सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना खोप बोकेर हिंँडेकी अस्मिता ४ दिनपछि मृत फेला, शवसँगै भेटियो ‘ब्लू डायमन्ड’को खालि बोत्तल

२०७८ असार ६, ०२:३५ आशिष मल्ल

धनगढी:  डडेल्धुराको परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य ईकाइ केन्द्रमा एक महिला कर्मचारी कार्यालय सहयोगीको रुपमा कार्यरत थिइन। ती थिइन् अस्मितादेवी धामी। उनी विगत ढाई वर्षदेखि उक्त स्वास्थ्य केन्द्रमा काम गरिरहेकी थिइन् भने उनका श्रीमान खेतीकिसानी गर्थे।

घर खर्च तथा २ छोरीको पढाईलेखाई अस्मिताकै आयस्रोतमा निर्भर थियो। कोरोना महामारीपछि उनी स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीलाई सघाउँथिन्। त्यस्तै कार्यालयको काममा उनी असार २ गते पनि हिँडेकी थिइन्। 

उनी कार्यरत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट समेत कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको थियो। अभियान पश्चात केही मात्रामा खोपका डोज बचेका थिए।

त्यहि बचेका खोप जोगबुडा अस्पतालमा फिर्ता दिन भनेर उनको कार्यालयले उनीलाई काम लगाएको थियो। त्यसपछि खोपको ‘क्यारियर’ बोकेर र मुखमा मास्क लगाएर अस्मिता ११ बजे जमरानीबाट जोगबुडाका लागि हिँडिन्। 

साँझ जोगबुडाबाट फर्किनुपर्ने मान्छे नआएपछि उनको परिवार चिन्तित भए। उनीहरुले अस्मितालाई फोन गरे तर फोन ‘स्विच अफ’ आयो। तर अस्मिता दिनहुँ घरबाटै कार्यालय आउने भएपनि कोभिडको खोप लगाउने अभियानका कारण एकदिन कार्यालय नजिकैको आफन्तको घरमा बस्ने र दोस्रो दिन छोरीका लागि भएपनि घर पुग्ने गर्थिन्। सोही कारण उनी आफन्तको घरमा बसिन कि भन्ने लागेर परिवारले त्यो दिन खासै मतलब गरेन्। 

त्यसको भोलिपल्ट(असार ३ गते) उनी कार्यालय पुगिनन् तर कार्यालय प्रमुखले हिजो(२ गते) उनी जोगबुडा गएकाले थाकेको हुनसक्ने र सोही कारण आराम गर्दैहोलिन् भन्ने अडकल काटे। र घरकाले पनि उनी आफन्तको घरबाट सिधै कार्यालय गएकी होलिन् भन्ने सोच बनाए। 

तर दिउँसो ३ बजेतिर श्रीमानले अस्मितालाई फोन गरिहाले उनको मोबाइल अफ नै आयो। त्यसपछि साँझ ५ बजे कार्यालय प्रमुखसँग फोन सम्पर्क गर्न खोज्दा उताबाट अस्मिता कार्यालय नआएको जानकारी पाइयो। 

तत्कालै वडा अध्यक्ष गोविन्द बोहराको फोनमा घण्टी बज्यो। उनलाई अस्मिता हराएकोबारे बेलिबिस्तार सुनाइयो। वडाअध्यक्षले अस्मिता कार्यरत कार्यालय तथा पुन्तुरा र जगतीमा रहेका आफन्तलाई पनि फोन गरे। तर कतैबाट अस्मिताको बारेमा जानकारी पाउन सकिएन।

‘२ दिनदेखि अज्ञात रहेकी अस्मिताको बारेमा सबैलाई सोधीखोजी गरे तर पत्तो लाग्न सकेन। उनी देवरी भन्ने ठाउँबाट ९ सय मिटर टाढा रहेको नौलासम्म देखा परेकी थिइन् भन्नेसम्म जानकारी पाइयो’ वडाअध्यक्ष बोहराले भने, ‘भोलिपल्ट(४ गते) गाउँलेसँग सल्लाह गरेर अस्मिताको खोजी सुरु भयो।’

सोही दिन प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए। करिब १०० जना गाउँलेको समूह बनाएर खोजी गर्दा पनि उनी त्यो दिन फेला परिनन्। तर भोलिपल्ट जोगबुडा जाने मुलबाटोदेखी देखि ७० मिटरको दुरीमा अस्मिताको शव फेला पर्यो। 

‘शवभन्दा वरै उनको एउटा चप्पल भेटिएको थियो। मुखको मास्क फालिएको, नजिकै उनले बोकेको कोरोना खोपको क्यारियर थियो। घटनास्थलसम्म उनीलाई जबरजस्ती घिसालेर लगेको छाप त्यहाँ थिए’ वडाअध्यक्ष बोहराले भने। 

उनका अनुसार वडा नम्बर ९ को हट्वानी सामुदायिक वनमा फेला परेको शवको प्रकृति हेर्दा अस्मितामाथि जबरजस्ती भएको देखिन्छ।

‘उनको नाकको डाँडी भाचिएको जस्तो देखिन्थ्यो। शरीरभरी निलडाम र हातका चुरा पनि फुटेका थिए’ वडाअध्यक्ष गोविन्द बोहरा भन्छन्, ‘शव नजिकै एउटा ‘ब्लू डायमन्ड’(रक्सीको नाम)को खालि बोत्तल पनि फेला परेको थियो। त्यसैले उनीमाथि बलात्कार भएर हत्या गरिएको हो कि भन्ने हाम्रो आशंका छ।’

यस्तै अस्मिताका श्रीमान अम्मरबहादुर धामीले पनि अस्मिताको हत्या नै भएको शंका गरिरहेका छन्। बानीबेहोरा पनि राम्रो भएकी अस्मिताको गाउँमा रिसिबी पनि कहिँकतै नभएको उनले बताए। साथै उनले घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गर्न आग्रह गरेका छन्। 

अहिले अस्मितको शवको जोगबुडा अस्पतालमा परीक्षण भइरहेको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालसहित सरकारी वकिलको टिम समेत जोगबुडा पुगेको छ।

घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली समेत खटाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले बताएका छन्। 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस