सुदूर नेपाललाई विश्वसँग जोड्दै

फट्याङ्ग्राको प्रकोपले मकै बालीमा क्षति

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ ५, ०७:२०

बर्दिया : जब्दहुवाका रमेशकुमार थारुले १० कठ्ठामा मकै खेती गर्नुभएको छ। उहाँले १० कट्ठा जग्गाबाट १८ देखि २० क्विण्टलसम्म मकै फल्ने आशा गर्नुभएको थियो। मकैको घोगामा दाना लाग्ने समयमा फट्याङ्ग्राले मकैको सबै पात खाइदिएपछि उहाँ निराश हुनुभएको छ। बर्दियामा किसानले लगाएको वसन्ते मकै बालीमा फट्याङ्ग्राको प्रकोपले क्षति पु¥याएको छ।   अधिकांश ठाउँका मकै बालीमा फट्याङ्ग्राले पात खाएर क्षति पु¥याएको हो।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार बर्दियामा तीन हजार नौ सय हेक्टरमा वसन्ते मकै खेती गरिएको छ। लकडाउनका कारण औषधि नपाउँदा फट्याङ्ग्राको प्रकोप नियन्त्रण गर्न समस्या परेको छ। लकडाउनको कारण देखाउँदै कृषि प्राविधिक कार्यालय नै जाँदैनन्। लकडाउनकै कारण किसानको बारीसम्म पनि जान सक्ने अवस्थामा नरहेको बारबर्दिया, कृषि शाखाका नायब प्राविधिक सहायक राजेश वलीले बताउनुभयो।

किसानहरुको समूह बनाएर फेसबुक पेजमा जोडेर कृषि समस्याबारे जानकारी दिने गरिएको उहाँले बताउनुभयो। मधुवन नगरपालिका वडा नं २ क्षेत्रमा मकैमा फटेङ्ग्राले बढी नै क्षति पु¥याएकाले  किसानलाई विषादी छर्न सुझाव दिए पनि एग्रोभेट नखुलेका कारण समस्या भएको कृषि शाखाका प्राविधिक सहायक वलीले बताउनुभयो।

फटेङ्ग्राले मकैको सबै पात खाइदिएपछि उत्पादनमा ६० देखि ७० प्रतिशतसम्म घट्ने निश्चित रहेको मधुवन नगरपालिका, कृषि शाखाका प्राविधिक सहायक एकराज वलीले बताउनुभयो। कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बर्दियामा मकै बालीमा फटेङ्ग्राको प्रकोप बढेको कुरा किसानले फोन गरेपछि थाहा भएको र फोनमार्फत नै मकैमा आएको समस्या समाधानबारे जानकारी गराइएको बताउनुभयो।–रासस
 

कमेन्ट लोड गर्नुस