सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथी हत्या अनुसन्धान: नेपाल-भारत प्रहरी सहकार्य यसरी हुँदैछ

बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको पुरानो तस्बिर। सौजन्य: प्रकाश भट्ट/बीबीसी नेपाली
बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको पुरानो तस्बिर। सौजन्य: प्रकाश भट्ट/बीबीसी नेपाली । फोटो स्रोत ।
२०७७ फाल्गुन ४, १२:५५ जनक विष्ट

धनगढीः १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको मंगलबार १४ दिन पुगेको छ तैपनि घटनामा संलग्नहरुको पहिचान नखुल्दा घटनापछाडि लुकेर रहेका विभिन्न रहस्यको पर्दाफास अझै भइसकेको छैन। 

तर नेपाल प्रहरीले भने अनुसन्धान निष्कर्षतिर डोरिएको बताउँदै संदिग्धहरुको बयान पुष्टि गर्न आवश्यक तथ्यहरु भिडाउने काम भइरहेको बताएको छ। प्रहरीले अब छिट्टै दोषीलाई सार्वजनिक गरि कानूनको कठघरामा उभ्याउने जनाएको छ।

भागरथीको हत्या भएको स्थानीय लवलेक सामुदायिक वनस्थित घटनास्थलबाट बरामद गरेका मोबाइल फोन लगायतका अन्य सबुत प्रमाणले उत्साहित बनेको प्रहरीले चाँडै नतिजा प्राप्त गर्ने विश्वास गरिएको थियो। 

तर शंकास्पद व्यक्तिहरुको बयानलाई पुष्टि गर्न बरामद गरिएका सबुत प्रमाण आशा गरेबमोजिम सहयोगी नबन्दा प्रहरीले थप चुनौती खेप्नुपरेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन्। 

भागरथीले प्रयोग गर्ने नेपाली सिम कार्डबाट अनुसन्धानलाई सघाउने तथ्य फेला नपरेपछि मात्र प्रहरी निराश बन्न पुग्यो। उनले भारतीय सिम कार्ड पनि प्रयोग गर्ने गरेकाले प्रहरीमाथि थप चुनौती आइलाग्यो। 

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या अनुसन्धानमा अझै विफल देखिएको नेपाल प्रहरीलाई भागरथी हत्या प्रकरण जति सक्दो चाँडो सल्ट्याएर संगठनप्रतिको विश्वसनियतालाई पुनः एक पटक जीवित तुल्याउने दबाब रहेको प्रस्ट छ। 

प्रहरी प्रमुखको सक्रियता

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुबेदी आफैँ बैतडीमा रहेर अनुसन्धानको नेतृत्व गर्नु त्यसको एक आधार हो। 

भारतीय दूतावास हुँदै औपचारिक रूपमा सहकार्य गर्दा ढिलाइ हुने हुँदा नेपाल प्रहरीले नेपाल-भारत सीमावर्ति क्षेत्रमा अघि बढाउने गरेको सहकार्यलाई अहिले बैतडी वारिपारि पनि तीव्रता दिएको पाइएको छ। 

त्यस क्रममा अहिले भागरथी हत्या अनुसन्धानको क्रममा सुदूरपश्चिम प्रहरीले भारतको उत्तराखण्ड प्रहरीसँग सहकार्य गरिरहेको अधिकारीहरूले दिनेशखबरलाई बताएका छन्। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह अपराध अनुसन्धानमा दुई देशका अधिकारीहरुबीच विगतदेखि हुँदै आएको सहकार्यअनुसार नै भागरथी हत्या प्रकरणमा पनि काम गरिरहेको बताउँछन्। 

“कतिपय अवस्थामा भारतीय भू–भागमा विभिन्न अपराधका घटना घटाएर नेपाल पस्ने, नेपालबाट पनि भारततर्फ प्रवेश गरि लुकीछिपी बस्ने गरेको पाईन्छ,” प्रहरी वरिष्ठ उपरीक्षक सिंहले दिनेशखबरसँग भने। “त्यसकारण अपराध अनुसन्धानमा भारतीय प्रहरीसँग हाम्रो निरन्तर सहकार्य, संवाद भइरहन्छ।

“त्यो अहिले पनि जारी छ।”

‘कल डिटेल’को विश्लेषण

भारतीय प्रहरीसँग निरन्तरको सहकार्यपछि भागरथी प्रकरणमा पनि अनुसन्धानका लागि आवश्यक पर्ने मोबाइल फोनमार्फत गरिएका सम्पर्क र कुराकानी बारेका ‘कल डिटेल’ लगायतका केही प्रमाण बैतडी ल्याइएको छ। 

वरिष्ठ उपरीक्षक सिंहले दिनेशखबरसँग भने: “भागरथी प्रकरणमा भारतीय मोबाइल सिमको पनि प्रयोग देखिएकाले त्यसबाट अनुसन्धानका लागि आवश्यक पर्ने ‘कल डिटेल’ लगायतका कतिपय कुराहरु हामीले पाइसकेको अवस्था छ। थप केही आवश्यक पर्‍यो भने भारतीय प्रहरीसँगको समन्वयमा तत्कालै प्राप्त गर्न सकिने स्थिति छ। त्यसमा कुनै जटिलता छैन।”

उनका अनुसार सीमापारि भारतको उत्तराखण्ड राज्यको पिथौरागढका प्रहरीसँगकै समन्वयमा भागरथी हत्या प्रकरणको अनुसन्धानका लागि आवश्यक पर्ने तथ्यहरू बटुल्ने काम भइरहेको छ।  

निष्कर्ष अझै रहस्यमय

पीडित भागरथी भट्ट र केही शंकास्पद अपराधीले भारतीय मोबाइल फोनको सीम कार्ड प्रयोग गरेको पाइएपछि नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय र सहकार्यको क्रमलाई अघि बढाउनु पर्ने परिस्थिति बनेको हो। 

दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट १४ दिन अघि गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन्। उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। 

उनको हत्यामा संलग्न भएको आशंकामा कैयौँ व्यक्तिहरुमाथि अनुसन्धान गरिसकेको नेपाल प्रहरीले करिब ६ जना व्यक्तिमाथि “सूक्ष्म अनुसन्धान” गरिरहेको जनाएको छ। 

अनुसन्धान निष्कर्षमा पुग्नै लागेको बताएको प्रहरीले अब त्यसको नतिजा कहिले सार्वजनिक गर्ने हो त्यो प्रस्ट भइसकेको छैन। 

सम्बन्धित समाचार 
 
बैतडीमा १७ वर्षीया किशोरीको शव फेला, हत्याको आशंका

बैतडीमा किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर प्रयोग

अनेरास्ववीयू बैतडीले भन्यो– किशोरीको बलात्कारपछि हत्या

बैतडी किशोरी मृत फेला प्रकरणः हत्या गरिएको भन्दै स्थानीयद्वारा कारवाहीको माग

सरकारी वकिल र डाक्टर पनि घटनास्थलमा, किशोरीको मोबाईल विश्लेषण गर्दै प्रहरी

बैतडीमा एसएसपीको नेतृत्वमा छुट्टै टोली परिचालन, सीआईबीका डीएसपी पनि खटिए

बैतडीमा किशोरी मृत्यु प्रकरणः सोधपुछका लागि नियन्त्रणमा लिइएका ६ जना छुटे

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष, डीआईजी सुवेदी पनि बैतडी हिँडे

भागरथीको मोबाइल ‘रिकभर’ गरिँदै, भारतीय सीमकार्डले अनुसन्धानमा समस्या

बैतडीकी भागरथीलाई न्याय माग्दै जिल्ला प्रशासन अगाडि प्रदर्शन

भागरथी हत्याको निष्पक्ष अनुसन्धान गर्न मानव अधिकार आयोगको माग, अनुगमन गर्न धनगढीबाट टोली हिड्यो

भागरथी हत्या प्रकरण : परीक्षणका लागि भेजाइनल स्वाब काठमाडौं पठाइयो

भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोस्टमार्टमबाट पुस्टि

भागरथीकी आमा भन्छिन् – छोरीलाई लुछेर हत्या गर्नेलाई कारवाही भए मलाई केही चाहिँदैन

बलात्कारपछि भागरथी हत्या प्रकरणः दर्जनौँ व्यक्तिमाथि अनुसन्धान, परिणाम शून्य

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस