सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा वर्षा नहुँदा सुक्न थाल्यो रोपो

२०८२ साउन ३, १२:३८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका अधिकांश क्षेत्रमा रोपेको धान सुक्न थालेको छ। वर्षा नहुँदा रोपेको धान सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन्।

कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर, लालझाँडी, वेदकोटमा धान सुक्न थालेको छ। असारमा रोपाइँ गरेका कृषकले पानी नपर्दा धान सुक्न थालेको बताएका छन्। आकासे पानीका भरमा रोपाइँ गरेका शुक्लाफाँटा नगरपालिका–१० का कृषक कमला दमाईंले छ कट्ठामा रोपेको धान एक महिनासम्म पनि पर्याप्त पानी नपर्दा सुक्दै गएको दुःखेसो पोखेका छन्।

धान रोपाइँमा ट्याक्टरको जोताइ, मलखाद गरी नौ हजारभन्दा बढी लगानी खेर गाएको बताए। यस्तै सोही ठाउँका भीम दमाईंले आठ कट्ठामा धान रोपेकोमा अहिले सुक्दै गएको दुःखेसो पोखेका छन्।

शुक्लाफाँटा नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढाऐरले कृषकले धान रोपेपछि पानी पर्न छोड्दा उँचो स्थानमा धान सुक्न थालेको बताए। समयमै पानी नपर्दा धानमा गबारो पनि देखिन थालेको उनले बताए। नहरको सिँचाइ सुविधा नपुगेका क्षेत्रमा किसानले धान सुक्दै गएको दुःखेसो पोखेका छन् भने नहर पुगेका क्षेत्रमा समेत नहरको पानी लगाउन पालो नपुगेको भन्दै धान उत्पादन घट्नेमा चिन्ता गरेका छन्। यसपालि धान खेतीका लागि आवश्यक पर्ने वर्षा नहुँदा जिल्लाका विभिन्न क्षेत्रमा धान सुक्दै गएको कृषि प्राविधिकले बताएका छन्।

केही दिनदेखि कञ्चनपुरमा पर्याप्त वर्षा नभएको महाकाली बेसिन कार्यालयका प्रमुख सञ्जयकुमार शाहले बताए उनका अनुसार आगामी आइतवारसम्म कञ्चनपुरमा वर्षा नहुने देखिएको छ। सोमवारदेखि भने केही वर्षा हुने अनुमान गरिएको उनले बताए।

कञ्चनपुरमा कुल खेतीयोग्य जमिन ५९ हजार ६०२ हेक्टर रहेको छ। जिल्लामा ४८ हजार ४९६ हेक्टरमा धान खेती हुँदै आएको छ। जिल्लमा झन्डै १० हजार हेक्टरमा सिँचाइ सुविधा नपुगेको कृषि ज्ञान केन्द्र महेन्द्रनगर कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले बताए।

 

कमेन्ट लोड गर्नुस