सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बोरिङका भरमा रोपाइँ

२०८२ असार ६, ११:४१ खबर संवाददाता

धनगढी: पर्याप्त पानी नपरेपछि कैलालीका किसानले बोरिङका भरमा रोपाइँ सुरु गरेका छन्।

किसानले बोरिङको मद्‍दतले भूमिगत पानीबाट सिँचाइ गरी रोपाइँ गर्न थालेका हुन्। यस वर्ष मनसुन चाँडै नेपाल प्रवेश गरे पनि सुदूरपश्चिम प्रदेशसम्म अझै पुगिसकेको छैन। पश्चिमी र स्थानीय वायुको प्रभावले भने फाटफुट पानी परिरहेको छ।

पर्याप्त पानी नपरे पनि खेतीपातीका बेला सुरु भएकाले रोपाइँ गर्न थालेको कैलारी गाउँपालिका–७, मोहनपुरका कृषक बलराम चौधरीले बताए। गाउँघरमा एक/दुई परिवारले रोपाइँ थालेपछि देखासिकी सबैले रोपाइँ सुरु गर्ने परिपाटी पनि रहेको छ। ‘ब्याड तयार भइसकेकाले हामीले पनि रोपाइँ गर्न थाल्यौँ,’ चौधरीले भने, ‘ढिलो भएमा वरिपरिका सबै खेत रोपिसक्छन्। आफ्नो खेतसम्म हलगोरु, पावर ट्रिलर लैजाने बाटो हुँदैन।’

किसानले बोरिङले पालैपालो भूमिगत पानी तानेर खेत सिँचाइ गर्ने कार्य गरिरहेको बताइएको छ। सबै किसान बोरिङकै भरमा रहेकाले पालो पाउन समस्या रहेको जनाइएको छ। यसै गरी सुक्खाका कारण बोरिङमै पानी कम आइरहेको किसानले बताएका छन्। दिनभरि इन्जिन चलाएर मुस्किलले एक/दुई कट्ठा जमिनमा सिँचाइ हुने गरेको कृषक फूलराज चौधरीले बताए। उनले गाउँघरका सबैले रोपाइँ थालेका कारण पानी नपरे पनि आफूले पनि रोपाइँको काम सुरु गरेको उल्लेख गरे।

पहाडी क्षेत्रमा पर्ने जिल्लाको चुरे र मोहन्याल गाउँपालिकाबाहेक बाँकी ११ वटा पालिकामा सबैभन्दा बढी धान खेती हुने गरेको छ। डुबान प्रभावित भजनी नगरपालिकाका किसानले बर्खेभन्दा धेरै चैते धानको खेती गर्दै आएका छन्। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर विष्टले रानीजमरा सिँचाइ आयोजनाको पानीको पहुँच भएको क्षेत्र र भूमिगत पानीको स्रोतहरु प्रयोग हुने क्षेत्रमा मात्र रोपाइ सुरु भएको बताए। तर, विद्युतको लोड कम भएकाले भूमिगत पानी तान्ने उपकरणहरूले काम नगरेको उनले बताएका छन्। उनले भने, ‘वर्षाको पानी छैन। रोपाइको समय सुरु भयो। रानीजमरा क्षेत्रमा रोपाइ हुँदैछ। डिप ट्युबेलहरु पनि गाडिएका छन्। तर, विद्युतको लोड पुग्दैछैन। किसानहरूको फोन आउदैछ। तर, विद्युतका कर्मचारीमाथीबाट नै विद्युतको लोड पठाउने गरेको बताउछ। किसानहरू समस्यामा छन्। रोपाइ गर्न पाएका छैनन्।’

कैलालीमा ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। जिल्लामा ९१ हजारको ६४ प्रतिशत खेतमा सिँचाइको सुविधा रहेको छ। रानीजमरा सिँचाइ आयोजना बाहेक कैलालीमा सबै सिँचाइ भूमिगत पानीको स्रोत हुन्।

 

कमेन्ट लोड गर्नुस