सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि र पशुपालनबाट आत्मनिर्भर

२०७६ कार्तिक ९, ०२:१८ खबर संवाददाता

केही समयअघिसम्म आर्थिक विकासका लागि स्वदेशमा सम्भावना नदेखेर अधिकांश युवा विदेश पलायन हुने भीडमा केहीले भने स्वदेशकै माटोमा पसिना बगाएर समृद्धिको सन्देश दिएका छन्। यसबाट उनीहरु आर्थिकरुपमा सबल हुनुको साथै अरुका लागि पनि प्रेरणाका स्रोत बन्ने गरेका छन्। 

मिहेनत र परिश्रम गरे रोजगारीको लागि विदेशमा मात्रै होइन, स्वदेशमा पनि कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीमा धेरै कृषकको सफलतामा देखिन्छ। कतिपय विदेशमा पुगेरसमेत मिहेनत र परिश्रमलाई चिनेका युवाहरु नै कृषि कर्ममा जमेका छन्।

जिल्लामा यतिबेला मौसमी तथा बेमौसमी कृषि खेती र पशुपालनमा एकल तथा सामूहिकरूपमा अघि बढ्नेको सङ्ख्या बढ्दै गएको छ। निरन्तरको कृषि पेशाबाट रघुगङ्गा गाउँपालिको–३ फूलबारीका इन्द्रबहादुर भण्डारीले सफलता हासिल गरेको छ।व्यावसायिक मौसमी र बेमौसमी फलफूल र तरकारी खेतीबाट स्वदेशमै आकर्षक आम्दानी गर्न उनी सक्षम छन्। विगत १२ वर्षदेखि व्यावसायिकरूपमा तरकारी तथा फलफूल खेती गर्दै आउनुभएका भण्डारीले अहिले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गरे। 

ग्रामीण भेगमा महिलाहरु चुलोचौकोमा मात्रै सीमित रहेको समयमा रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी ३१ वर्षीया सन्तोषी भण्डारी मिहेनत, सङ्घर्ष र परिश्रमले आत्र्म्निर्भर बन्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्। भण्डारीले विगत नौँ वर्षदेखि पाँच रोपनी जग्गा भाडामा लिएर भैँसी, बाख्रा, कुखुरा र बङ्गुर पाल्दै आएका छन्। उनले समिर पुशपक्षी पालन केन्द्र दर्ता गरेर व्यावसायिक रुपमा पशुपछी पालेर वार्षिक रु १२ लाखभन्दा बढी आम्दानी हुने गरेको बताए।

स्थानीय स्रोत र साधन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानीका दुई युवा सुजन राम्जाली र इन्द्र थापाले तातोपानीको बेँसीमा व्यावसायिक माछापालन गरेको छ। चार वर्षदेखि आफुनै जग्गामा माछापालन शुरु गरेको राम्जालीले बताए। बाँझो, उर्भरभूमि र सधैँभरि बग्ने मूलको पानीलाई सदुपयोग गर्दै व्यावसायिक माछापालन शुरु गरेका उनले रु १५ लाखभन्दा बढी लगानी गरेको छ।

प्रविधियुक्त तथा हावापानी मिल्ने रेन्बो ट्राउट माछापालनबाट अहिले आकर्षक कमाइ हुन थालेको छ। मिठो स्वाद र स्वास्थ्यका लागि फाइदाको रूपमा चिनिने रेन्वो ट्राउट माछा प्रतिकिलो रु एक हजार ३०० का दरले पोखरीबाटै बिक्री हुने गरेको छ। नजिकै गाउँपालिकाको केन्द्र पोखरेबगर र नेपालमै प्रसिद्ध भुरुङ तातोपानी कुण्ड नजिक भएका होटलमा ग्राहकको मागअनुसार ताजा माछाको रुपमा बिक्री हुने राम्जालीले बताए। गाउँमै कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण मङ्गला गाउँपालिका–२ तोराखेतका थमप्रसाद पौडेलले दिए। 

बेनी–दरवाङ सडक नजिकै पौडेलले व्यावसायिक पशुपालन तथा कृषि खेतीबाट वार्षिक रु साढे तीन लाख आम्दानी गर्दै आएका छन्। दैनिक ३० लिटर दूध उत्पादन गर्ने पौडेलले भैँसी फार्ममा सातवटा भैँसी पाल्दै आएका छन्। उनले मासिकरूपमा रु ७० हजार आम्दानी हुने बताए।

यी कृषि र पशुपालनमा सफलताका केही उदाहरण मात्रै हुन्। स्वदेशमै पसिना बगाउन लामबद्ध धेरै छन, तर स्थानीय सरकार ग्रामीण क्षेत्रमा बाँझो रहेको जग्गालाई व्यावसायिक खेती तथा पशुपालनमा दिगो योजनासहित अघि बढ्नुपर्ने देखिन्छ। व्यावसायिक कृषि खेती तथा पशुपालन गरेका कृषकका समस्या समाधानका लागि कृषि तथा पशु कार्यालयमा दक्ष प्राविधिक राख्नुपर्ने अगुवा कृषकको माग छ। 

अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले गाउँपालिकाभित्र स्थानीय स्रोतसाधन प्रयोग गरे व्यावसायिक आलु, माछा, चौँरी, भेडाबाख्रापालनलगायतका खेती र पशुपालन गर्ने कृषकलाई तालीम र अनुदान दिने निर्णय गरिएको बताए। त्यस्तै रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले हरेक वडामा हावापानी सुहाउने कृषि नर्सरीसहित व्यावसायिक खेतीलाई प्राथमिकता दिइएको बताए।
 

कमेन्ट लोड गर्नुस