सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकाे स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला, हत्याको आशंका

२०७८ असार ५, ०३:०३ खबर संवाददाता

धनगढी: डडेल्धुरामा एक युवतीको शव फेला परेको छ। जिल्लाको परशुराम नगरपालिका–८ जमरानी आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मीता धामीको शव फेला परेको हो। 

यहि असार २ गते स्वास्थ्य सामग्री पुर्याउन जोगबुडा अस्पताल जाने क्रममा उनी बेपत्ता भएकी थिइन। उनको खोजीका लागि परिवारले इलाका प्रहरी कार्यालयमा निवेदन दिएको थियो।

तर आज उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। परशुरामका स्थानीय पत्रकार रमेश धामीले भने युवतीको शव हत्या गरिएको अवस्थामा हट्वानी सामुदायिक वनमा भेटिएको जानकारी गराएका छन्। 

यस विषयमा प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले अहिले इलाका प्रहरी कार्यालय जोगबुडा र जिल्लाबाट टोली पठाइएको बताएका छन्। ‘३ दिनअघिबाट सम्पर्कविहीन भएकी युवतीको शव फेला परेको हो। घटनाबारे प्रहरीले अनुसन्धान गर्छ अनि मात्रै हत्या हो या होइन भन्न सकिन्छ’ उनले भने। 

उक्त शव फेला परेको स्थानमा पुगेको प्रहरी टोलीसँग राम्रोसँग सम्पर्क हुन नसकेकाले घटनाबारे पूर्ण जानकारी नआएको डीएसपी नेपालले बताए। 

कमेन्ट लोड गर्नुस