सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ४० रुपैयाँ लुटेर युवकको हत्या गरिएको खुलासा !

२०७८ जेठ १९, १२:५४ खबर संवाददाता

धनगढी: गत बिहीबार धनगढी बसपार्कमा मृत फेला परेका पुरूषको रकम लुटेर हत्या गरिएको खुलेको छ। उनको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले ४ जनालाई पक्राउ गरिसकेको छ। 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ त्रिबेणी चोकका १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल,  डडेल्धुराको अमरगढी नगरपालिका स्थायी घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका ३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वीचौकी गाउँपालिका ४ का २० वर्षीय अनिल कुवँर र कैलालीको घोडाघोडी नगरपालिका १ का १८ वर्षीय युवराज शाहीलाई रहेका छन्। 

बिहीबार धनगढी उपमहानगरपालिका ४ बसपार्कस्थित प्रतिक्षालयमा ती मृतक पुरूष रगताम्य अवस्थामा फेला परेका थिए। प्रहरीले घटनास्थलमा रहेको सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गर्दै जाँदा ४ जनालाई पक्राउ गरेको हो। 

उनीहरूले मृतक राति सुतीरहेको अवस्थामा  खल्तीमा रहेको पैसा चेकजाँच गरी पैसा लगि कुटपिट गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

उनका अनुसार मृतकको खल्तीमा भएको ४० रुपैयाँ लुटेर गएका उनीहरु पुनः थप पैँसा हुनसक्ने भन्दै फिर्ता आएर कुटपिट गरेको भन्ने खुलेको छ।

४ जना युवकको समूहले पालैपालो उनीमाथि कुटपिट गरेको र उनी बेहोस भएपछि छोडेर त्यहाँबाट युवकहरु भागेको फुटेजमा देखिएको छ। 

अहिले पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ।मृतक युवकको पहिचान भने अझै खुल्न सकेको छैन। 

पहिचान खुल्न नसकेपछि प्रहरीले सेती प्रादेशिक अस्पतालमा राखेको शवको धनगढी उपमहानगरपालिकासँगको समन्वयमा अन्तेष्टि भइसकेको छ। 

सम्बन्धित समाचार 
धनगढी बसपार्कमा एक जना सुतेको अवस्थामा मृत फेला (भिडिओसहित)
धनगढी बस पार्कमा मृत फेला परेका पुरूषको हत्या गर्ने चार जना पक्राउ

कमेन्ट लोड गर्नुस