सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा युवती मृत फेला प्रकरणः भेटियो अस्मिताको मोबाइल, आफन्तले शव बुझे

२०७८ असार ८, ११:१७ खबर संवाददाता

धनगढी:  असार ५ गते मृत अवस्थामा फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको मोबाइल फेला परेको छ। 

शव भेटिएको स्थानबाट १०० मिटर तल मोबाइल फेला परेको एक प्रहरी अधिकारीले बताए। उनले त्यो बाहेक घटनासँग सम्बन्धित अन्य कुनै ठोस प्रमाण हालसम्म फेला नपरेको समेत दिनेशखबरलाई बताए। 

घटना स्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइरहेको ती प्रहरी अधिकारीले बताए। 

यस्तै सोमबार अस्मिताको शव परीक्षण भएपछि आफन्तले बुझेका छन्। धामीका परिवारलाई परशुराम नगरपालिकाले राहत स्वरूप १० लाख दिने निर्णय गरेको छ। ७ लाख ५० हजार नगरपालिका र २ लाख ५० हजार वडाबाट व्यवस्थापन गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेपछि आफन्तले शव बुझेका थिए।

उनको शव बुझेपछि मंगलबार अन्तेष्टि भइरहेको वडा नम्बर ८ का अध्यक्ष गोविन्द बोहराले बताए। 

शव परीक्षणबाट बलात्कार तथा हत्या भएको कुनै तथ्य फेला परेको थिएन। तर नमूनाहरु भिसेरा परीक्षणका लागि पठाइएको छ। 

अस्मिताको धामीको शव असार ५ गते परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी अस्मिताको शव वनमा फेला परेको हो। 

शवसँगै उनले बोकेको खोपको क्यारीयर भेटिएको थियो तर मोबाइल भने फेला परेको थिएन। शरिरमा निलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो र उक्त स्थानमा मदिराको खालि बोत्तल फेला परेकाले उनको विभत्स हत्या गरिएको स्थानीयले बताइरहेका छन्। 

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटिएको छ।

सम्बन्धित समाचार :

डडेल्धुराकाे स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला, हत्याको आशंका
कोरोना खोप बोकेर हिंँडेकी अस्मिता ४ दिनपछि मृत फेला, शवसँगै भेटियो ‘ब्लू डायमन्ड’को खालि बोत्तल
डडेल्धुराकी अस्मिता धामी मृत्यु प्रकरणः पोष्टमार्टम रिपोर्ट आयो

कमेन्ट लोड गर्नुस