सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश औद्योगिक प्रतिष्ठान सञ्चालनको हिसावले छैटौं स्थानमा

२०७९ माघ ११, ०६:०४ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश औद्योगिक प्रतिष्ठान सञ्चालनको हिसावले छैटौं स्थानमा छ। राष्ट्रिय औद्यौगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजाले सुदूरपश्चिम कर्णाली प्रदेशभन्दा मात्रै अगाडि देखिएको छ।

सुदूरपश्चिममा खानी तथा उत्खनन्, औद्योगिक उत्पादन गर्ने, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा र पानीको आपूर्ति; ढल निकास, फोहर व्यवस्थापन गर्ने उद्योगको संख्या कर्णाली बाहेक अन्य पाँच प्रदेशको भन्दा घटीमा दुई तथा बढीमा ६ गुणाले कम छ। प्रदेशमा लागत उत्पादन अनुपात कम भए पनि औद्योगिक लागानी अन्य प्रदेशको तुलनामा कम देखिएको छ।

राष्ट्रिय औद्यौगिक सर्वेक्षणको नतिजाले अर्थतन्त्रमा औद्योगिक क्षेत्रले गरेको योगदानको मापन गरेर नीति निर्माण गर्न, योजना तयार गर्न र अनुसन्धान गर्न सहयोग गर्छ। एघारौ राष्ट्रिय औद्यौगिक सर्वेक्षण, २०७६ ले अर्थतन्त्रका एक्काइसमध्ये चार क्षेत्र मात्र समेटेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजेश धितालले बताए।

'अर्थतन्त्रका एक्काइस वटा क्षेत्रमध्ये सर्वेक्षणले चार वटा क्षेत्रमात्र समेटेका छौँ,’ उनले भने, ’औद्योगिक तथ्याङ्कको सूचक हेर्ने हो भने सुदूरपश्चिम छैटौं स्थानमा छ।’

राष्ट्रिय औद्यौगिक सर्वेक्षण, २०७६ अनुसार देशभर ६० हजार १८५ औद्यौगिक प्रतिष्ठान रहेकोमा सुदूरपश्चिममा भने केवल ३ हजार ३८७ औद्यौगिक प्रतिष्ठान सञ्चालनमा रहेका छन्। यहाँ खानी तथा उत्खनन् गर्ने ५ उद्योग सञ्चालनमा छन्। औद्योगिक उत्पादन गर्ने ठुला उद्योग प्रतिष्ठानकी संख्या २२८ मात्रै छ भने २ हजार ८७३ साना औद्योगिक प्रतिष्ठान रहेका छन्।सुदूरपश्चिममा विद्युत तथा ग्यासका १९९ र पानीको आपूर्ति; ढल निकास, फोहर व्यवस्थापन गर्ने ८२ उद्योग सञ्चालनमा छन्। यी औद्योगिक क्षेत्रमा २० हजार ४९ जना व्यक्तिको संलग्नता रहेको छ भने १४ हजार ३०५ जनाले रोजगारी पाएका छन्। सुदूरपश्चिममा सञ्चालनमा रहेका उद्योगहरूले वार्षिक ३ अर्व ६६ करोड ३९ लाख ४६ हजार तलव/ज्याला तथा सुविधामा खर्च गर्ने गरेको तथ्याङ्कले देखाएको छ।

मुलुकभर रहेका औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरूमा ६ खर्व १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पत्ती रहेकोमा सुदूरपश्चिमका औद्योगिक प्रतिष्ठानहरूसँग सबैभन्दा कम २३ अर्ब  ५ करोड  ३२ लाख २९ हजार स्थायी सम्पत्ती छ।  प्रदेश तथा औद्योगिक वर्गीकरणअनुसार प्रतिष्ठानहरूको लागत÷उत्पादन अनुपात शून्य दशमलव ६६ रहेको छ। यसको मतलव सुदूरपश्चिममा लागत÷ उत्पादन अनुपात कम छ। यहाँ सय रुपैयाँ सामान उत्पादन गर्न ६६ रुपैयाँ खर्च हुन्छ। यो तथ्यले सुदूरपश्चिममा कम लागतमा बढी उत्पादन गर्न सकिने निर्देशक धितालले बताए।

'उद्योगको संख्या, संलग्न व्यक्ति, रोजगारी गर्नेको संख्या सुदूरपश्चिममा कम छ, त्यसैगरी उत्पादन लागत पनि कम छ, जसका कारण उद्योगहरूले गर्ने लगानीमा मूल्यअभिवृद्धि राम्रो छ, सुदूरपश्चिम सम्भावना बोकेको क्षेत्र हो,’ धितालले बताए।

औद्यौगिक सर्वेक्षण, २०७६ अनुसार प्रमुख औद्यौगिक सूचकहरूको अवस्था हेर्दा सुदूरपश्चिम प्रदेशमा वार्षिक उत्पादन मूल्य ३८ अर्ब ४५ करोड ४४ लाख १७ हजार रहेको छ। यस्तै, वार्षिक लागत मूल्य २५ अर्ब ४० करोड ९८ लाख ९६ हजार छ भने वार्षिक मूल्य अभिवृद्धि १३ अर्ब ४ करोड ४५ लाख २१ हजार रहेको तथ्याङ्कले देखाएको छ। सुदूरपश्चि प्रदेश लगानी र लागत मूल्य अनुपातका दृष्टिकोणबाट औद्योगिक विकास र विस्तारका लागि उपयुक्त रहेको तथ्यहरूले देखाएको छ। 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस