सांसद केपी खनालदाई आशिकाको प्रश्न– टुकटुके मोबाइल बोक्ने जनताले कसरी गुनासो गर्ने ?
धनगढीः प्रतिनिधिसभा सदस्य आशिका तामाङले आफ्नै दल रास्वपाका सांसद केपी खनालको फोन संवाद शैलीलाई लिएर प्रश्न उठाएकी छन्। तामाङले सांसद खनालले ह्वाट्सएपबाहेक अन्य माध्यमबाट आउने फोन नउठाउने गरेको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन्।
तामाङका अनुसार एउटा मुद्दाका विषयमा छलफल गर्न उनले सांसद खनाललाई फोन गरेकी थिइन्। तर, खनालले फोन उठाउनुको सट्टा उनका स्वकीय सचिवले फोन उठाए। तामाङले खनालसँग कुरा गराइदिन आग्रह गर्दा स्वकीय सचिवले ‘ह्वाट्सएपमा कल गर्नुस्, ह्वाट्सएपबाहेक अरूमा कल उठाउनुहुन्न’ भन्ने जवाफ दिएको उनले उल्लेख गरेकी छन्।
स्वकीय सचिवको यस्तो जवाफले आफू आश्चर्यमा परेको बताउँदै तामाङले जनप्रतिनिधिसँग सर्वसाधारणको पहुँचलाई लिएर प्रश्न गरेकी हुन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एउटा जनताबाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न, कम्युनिकेसन गर्न नेट चाहिँदो रहेछ भने जो सर्वसाधारण नागरिक टुकटुके मोबाइल चलाउनुहुन्छ, ती गरिब निमुखाले आफ्नो नेतासम्म गुनासो गर्न कसरी नेट चलाउन सक्नुहुन्छ ?’