दोधारा–चाँदनीमा अघि बढेन सुक्खा बन्दरगाह, जग्गा प्राप्तिमै सकस
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/Dodhara-Chadani-sukha-bandargaha-dpr_1.jpg?itok=PFG28NIz)
कञ्चनपुरः कञ्चनपुरको दोधारा–चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माण गर्न जग्गा प्राप्तिमै सकस भइरहेको छ।
दोधारा–चादँनी नगरपालिकाको मायापुरी र गौरीशङ्कर मध्यवर्ती वन क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ। तर जग्गा प्राप्त गर्न भने मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने हुन्छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा उपलब्ध गराउने विषयमा फाइल अघि बढाएको छ। तर केन्द्रबाट ढिलाइ भइरहेको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले निकुञ्जले वन विभागमा जग्गा प्राप्तिको फाइल पठाइसकेको बताए। भारतले निर्माण गर्ने सुक्खा बन्दरगाह अघि बढाउन भारतीय पक्षबाट चासोका साथ सक्रियता देखाएको उनले बताए। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत भइसकेको बताउँदै निर्देशक गजुरेलले जग्गा प्राप्तिको विषय चाँडो अघि बढाउनुपर्नेमा जोड दिए।
गौरीशङ्कर र मायापुरी सामुदायिक वन क्षेत्रको ६३ बिघा क्षेत्रफल प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको छ। सो क्षेत्रमा रहेका दुई हजार रुख कटानका लागि भने मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने हुन्छ। करिब ६ अर्ब लागतमा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण हुनेछ। सोही सुक्खा बन्दरगाहको करिब एक किलोमिटर वर महाकाली नदीमा चार लेनको पक्की पुल र ६ लेनको पहुँच मार्गसमेत निर्माण भइसकेको छ।
पहिलो चरणमा सडक पहुँच र दोस्रो चरणमा रेलवेको पहुँचका लागि पूर्वाधार निर्माण गरिने योजना छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा उपलब्ध गराउने विषयमा सबै प्रक्रिया पूरा गरेर फाइल विभागमा पेस गरिसकेको बताए। एक महिनाअघि नै फाइल पेस गरिसकिएको उनले बताए।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)