सुदूरपश्चिम प्रदेशबाट कृषि बीउ निर्यात गरिँदै
धनगढीः सुदूरपश्चिम प्रदेशबाट कृषि बीउ निर्यात हुन थालेको छ। कृषि बाली उत्पादनका लागि चाहिने आवश्यक बीउमा सुदूरपश्चिम प्रदेश आत्मनिर्भर भएको छ।
सुदूरपश्चिमबाट अन्य प्रदेशहरुमा समेत कृषि बीउ निर्यात हुन थालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। सो मन्त्रालयले आगामी पाँच वर्षभित्रै प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने गरी काम गर्दै आएको दाबी समेत गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान सञ्चालन गरेको छ। यसका लागि धान र गहुँको बीउ उत्पादनदेखि तरकार उत्पादन कार्यक्रमसम्मै सञ्चालन गरिएको छ।
आगामी पाँच वर्षभित्रै प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने गरी कृषि र साना सिँचाईको क्षेत्रमा काम भइरहेको दाबी छ। यसका साथै ‘कृषिमा आत्मनिर्भर बन्न कृषि उत्पादन तथा पशुपञ्छीको बजारीकरणमा किसानलाई सहयोग गरिने विषय नीति तथा कार्यक्रममै राखिएको छ। कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश बनाउने गरी नै काम भइरहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले बताए।
कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले समूह तथा सहकारी खेती प्रवद्र्धन गरिनुका साथै कृषि उत्पादन बढाउनेदेखि बजारीकरणसम्म सहयोग गर्ने विषय अघि सारेको छ। कृषि उत्पादन बढाउन स्थानीय तहको सहकार्यमा कृषि व्यवसाय प्रवद्र्धन तथा सिकाइ केन्द्र सञ्चालन गरिने विषय पनि अघि सारिएको छ।
माछा, मासु र दुधमा प्रदेश आत्मनिर्भर देखिए पनि खाद्यको हिसाबमा भने अहिले पनि परनिर्भरताको अवस्था रहेको मन्न्त्रालयका प्रवक्ता बोहराले बताए। ‘विशेष गरी कृषिमा आत्मनिर्भरको विषय कृषि र खाद्य सुरक्षासँग जोडिने गरेको छ। धान, गहँु र मकैमा आत्मनिर्भर हुन अब धेरै काम गर्नुपर्ने अवस्था छैन।’ संघीयता आउनुभन्दा अघि र पछिको अवस्था हेर्ने हो भने कृषि उत्पादनमा धेरै प्रगति हासिल भइसकेको मन्त्रालयको दाबी छ।
अहिले पहाडतिरको बसाइँ–सराई नै मुख्य समस्याको रुपमा देखा परेको छ। गाउँ नै खाली हुने गरेर अन्तै बसाइँ सर्ने अवस्थाका कारण पहाडमा जमिन बाँझो रहने समस्या बढ्दै गएको कृषि प्रसार अधिकृत बोहराले बताए। भएको जमिन बाँझो नछोने र मन्त्रालयले अघि सारेका कार्यक्रम मात्र पूर्ण रुपमा कार्यान्वयन हुने हो भने आगामी पाँच वर्षभित्रै प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने तर्क गरिएको छ। सुदूरपश्चिम प्रदेश अहिले खाद्यन्न बीउ उत्पादनको हिसाबले अग्रस्थानमा छ। यसका साथै तरकारी, केरा र उखु उत्पादनमा पनि देखिने गरी प्रगति हासिल भएको मन्त्रालयका प्रवक्ता बोहराले बताए।