एसइई दिएका एक हजार विद्यार्थीलाई निःशुल्क क्षमता विकास तालिम
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–५ शिवनगरस्थित चैतन्य पाठशालाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका एक हजार विद्यार्थीलाई निःशुल्क क्षमता विकास तालिम प्रदान गर्ने भएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले ‘चैतन्य क्षमता विकास अभियान’ सञ्चालन गर्दै विद्यार्थीहरूको व्यक्तित्व, सिप तथा भविष्य उन्मुख क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम सञ्चालन गर्न लागेको हो। विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीका अनुसार एसइईपछि खाली समयलाई उपयोगी बनाउने लक्ष्यका साथ यो कार्यक्रम अघि सारिएको हो।
अभियान अन्तर्गत व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्व कला, प्रस्तुतीकरण तथा नेतृत्व विकासका साथै योग र ध्यानमार्फत मानसिक सन्तुलनसम्बन्धी तालिम प्रदान गरिनेछ। त्यसैगरी अंग्रेजी भाषा (सम्प्रेषण तथा लेखन) र सूचना तथा सञ्चार प्रविधि अन्तर्गत कम्प्युटर, ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, भिडियो सम्पादन तथा प्रोग्रामिङसम्बन्धी तालिम पनि समावेश गरिएको छ।
यसका अतिरिक्त आतिथ्यता र खेलकुदसम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिने विद्यालयले जनाएको छ।
अध्यक्ष जोशीले एसइईपछि करिब एक महिना खाली बस्ने विद्यार्थीहरूको समयलाई सिर्जनात्मक र उपयोगी बनाउन यो अभियान सञ्चालन गर्न लागिएको उल्लेख गर्दै यसले विद्यार्थीहरूको क्षमता र नेतृत्व विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे।
तालिम वैशाख ६ गतेदेखि सञ्चालन हुने जनाइएको छ। विद्यालयले शिक्षा र संस्कारको समन्वय गर्दै पूर्वीय तथा पश्चिमी दर्शन, प्रकृति र संस्कृतिको सम्मानमा केन्द्रित भएर कार्य गर्दै आएको जनाएको छ।