमहानगरले धनगढीको पार्कमोड आसपासको सडकलाई जेनजी मार्ग नामाकरण गरेको हो। 
    
शनिबारीय मेलाबाट सीप सिकेका महिलालाई स्वरोजगारका अवसर सिर्जना गरी आर्थिक सशक्तीकरण गर्न मद्दत पुग्ने विश्वास उपमहानगरले लिएको छ। महिलालाई लक्षित गरी सुरु गरिएको उक्त मेलाका विभिन्न स्टलमा महिलाद्वारा उत्पादित रैथाने सामग्री बिक्रीका लागि राखिएका छन्। 

यहाँ ढिक्री, मच्छिक सिकार, अन्डिक भातलगायत थारु समुदायका खानाका परिकार र बटुक, फौनेमाणालगायत डोटेली खानका परिकारको स्वाद लिन पाइने मेलाको अवलोकनमा पुग्नुभएका चेतराज जोशीले बताए। उनले भने, “महिलालाई लक्षित गरेर आयोजित मेलाले स्वरोजगार बनाउन केहीहदसम्म टेवा पुर्‍याएको छ।” उपमहानगरपालिकाले भजनकीर्तनसहित बालबालिकाका लागि खेल सामग्री र मेलामा व्यवस्थापन निःशुल्क रूपमा उपलब्ध गराएको छ।

कमेन्ट लोड गर्नुस