सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा भारी बोकेर कमाएको १० हजारले लाखौँ कमाउँदै कैलालीका धामी

२०७८ असार १३, ०७:२३ विन्दु चन्द

धनगढी: ‘भारी बोकेर १० हजारको कमाइले अहिले आनन्दको जीवन चलाइहरेको छुँ। आफ्नै गाउँ। आफ्नै परिवेश। स्वच्छ हावा। शान्त वातावरण। कति रमाइलो। दुःख–सुख परिवासँग साटिरहेको छ। म खुसी छुँ, यो जीवनबाट’ यो भनाई हो गोदावरी नगरपालिका वडा नम्बर ४ दोगाडका नरेन्द्र धामीको। 

बिहान सबेरै ४ बजेदेखि नै धामीको दिनचर्या सुरु हुन्छ। सबेरै उनी बाख्राका लागि खोले बनाउँछन्। उनको बाख्राको फर्म छ। उनको फार्ममा अहिले ९०  वटा खसी–बाख्रा छन्।

रोजगारीका लागि १० महिना भारतको पिथौरागढ बसेका उनले एक धनीको घरमा काम गरेका थिए। करिब १ वर्ष जति भारतमा रोजगारी गरेका धामीले धेरै दुःख पाए। ‘त्यहाँ मैले १० महिना जति सेठ घरमा काम गरेँ। धेरै दुःख भोगेँ। बिहानै उठ्ने भाँडा माझ्ने, झाडु लगाउने काम गर्थे। पछि भारी बोकेर १० हजार कमाए।’ उनले भने।  

१० हजार कमाएर नेपाल फिर्कएका उनले ३ वटा बाख्रा किनेका थिए। त्यहि ३ वटाबाट अहिले ९० वटा खसी–बाख्रा पुगेका हुन्। उनले भने, ‘भारी बोकेर कमाएको १० हजारले सुरुमा मैले ३ वटा बाख्रा किने। पाठा भए ती पाठा पनि ठुला भएर ब्याए।  गर्दागर्दै अहिले मेरो फार्ममा ९० वटा बाख्रा पुर्‍याएको छुँ।’

बाख्रा पालनसँगै उनले उनले विगत १० वर्षदेखि केरा र तरकारी खेती समेत गरेका छन्। अहिले करिब १० रोपनी जमीनमा उनले केरा खेती गरिरहेका छन्। दशैँ तिहारको समयमा उनी खसी बेचेर २ लाख बढी आम्दानी गर्छन्। 

तर उनी केराखेतीबाट भने उनी निराश देखिन्छन्। धामी भन्छन्, ‘डोकोमा बोकेर बजार पुर्‍याउनुपर्छ। मिहेनत अनुसारको मुल्य पाउँदैनौँ। मुल्य जति व्यापारीहरुले पाउँछन्।’

धामी आफ्नो पेशाप्रति खुसी छन्। तर सरकारले कुनै सहयोग नगरेको भन्दै उनी निरास पनि छन्। उनको बाख्राको संख्या बढाउने योजना छ। केरा खेतीलाई पनि बिस्तार गर्ने लक्ष्य छ। तर लगानी जुटाउन समस्या भइरहेको उनको भनाई छ। 

वडा, नगरपालिका, प्रदेश सरकार तथा संघीय सरकार कतैबाट कुनै अनुदान तथा सहयोग नपाएको धामीले गुनासो सुनाए। ‘वडा, नगरपालिका कृषिज्ञान केन्द्र, जहाँ जहाँबाट अनुदान पाउने हो सबै ठाउँमा निवेदन हाले तर कहिबाट पनि अनुदान पाएन्’ उनी भन्छन, ‘जसको पहुँच छ उनीहरुले मात्रै अनुदान पाउँदो रहेछ। गर्ने मान्छे भने न गनिदो रहेछ।’

कागजी रुपमा फर्म दर्ता गरेर देखावटी गर्नेहरुलाई मात्रै अनुदान दिने गरेको उनको गुनासो छ। वास्तविक किसानलाई अनुदान नदिएकोमा उनी निराश छन्। 

 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस