भागरथीकी आमा भन्छिन् – छोरीलाई लुछेर हत्या गर्नेलाई कारवाही भए मलाई केही चाहिँदैन
राम धामी, डडेल्धुरा: बलात्कारपछि निर्मम हत्या गरिएकी बैतडीको दोगडाकेदार गाँउपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घरमा समवेदना व्यक्त गर्न नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका साँसद कर्णबहादुर मल्ल उनको घरमा पुगे।
मल्लले आफ्नो आधा महिनाको तलव र आफुसँगै त्यँहा गएका सहकर्मीहरुले राहत स्वरुप प्रदान गरेको रकम मृतककी आमालाई दिए। तर अन्दाजी ४६ वर्षीया आमा द्रोपती भट्टले रकम समाउन इन्कार गरिन्।
‘राहत भन्दा पनि छोरीका हत्यारालाई खोजेर कारवाही गरिदिनुहोस,’ गहभरि आशुँ झार्दै उनले भनिन् ‘मेरी किशोरी छोरीलाई लुछेर निर्मम हत्या गर्ने व्यक्तिलाई कारवाही भए मलाई अरुथोक केहि चाहिँदैन्।’
नेपाली कांग्रेस बैतडीका सभापति तथा दशरथ चन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिँह थापासँगै मृतकको घरमा पुगेका सांसद मल्लले प्रहरीले निष्पक्ष छानबिन गरेर दोषीलाई कारवाही गर्ने बताउँदा परिवारजन र आफन्तजनहरुले पत्याएनन्।
पाँचदिनदेखि चडेपानी गाँउ शोकाकुल छ। १७ वर्षीया किशोरीको विभत्स हत्या प्रकरणले स्थानीय सन्त्रस्त छन्। गत महिना मात्रै ५० वर्षीय पति कृष्णानन्द भट्टलाई गुमाएकी द्रोपतीको घरमा अर्को ब्रजपात भएको छ।
पाँचदिनदेखि खाना खान नसकेकी द्रोपतीको एकमात्रै साहरा भागरथी थिइन्। बाबुको काजक्रिया १६ दिनमै सकेर २० वर्षीय छोरा केशब कामको खोजीमा भारत पसेका थिए। उनले भारत पुगेर काम नपाउँदै बहिनीको विभत्स हत्या भएको खबर सुने।
हतारमा आइतबारमात्रै घर फर्किएका केशवले हाल आमालाई सम्झाई रहेका छन्। तर, बहिनीका हत्यारालाई कारवाही हुने कुरामा स्वयम् केशव पनि विस्वस्त हुन सकिरहेका छैनन्।
आमाले रकम समाउन इन्कार गरेपनि सांसद मल्लसहितको टोलीबाट प्राप्त रकम बुझेका केशबले न्यायको लडाई लडन सबैको साथ पाउने विश्वास व्यक्त गरे। ‘कञ्चनपुरकी निर्मला पन्तको जघन्य हत्या भएको घटना लामो समयदेखि ओझेलमा छ। सरकारले छानबिन गरेर दोषी पत्ता लगाउदै न्याय दिन्छ भन्ने आशा पटक्कै छैन’ केशवले भने। उनले बहिनीको हत्यारालाई कारवाही नभएसम्म गाँउमा सन्त्रास कायमै रहने बताए।
चडेपानी र आसपासका बस्तीहरुमा किशोरीहरुलाई एक्लै विद्यालय पठाउन, मेलापात र पानी पँधेरोमा पठाउन नसकिने अवस्था सिर्जना भएको नेपाल तरुण दल बैतडीका सभापतिसमेत रहेका स्थानीय अगुवा घनश्याम भट्टले बताए।
उनले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डेयसहित केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी पञ्चकुमार बाँखुसहितको टोलीले घटनास्थलमै पुगेर अनुसन्धान गरिररहेकाले केहि आशा बढेको भएपनि सर्वत्र सन्त्रास कायमै रहेको जिकिर गरे।
घटनास्थलदेखि तीन किलोमिटर टाढा रहेको खोचलेकस्थित प्रहरी चौकीमा बसेर उच्च पदस्थ प्रहरी अधिकारीहरुको टोलीले अनुसन्धान गरिरहेको छ। बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाएको जनाएको छ। प्रहरीका अनुसार विभिन्न तथ्य र सूचनाका आधारमा शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाइएको छ। घटनामा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सुवेदीले सूक्ष्म रुपमा घटनाको अनुसन्धान अघि बढिरहेको बताउदै ढिलोचाँडो अनुन्धान सफल हुने विश्वास व्यक्त गरे। ‘क्लुहरु भेटिएका छन्। छिटै अपराधीसम्म पुग्छौं। विभिन्न कोणबाट अनुसन्धान जारी छ। मृतक किशोरीको ‘भेजाइनल स्वाब’ र केही सामग्री अनुसन्धानका लागि विधि विज्ञान प्रयोशालामा पठाएका छौं’ उनले भने।
प्रहरीले भागरथीको ‘कल डिटेल’लगायत प्राविधिक पक्षको अनुसन्धान सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही कल आएको भएपनि उनले ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको पाइएको छ।
गत बुधबार विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी भागरथी बिहीबार साँझ लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्।