सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘टाईम कार्ड’ ट्राफिक प्रहरीको कमाउ धन्दा

ट्राफिक प्रहरीको बुडरमा रहेको चेकपोष्ट, फोटो : नवराज/दिनेश खवर
ट्राफिक प्रहरीको बुडरमा रहेको चेकपोष्ट, फोटो : नवराज/दिनेश खवर
२०७५ कार्तिक ५, १०:०२ नवराज पनेरु

दशैँ मनाउनका लागि धनगढीदेखि जन्मथलो डडेल्धुरासम्मको यात्रामा निस्किनु थियो। ५ बर्षपछि घर परिवारसँग दशैँ मनाउने मौका जुरेकाले म दंग थिए। अघिल्लो दिनसम्म मोटरसाईकलमै जाने तयारी रहेपनि धेरैले मोटरसाईकलमा यात्रा गर्नु भन्दा सार्वजनिक सवारीमा जान सुझाव दिए। सोही सुझावलाई मनन गर्दै अष्टमीको दिन विहान ६ बजे नै धनगढी बसपार्क पुगे। बसपार्कमा एक घण्टासम्मको पर्खाईमा डडेल्धुरा जाने एउटा पनि सार्वजनिक सवारी पाएन्। सोही दिनदेखि यातायात समितिहरुले क्यू फ्रि गरेकाले पनि धेरै कम बस व्यवसायीले सार्वजनिक सवारी साधन सञ्चालन गरेका थिए। म जस्तै गाडी नपाएर बसपार्कमा भौतारिने यात्रुको सङख्या धेरै थियो।
यात्रुहरुको पिडालाई रेडियो र अनलाईन समाचारमा ल्याउनका लागि सहकर्मी भाई कमल साउदलाई आग्रह गर्दै म सहित ४ जना गाउँले (२ भतिजा र एक भतिजी) म्याजिक चढेर अत्तरिया लाग्यौँ। अत्तरियामा महेन्द्रनगरबाट पहाडी जिल्लामा छुटने सवारी पनि पाउने आशा थियो। अत्तरिया पुगेपछि केही समयको पर्खाईमा एउटा उग्रतारा यातायातको डडेल्धुरासम्म जाने हाईस पाईयौ। म र २ जना गाउँले गरि तीन जना चालकसँगैको अगाडीको सिटमा बस्दा अर्का एक जना गाउँलेलाई भने बस्नका लागि हाईसको ग्यालरी मात्रै पाईयो। क्यू फ्रि भएकाले सार्वजनिक सवारी धनीसँग हामीले केही बोल्ने सक्ने बातावरण नै थिएन्। त्यसैले जसोतसो व्यवस्थापन गर्दै सोही गाडीमा डडेल्धुराको यात्रा तय गर्ने तयारी गरे। 
चालकसँगै बसेकाले मैले अत्तरियामै चालकसंग कुराकानी गरे। अत्तरियाबाट छुट्नु भन्दा झण्डै ५ मिनेट अगाडी उनले सह चालकलाई एक÷एक सयको खुद्रा पैसा बनाईराख्नु है बाटोमा चाहिन्छ भने। बाटोमा किन चाहिन्छ गुरु जी भन्ने मेरो प्रश्नमा उनले ट्राफिक प्रहरीलाई दशैँ खर्च दिनका लागि भनेर जवाफ दिए। डडेल्धुराको यात्रा तय गर्दै गर्दा केहि सयम अगाडी दशैँमा सुरक्षा योजना र आवागमनमा सहजताका विषयमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक केदार रज्यौलेसंग गरेको कुराकानी सम्झना आयो। कुराकानीका क्रममा प्रदेश ट्राफिक प्रहरी प्रमुखले दशैँको बेला यात्रा सुरक्षित बनाउँन टाईम कार्डलाई कडाईका साथ लागु गरेका छौ, भनेका थिए।

ट्राफिक प्रहरीले भनेजस्तै कडाईका साथ लागु गरेको टाईम कार्ड अनुसार सार्वजनिक सवारीले अत्तरियादेखि बुडरसम्म साढे २ घण्टा र बुडरदेखि डडेल्धुराको स्याउले सम्म २ घण्टा लगाउन पर्ने थियो। विहान ८ बजेर २० मिनेटमा अत्तरियादेखि डडेल्धुराको लागि छुटेको गाडीले १२ बजेर १५ मिनेटमै डडेल्धुरा बसपार्क (स्याउलेदेखि ३ किलोमिटर टाढा) पुगायो। ३ घण्टा ५५ मिनेटमा म अत्तरियादेखि डडेल्धुरा पुगे तर ट्राफिक प्रहरीले कडाईका साथ लागु गरेको टाईमकार्ड म बसेको सार्वजनिक सवारी साधनलाई रोक्न सकेन्। भिमदत्त राजमार्ग अन्तरगत अत्तरिया, गोदावरी, खानीडाँडा, फल्टुडे, बुडर, स्याउले लगायतको स्थानमा रहेका ट्राफिक प्रहरीका चेकपोष्टहरु मलाई ३ घण्टा ५५ मिनेटमै पुगाउने सार्वजनिक सवारीका अगाडी निरिह थिए। सवै चेकपोष्टमा चालकले गाडी रोक्ने र सह चालक चेकपोष्टसम्म पुगेर आउने क्रम जारी थियो। चालकसँगै कुरा गर्दै जाँदा उनले भने, टाईमकार्ड त यात्रा सुरक्षित पार्नका लागि होईन ट्राफिक प्रहरीको कमाउन धन्दा मात्रै हो। 
अत्तरियादेखि बुडरसम्मका सवैचेक पोष्टले टाईम कार्डलाई सय, २ सयका दरले विक्री गरे। डडेल्धुराको स्याउलेमा निर्धारित समयभन्दा ४५ मिनेट अगाडी पुग्दा पनि स्याउलेको चेकपोष्टले म सवार गाडीलाई रोक्ने आँट गर्न सकेन्। स्याउलेको ट्राफिक प्रहरीले पनि बुडरसम्मका चेकपोष्ट जस्तै पैसा खाएर सार्वजनिक सवारीलाई छोडिदिए। तर ट्राफिक प्रहरीले टाईम कार्ड अनुसार गाडी नचलाए वापत लिने रकम राज्य कोषमा नभएर सवै तीनै ट्राफिक प्रहरीको खल्तीमा जादो रहेछ। किनकी राज्यकोषमा जाने भए त जरिवाना काटेको कागज हुनुपर्ने थियो। अत्तरियादेखि डडेल्धुराको रुटमा टाईम कार्ड लागु गरेको बर्षाै वितेपनि त्यो टाईमकार्ड यात्रा सुरक्षित बनाउन भन्दा ट्राफिक प्रहरीको कमाउ धन्दा भईरहेको छ। दशैँमा कडाईका साथ लागु गर्ने दावी पनि त्यसै खेर गएको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस