सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी अस्मिताका हत्यारा पत्ता लगाइ कारबाही गर्न माग

२०७८ असार ७, ०४:०२ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशसभाको बैठकमा डडेल्धुराकी अस्मिता धामीका हत्यारालाई पत्ता लगाइ कारबाही गर्न माग गरिएको छ। बैठकमा प्रदेश सभा सदस्य कुन्ती जोशीले धामीका हत्यारालाई पत्ता लगाइ हदैसम्मको कारबाही गर्न माग गरेकी हुन्। 

उनले धामीका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न र सन्तानको लालनपालनमा सरकार गम्भिर बन्न प्रदेश र संघ सरकारलाई आग्रह गरेकी छन्। यस्तै पठानसिंह बोहरा, भरत खड्का र गोविन्द बोहराले पनि धामीको हत्यारा जो सुकै भए पनि कानुनको दायरामा ल्याउनुपर्ने बताए। 

असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी अस्मिताको शव वनमा फेला परेको हो। 

शरिरमा निलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो र उक्त स्थानमा मदिराको खालि बोत्तल फेला परेकाले उनको विभत्स हत्या गरिएको स्थानीयले बताइरहेका छन्। यद्यपि प्रहरीले आफ्नो अनुसन्धान सकेको छैन। 

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको छ।

कमेन्ट लोड गर्नुस