सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषिबाटै आत्मनिर्भर

२०७६ कार्तिक १३, ०१:०३ खबर संवाददाता

नेपालमा अझै पनि कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा अपनाउन नसकिरहेको अवस्थामा म्याग्दीका दर्जन बढी गाउँका तीन हजारभन्दा बढी जनता कृषिबाट नै आत्मनिर्भर बनेका छन्। चर्चित अन्नपूर्ण पदमार्गले छोएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका साथै रघुगङ्गा, मालिका, मङ्गला, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाका दर्जन बढी गाउँका तीन हजारभन्दा बढी जनता फसल उत्पादन र व्यावसायिक तरकारी तथा फलफूल खेती गरेर मनग्गै आम्दानी गर्न सफल भएका छन्।

लाहुरेको जिल्ला भनेर चिनिएको म्याग्दीले पछिल्लो समय उद्यमी र कृषकको जिल्ला भनेर आफ्नो परिचय दिएको छ। दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर जमीन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। एक लाख १३ हजार ६४१ जनसङ्ख्या रहेको जिल्लाको ३२ प्रतिशत जनसङ्ख्या पूर्णरुपमा कृषिमा आश्रित रहेको भए पनि उनीहरुले व्यावसायिकरुपमा उत्पादन गर्न सकेका छैनन् भने सात प्रतिशत जनताले व्यावसायिकरुपमा नै कृषि पेसा अंगालेर मनग्गै कमाइ गर्न सफल भएका छन्।

जिल्लाको अन्नपूर्ण गाउँपालिकाको हिस्तान दोसल्ले, राम्चे, मङ्गला गाउँपालिकाको बाबियाचौर, अर्मन, बरङ्जा, कुँहु, धौलागिरि गाउँपालिकाको ताकम, मालिका गाउँपलिकाको बिम, दरबाङ, ओखरबोट, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, झीँ, पात्लेखेत र बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगालगायतका गाउँका अधिकांश जनता कृषिबाट नै आत्मनिर्भर बन्नुका साथै विदेशमा भन्दा राम्रो कमाइ गर्न सफल भएका सम्बन्धित गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिले बताएका छन्।

यी गाउँमा व्यावसायिक रुपमा तरकारी र फलफूलखेती गरिएको छ। तरकारीमा आलु, गोलभेडा, साग, लहरे प्रजातिका तरकारी बढी उत्पादन हुने गरेका छन्। जिल्लाका दोसल्ले, बरङ्जा, बिम, भकिम्ली, राखु, बास्कुनालगायतका गाउँमा सुन्तला बेचेर नै वार्षिकरुपमा रु पाँच करोडभन्दा बढी जिल्लामा भित्रिने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। त्यसैगरी बेनी नगरपालिका–२ खबराको एउटै गाउँमा केरा बेचेर मात्र गत वर्ष रु ५० लाखभन्दा बढी आम्दानी भएको खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए। म्याग्दीमा तरकारी र फलफूलबाट वार्षिक रु ४७ करोडभन्दा बढी आम्दानी हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ।

बेनी नगरपालिका–२ खबराका कृषक शोभित सापकोटाले कृषि आफ्नो लागि बरदान सावित भएको बताए। छ वर्ष अघि के खाउँ र के लाउँको अवस्थामा रहेका सापकोटा अहिले कृषिबाट नै रु एक करोडभन्दा बढीको सम्पत्ति जोड्न सफल भएका छन्। त्यसैगरी बास्कुनाका तिलक गुरुङ, खबराका चन्द्रबहादुर कार्की, दोसल्लेकी सुनमाया पुन, अर्मनकी टीकाकुमारी सापकोटालगायतका कृषकले व्यावसायिक कृषिबाट नै करोडौँ रुपैयाँ कमाउन सफल भएका छन्। रासस
 

कमेन्ट लोड गर्नुस