सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी अस्मिता मृत्यु प्रकरणमा बेपत्ताको भोलिपल्टै आत्महत्या गरेका पुरुषको के छ सम्बन्ध ?

२०७८ असार १९, ११:५० आशिष मल्ल

धनगढी:  यहि असार २ गते बपत्ता भएकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको शव असार ५ गते फेला परेको थियो। आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीमा कार्यरत उनी कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी थिइन्। तर जोगबुढा पुग्न नपाउँदै उनी बेपत्ता भएकी थिइन्। 

बेपत्ता भएपछि स्थानीय र प्रहरीले खोजी गर्दा अस्मिताको शव ४ दिनपछि मात्रै परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। शवसँगै उनले बोकेको खोपको क्यारियर भेटिएको थियो। साथै शरिरमा निलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो र उक्त स्थानमा मदिराको खालि बोत्तल फेला परेकाले उनको  बलात्कारपछि विभत्स हत्या गरिएको स्थानीयले आशंका गरेका थिए। 

अस्मिताको मोबाइल भने शव भेटिएको स्थानबाट १०० मिटर तल असार ८ गते फेला परेको थियो। ८ गते नै भएको शव परीक्षणबाट उनको बलात्कार र हत्या भएको हो भनेर पुष्टि भएन। त्यसपछि प्रहरीले फेला परेको मोबाइल र पोष्टमार्टमबाट प्राप्त नमूनाहरु भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो। जसको रिपोर्ट आजसम्म आएको छैन। 

भोलिपल्टै आत्महत्या गरेका पुरुषको प्रकरणमा सम्बन्ध !
अस्मिता बेपत्ता भएको आज १७ दिन तथा मृत फेला परेको १४ दिन भइसक्दा पनि प्रहरीले घटना सम्बन्धी कुनै ठोस् सुराक फेला पार्न सकेको छैन। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगर र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै खटिएको टोलीले नगरपालिकाभर अनुसन्धान गर्दा समेत कुनै प्रमाण फेला परेको थिएन। 

यद्यपि प्रहरी अस्मिताको भिसेरा रिपोर्ट पर्खिरहेको छ। आफूहरुले गर्नुपर्ने अनुसन्धान सकेको र भिसेरा रिपोर्टपछि मात्रै घटना सम्बन्धी केही रहस्य खुल्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल बताउँछन्। ‘हामीले आफ्नो अनुसन्धान सकेका छौं अब भिसेरा रिपोर्ट पर्खेर बसिरहेका छौं। त्यसपछि अस्मिताको हत्या भएको हो या होइन भन्ने खुल्नेछ। र, हामी रिपोर्ट अनुसार नै थप अनसन्धान गर्ने छौं’ उनले भने। 

तर डीएसपी नेपालकै अनुसार अस्मिता धामी बेपत्ता भएको २ गते भोलिपल्ट नै सोही वडा नम्बर ८ का एक पुरुष मृत फेला परेका थिए। ती ३८ वर्षीय धिरेन्द्र धामीको शव घाँटीमा पासो लगाएको अवस्थामा फेला परेको थियो। यतिसम्मकी उनले अस्मिता बेपत्ता भएकै दिन २ गते साँझ समेत आत्महत्या प्रयास गरेको स्थानीय बताउँछन्।  

एक अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार अस्मिता बेपत्ता भएको भोलिपल्टै धिरेन्द्रले आत्महत्या गर्नु रहमस्यमय भएकाले शंकाको सुई उनीतिर पनि घुमेको बताएका छन्। तर भिसेरा रिपोर्ट आएपछि मात्रै थप पुष्टि हुने ती प्रहरी अधिकारीले बताए। 

ती पुरुष मृत फेला परेपछि शव पोष्मार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको थियो। तर परीक्षण भने हुनसकेको थिएन्। जब अस्मिताको शव ५ गते फेला पर्यो त्यसपछि मात्रै ती पुरुषबारे चारैतिर हल्ला फैलिएको थियो।

अस्मिताको शव र धिरेन्द्रको शव एक दिन जोगबुढा अस्पतालको शव घरमा सँगै राखिएको थियो। तर भोलिपल्ट धिरेन्द्र शव दाहसंस्कारका लागि लगियो भने अस्मिताको शव परीक्षणका लागि त्यहि राखिएको थियो। 

तर धिरेन्द्र धामीको सम्बन्ध अस्मिता मृत्यु प्रकरणसँग नभएको स्थानीय बताउँछन्। गाउँमा खानेपानीको पाइप चोरेको आरोप लागेकाले उनलाई एक दिन इलाका प्रहरी जोढबुढामा थुनिएको थियो। र, २५ हजार जरिवाना तिरेर मात्रै धिरेन्द्र थुनामुक्त भएका थिए। सोही कारण अपमान हुने डरले धिरेन्द्रले आत्महत्या गरेको हुनसक्ने गाउँलेहरु बताउँछन्। 

शवमा किरा परेकाले अनुसन्धानमा समस्या 
प्रहरीले अस्मितको हत्या भएको भनी हालसम्म पुष्टि गर्न सकेको छैन। अस्मिताको बंगारा बाहिरपट्टी किरा परेकाले पोष्टमार्टमबाट चोट लागेको पुष्टि हुन सकेको थिएन। तर डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बंगारामै कुनै बस्तुले प्रहार गर्दा घाउ बनेकाले किरा परेको हुनसक्ने बताउँछन्। यद्यपि भिसेरा रिपार्टपछि मात्रै उक्त कुरा पुष्टि हुने उनले बताए। 

सम्बन्धित समाचार:
डडेल्धुरामा युवती मृत फेला प्रकरणः भेटियो अस्मिताको मोबाइल, आफन्तले शव बुझे
डडेल्धुराकी अस्मिता धामी मृत्यु प्रकरणः पोष्टमार्टम रिपोर्ट आयो
डडेल्धुराकी अस्मिताका हत्यारा पत्ता लगाइ कारबाही गर्न माग
कोरोना खोप बोकेर हिंँडेकी अस्मिता ४ दिनपछि मृत फेला, शवसँगै भेटियो ‘ब्लू डायमन्ड’को खालि बोत्तल
डडेल्धुराकाे स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला, हत्याको आशंका

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस