भेटघाट र सम्झौता आदानप्रदानमा आज व्यस्त हुनेछन् बालेन, आजै स्वदेश फिर्ता
काठमाडौंः भारतको दुईदिने राजकीय भ्रमणमा नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज उच्चस्तरीय राजनीतिक भेटघाट, द्विपक्षीय छलफल, परियोजना उदघाटन तथा सम्झौता आदानप्रदानका कार्यक्रममा व्यस्त हुने भएका छन्।
प्रधानमन्त्री शाहलाई सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिने कार्यक्रम छ। त्यसपछि उनले बिहान १०ः४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। प्रधानमन्त्री शाहले बिहान ११ बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नेछन्। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच ११ः५० बजे द्विपक्षीय वार्ता हुनेछ।
वार्ताको क्रममा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्मको रेल सेवा, भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माण लगायतका विषयमा १० बुँदामा केन्द्रित रहेर छलफल गर्ने तयारी छ। यी १० बुँदामा विपद् व्यवस्थापन, खेल, स्वास्थ्य, कृषि, शिक्षा, ऊर्जा, सडक, सूचना प्रविधि लगायतका विविध विषय समेटिएका छन्।
द्विपक्षीय भेटपछि बालेन र मोदीले दिउँसो १२ः३५ बजे विभिन्न परियोजनाको भर्चुअल उदघाटन, समझदारीपत्र (एमओयू) तथा सम्झौता आदानप्रदान र संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय गरिएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेनको सम्मानमा दिउँसो १ः१५ बजे दिवाभोज आयोजना गर्नेछन्।
भारतीय राष्ट्रपतिलाई भेटर आजै स्वदेश फर्किने
त्यसपछि प्रधानमन्त्री बालेनले दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
बालेनको भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य तथा दुई देशबीच विभिन्न क्षेत्रमा सहयोग विस्तारसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भेटघाटका कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री शाह आजै अपराह्न ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्।
उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह भारतको दुई दिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका हुन्। नयाँदिल्ली पुगेकै दिन उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले होटल ताजमहलमा भेटवार्ता गरेका थिए।