सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवजीवन सहकारीमा कर्मचारी भर्नामै आर्थिक चलखेल! आफन्त राख्न खेलोमेलो

२०८१ वैशाख १४, ०६:५३ नारायण अवस्थी

धनगढीः नवजीवन सहकारी संस्था प्रधान कार्यालय धनगढीमा कर्मचारी भर्ना गर्न आर्थिक चलखेल भएको आरोप लागेको छ।

नवजीवनले खोलेको सहायक प्रवन्धक र सहायक चौथो पदमा कर्मचारी भर्ना गर्न आर्थिक चलखेल भएको आरोप लागेको हो। नवजीवनले सहायक प्रबन्धक छैठौं तहमा ४ र चौथो तहमा ७ जनाको विज्ञापन खुलाएको छ। २०८० पुस २० गतेको सूचनाअनुसार बैशाख १५ र १९ गते लिखित परीक्षा तोकिएकोमा निकटका व्यक्ति राख्न सञ्चालक समितिका सदस्यहरूले चलखेल गरिरहेको विषय बाहिर आएको छ।

देखावटी रुपमा परीक्षा लिन खोजेको तर सेटिङ मिलाएर आफूले चाहेको व्यक्ति राख्न खोजिएको आवेदकहरूले नै गुनासो गरेका छन्। नवजीवन सहकारी संस्थाले गत पुस २० गते ११ जना कर्मचारी भर्ना गर्न विज्ञान खोलेको थियो। सहायक प्रवन्धक छैठौं तहमा ४ र सहायक पाँचौं तहमा ७ जनाका लागि विज्ञान खोलिएको थियो।

छैठौं तहका लागि लिखित परीक्षा दिन ३५ तथा चौथो तहका लागि ६ सय जनाको आवेदन परेको छ। तर, केही आवेदनकर्ताहरूले भने देखावटी रुपमा परीक्षा लिएजस्तो गरेर सञ्चालक समितिका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूले आफूले चाहेका व्यक्तिलाई उत्तीर्ण गराउन चाहेको आरोप लगाए पनि मापदण्डअनुसार परीक्षा लिएर कर्मचारी भर्ना गरिने सहकारीका अध्यक्ष देवबहादुर बमले बताए।

‘हामीले लोक सेवा आयोग र अन्य प्रचलित मापदण्डको आधारमा रहेर कर्मचारी भर्ना गर्ने हो। कुनै पनि किसिमको अनियमितता हुन दिइने छैन’, उनले भने, ‘सहकारीको विधान र विनियमअनुसार नै विज्ञापन खुलाइएको हो र निष्पक्ष तरिकाले योग्य उम्मेदवार नै छनोट हुनेछन्।’ सहकारीले छैठौं तहको परीक्षा बैशाख १५ गते र सहायक चौथो तहको परीक्षा बैशाख १९ गते तोकेको छ।

परीक्षाक  लागि प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनम कुनै चलखेल हुन नदिने अध्यक्ष बमले बताए। तर, अध्यक्ष बमले नै ३ देखि ५ लाख आर्थिक लाभ लिएर निकटका उम्मेदवारलाई उत्तीर्ण गराउन खोजेको आरोप लगाइएको छ। यस्तै, उपाध्यक्ष चेतराज ओझाले आफ्ना छोरालाई उत्तीर्ण गराउन कसरत गरिरहेको आरोप लगाइएको छ।

यसैगरी, सञ्चालक समितिका सदस्य उपेन्द्र बिष्ट, जयराज जोशी र गोपाल पाठकले पनि आफूले चाहेको व्यक्तिलाई परीक्षामा उत्तीर्ण गराउन खोजेको आरोप लगाइएको छ। उपाध्यक्ष ओझाका छोरालाई जागिर खुवाउन कर्मचारीका लागि ४० वर्षे उमेर हद कायम गरिएको आरोप लगाइएको छ। तर, नेपाल सरकारको मापदण्डमा रहेर जागीर प्रवेश गर्ने उमेर हद बढाउनुको सट्टा घटाइएको अध्यक्ष बमले बताए।

‘पहिला जागीर प्रवेशको उमेर हद ४५ वर्ष थियो अहिले घटाइएको छ। यस्तै, सेवा अवधि पनि तीस वर्ष र सेवा निवृत्त हुने उमेर ५८ वर्ष कायम गरिएको छ’, उनले भने, ‘कसैलाई भर्ना गर्ने नियतले उमेर थप÷घट गरिएको होइन। उमेर सम्बन्धी निर्णय साधारण सभाबाट पारित गरिएको हो।’ दिनेशखबरलाई प्राप्त गुनासो सहितको पत्रमा उपाध्यक्ष चेतराज ओझाका ३५ वर्ष पूरा भएका छोरालाई छैठौं तहमा भर्ना गर्न चलखेल भइरहेको दाबी गरिएको छ।

सहकारीमा आफ्ना मान्छे घुसाउन परीक्षा लिएजस्तो गर्ने तर सेटिङमा आफ्ना मान्छेलाई जागीर खुवाउन खेल भइरहेको उल्लेख छ। तर, अध्यक्ष बमले भने कर्मचारी भर्नादेखि अन्य कुरामा अनियमितता नभएको दाबी गरेका छन्। कर्मचारी भर्ना प्रक्रियामा कुनै त्रुटि या कैफियत भएको प्रमाणित भए चौराहामा कालोमोसो दल्न र नवजीवन सहकारीको अध्यक्षको पद छोड्न तयार रहेक अध्यक्ष बमले बताए।

‘कर्मचारी भर्ना गर्दा पैसा खायो भन्ने कुरा प्रमाणित भए त्यसको जिम्मेवारी लिन म तयार छु। पैसा खाएको प्रमाणित भए चौराहामा कालोमोसो दल्न र अध्यक्षबाट राजिनामा दिन तयार छु।’ नवजीवन सहकारीले खोलेको विज्ञापनमा सोही सहकारीमा हाल करारमा कार्यरत कर्मचारीले समेत आवेदन दिएका छन्। उनीहरूलाई परीक्षा लिएजस्तो गरेर सेटिङ मिलाएर सञ्चालक समितिले स्थायी गर्न खोजेको आरोप छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस