सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको निगालीका किसान टेकबहादुरले विक्री गरे २० लाखको सुन्तला

२०८१ पुष १९, ०६:५४ नारायण अवस्थी

धनगढीः कैलालीको चुरे गाउँपालिका–१ निगालीका टेकबहादुर बमले यो वर्ष २० लाखको सुन्तला बिक्री गरेका छन्।

गत वर्ष १८ लाखको सुन्तला बिक्री गरेका बमले यो वर्ष सुन्तला बिक्रीबाट २० लाख रुपैयाँ आम्दानी गरेका हुन्। लक्ष्मणसिंह बमले ५० वर्षअघि १० बिरुवाबाट सुरू गरेको सुन्तला खेती उनका छोरा टेकबहादुर र टेकेन्द्र बमले एक सय ५० रोपनीमा बिस्तार गरेका हुन्। सुन्तला खेती निगालीका किसानहरूको मुख्य आम्दानीको स्रोत भए पनि चिस्यान केन्द्र नहुँदा भण्डारको समस्या भोग्नुपरेको किसान टेकबहादुर बमले बताए।

‘कैलालीको चुरे गाउँपालिका–१ निगाली सुन्तला खेतीका लागि उर्वर भूमि हो। निगालीका ७५ प्रतिशत किसानको आम्दानीको मुख्य स्रोत सुन्तला खेती हो’, उनले भने, ‘रसिलो र स्वादिलो सुन्तलाका लागि प्रख्यात निगालीमा अधिकांश परिवारले सुन्तला खेती गर्दै आएका छन्।’ 
बम दाजुभाइको डेढ सय रोपनीमा सुन्तला खेती
निगालीका स्थानीयमध्ये टेकबहादुर बम र टेकेन्द्र बमले एक सय ५० रोपनीमा सुन्तला खेती गरेका छन्। बम दाजुभाइ दोस्रो पुस्ताको रुपमा सुन्तला खेतीमा संलग्न छन्। पिता लक्ष्मणसिंह बमले ५० वर्षअघि १० बिरुवाबाट सुरू गरेको सुन्तला खेती अहिले एक सय ५० रोपनीमा पाँच हजारभन्दा बढी बिरुवामा फैलिएको कृषक टेकबहादुर बमले बताए।

‘हामी सुन्तला खेतीमा संलग्न दोस्रो पुस्ता हौँ। बुवाले ५० वर्ष अगाडि १० बिरुवाबाट सुन्तला खेती सुरू गर्नुभएको हो। अहिले पाँच हजार बिरुवा छन्’, उनले भने, ‘सुन्तला बिक्री गर्न समस्या छैन तर सिचाइको समस्या छ। सिचाइको व्यवस्था राम्रो भए अझै सुन्तला खेती विस्तार हुन्थ्यो।’ 
बम परिवारको २० लाख आमदानी 
सुन्तला खेतीको क्षेत्रफल बिस्तार भएजस्तै हरेक वर्ष सुन्तला बिक्रीबाट बम परिवारको आम्दानीसमेत बढिरहेको छ। गत वर्ष सुन्तला बिक्रीबाट १८ लाख आम्दानी गरेका बमले यो वर्ष २० लाख आम्दानी गरेका छन्। उनले वडा नम्बर १ मा हरेक परिवार सुन्तला खेतीमा संलग्न रहेको बताए।

‘चुरेमा सबैभन्दा बढी सुन्तला खेती हुने ठाउँ वडा नम्बर १ नै हो। यहाँका हरेक परिवारको आम्दानीको मुख्य स्रोत सुन्तला हो’, उनले भने, ‘बारीमै व्यापारी आएर सुन्तला खरिद गरेर लगे। बजारको अहिलेसम्म कुनै समस्या भएको छैन।’
चुरेको ७५ प्रतिशत सुन्तला बिक्री
चुरे गाउँपालिका–१ सुन्तला खेतीका लागि प्रख्यात ठाउँ हो। यो वर्ष किसानहरूको ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ। धनगढी, अत्तरिया र महेन्द्रनगरका थोक क्रेताहरूले बारीमै पुगेर सुन्तला खरिद गरेका हुन्। ग्रेडिङ गरिएको ठुलो दाना ८५ रुपैयाँ तथा सानो दाना प्रतिकिलोग्राम ४५ रुपैयाँका दरले बिक्री भएको हो। यो सिजनमा पाकेको सुन्तला बेमौसमी सिजनमा बिक्री गर्न सके अझै राम्रो मूल्य पाउने किसानहरूले बताएका छन्।

वडा नम्बर १ मा चिस्यान केन्द्र भएको भए सुन्तला भण्डार गरेर बेमौसमी सिजनमा बिक्री गरि थप आम्दानी गर्न सकिने बमले बताए। ‘प्रदेश र स्थानीय सरकारले चिस्यान केन्द्र निर्माण गरी भण्डार सुविधा उपलब्ध गराउन सके बैशाख जेठमा समेत चुरेको सुन्तला बजारमा उपलब्ध गराउन सकिन्थ्यो’, उनले भने, ‘अनुदान वितरण गर्दा उत्पादनलाई आधार बनाइए सबै किसानले न्यायोचित रुपले अनुदान पाउने अवस्था पनि बन्थ्यो। चिस्यान केन्द्र नहुँदा अहिले सस्तोमा सुन्तला बिक्री गर्नुपरेको छ।’

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस