त्यो बुढो रुख र पुरानो यादमा सुस्ताउदै गरेको एक्लो खर्क

किशोर खड्का : गाउँका आफन्तहरू काकरे औँसी पारेर लेकतिर जादाँ करिब १८ वर्ष पछि संयोगवश म पनि खर्क पुगे। खर्क सुनसान थियो। लाग्थ्यो त्यहाँ उठबस नगरेको निक्कै भयो ।
अगाडि पट्टी रहेको रुख पनि एक्लै उभिन उदेक मानिरहेको भान हुन्थ्यो ।खर्क नजिक यति धेरै मानिस एकै पटक आएको बर्षौ पछि होला। तै पनि खर्क उदास र निराश जस्तै देखिन्थ्यो, मानौ उसलाई थाहा छ, यिनिहरू आजको दिनका लागि मात्र हुन । भोली सबै गईहाल्छन र बर्षौ सम्म फेरी फर्कदैनन। म आफै एक्लै यो निर्जन ठाउँ कुरेर बस्नुपर्छ । खर्कको यो मनोलग पनि सहि नै हो, किनभने हामी भोलिपल्ट काकर लिएर गईहाल्थ्यौ । फेरी फर्केर आउने भनेको उही वर्षमा फाटफुट कहिलेकाहीँ त हो नि । आईहाले पनि काम सकायो गईहाल्यो। उसै परे खर्कभित्र नपसी पनि फर्कने हुन्थ्यो।

खर्क माथिको डाडाको ढिकमा र्सलक्क परेको सल्लोको बोट छानेर काकर ( जुन चैते अष्टमीको दिन देवतालाई चढाईन्छ) ढाले । साँझ परिसकेको थियो । खर्क भन्दा माथि डाडामा उक्लन अल्छि लागेर म लगायत केही बुढापाका मेरो खर्कनिरै बस्यौ । माथिबाट काकर बोकेर ल्याई खर्क माथिको पाखो बारिमा राख्ने अनुमान भईसकेको थियो । चैतको महिना हाम्रो घरतिर बिहान बेलुका चिसो नै हुन्छ । झन खर्कमा चिसो नहुने त कुरै भएन। काकर ल्याउन लाग्ने समय सम्म हामी पनि त्यही कुर्नुपर्ने भएकाले हात सेक्नका लागि आगो सल्कायौँ। आगो सेक्न थालेपछि बुढापाकाले पुराना कुरा गुनगुन गर्न थाले । सँगै बसका किन्टा काकाले भने के गर्नु यस्ता दिन आया, माखा पनि नहुने रैछन मान्छे नहुदा त । कुनै दिन यो ठाउँ गुल्जार थियो । करिब १५–२० भैँसी खर्क र ३०–४० गोठाला हुन्थ्यौं । बर्खा याममा आधा गाउँ जसो नै यता हुन्थ्यो । भैँसीका घाटीमा बाँधिएका घाडाले वारी पारि बन गुञ्जायमान हुन्थ्यो । काकाका शब्दसँगै मेरा पनि पुराना यादहरू आँखा अगाडी झलझली आउन थाले ।
एक साँझ स्कुलबाट भागेर खर्क आएपछि थाकेको थिए, सायद १–२ क्लासमा पढदाको कुरा हुनुपर्छ। हजुरआमाले दिएको एक बटुका दुध, आलुको अचार र रोटी खाएर सुतेछु । राति यस्सो गुनगुन आवाज आईरहेको थियो। आँखा खोल्न अल्छी लागेपनि कान भने चनाखो भईहाले। खर्कभरी गोठाला भेला भएका थिए । उनिहरू मध्ये एक जनाले बोल्दै थिए, अरू ध्यानपुर्बक सुनिरहेका थिए। बेला बेलामा कसैलाई जिज्ञासा लाग्यो भने सोधि पनि हाल्थे । कसैले सुल्पिमा तमाखु तानेको धुवाको बास्ना पनि खर्क भरी मगमगाएको थियो ।
रात चकमन्न थियो, अलिक परको खोला आफनै ढंगमा निस्फिक्रि उछलकुद गर्दै थियो, झयाउकिरिहरू आफनै लयमा गुनगुनाउदै थिए । रातमा मात्र बास्ने सिमलचरी सिसी गर्दै नजिकैबाट आफ्नो बेदना पोख्दै थियो । लाग्दैथियो, यो रात कहिल्यै नसकियोस, कहिल्यै बिहान नहोस । बिहान भएपछि त फेरी घर गएर स्कुल पो जानुपर्छ ।
एक जना गोठालाले सिमलचरीको कथा भन्न थाले, जो नजिकै रहेको जंगलबाट हामीलाई आफ्नो उपस्थिति जनाईरहेको थियो । पहिला एक गाउँमा एउटा पण्डित बस्थे रे, उनको खेतमा रहेको धानको कुनियुमा सिमलचरीले गुड लगाएको रहेछ । धान भित्र्याउने समयमा कुनियुबाट धान जति झिकेपनि नसकिदो रहेछ । आज दिनभरी काम गर्यो, भोली फेरी उत्तिकै हुने ।
यता जजमान हरूले सोह्र श्राद्धका लागि बोलाएको बोलायै । पण्डितलाई के गरौं के गरौँ भएछ । कुनियु सकाएर मात्र जजमानकोमा जाउ, जजमान रिसाउने । जजमानको काम पनि नगरी नहुने, यता कुनियु जति खालि गरेपनि उस्तै । घरमा धानले भकारी भरिइसके । उनले घरमा सल्लाह गरेछन, जे पर्ला पर्ला यो साल पो यसरी धान फल्या छ त आउदो साल त फेरी जजमानको मुख नताकी हुदैन । धान भित्र्याउन छोडेर श्राद्ध गर्न जाने सल्लाह भयो, पण्डितले कुनियुमा आगो लगाई दिएछन । आगो दनदन बल्न थालेपछी एउटा चरो त्यहाँबाट आधा जलेको अवस्थामा कराउदै उडेछ । उसको बचेराहरू त्यही कुनियुसंगै जलेछन।
हत्तेरी चराले गुड पो लाएको रहेछ भनेर बाहुन खल्लो मान्दै घरतिर लागेछन । घरमा हेर्दा त हिजो अस्ति भरिभराउ भएका धानका भकारी सबै खाली भएका रहेछन । बल्ल बाहुनले बुझेछन, त्यही चरीको कारण रहेछ यो सबै भन्दै पछुताउनु र कहानी सुनाउनु सिबाय केही बचेन । उता जलेको चरिको अवस्था देखेर सबै चरीले दया मानि आ–आफनो एउटा एउटा पंख निकालेर दिएछन, अघिदेखि जलेर घाइते भएको चरी सबैको पंख पाएपछि निकै सुन्दर भएछ । फेरी तिनै पंख दिने चराहरुले आफूभन्दा सुन्दर भएको देखी लखेटन थालेछन । त्यो भएर त्यो चरी दिउसोमा लुकेर बस्ने र राति भएपछि मात्र बाहिर निस्केर आफना बच्चाहरू जलेको बेदनाको गीत गाउँछ रे । त्यो चरि बिहान भएपछि लुक्ने र बास्न छोडने हुदा त्यो चरी बास्दा बास्दै भैसिको दहिबाट मोहि बनाउने बेला पर्यो भने नौनी धेरै निस्कन्छ भन्ने गोठालाहरूमा विश्वास थियो ।
हम्रो घरबाट खर्क पुग्न करिब १ घण्टाको समय लाग्थ्यो । बयाडा भन्ने ठाउँमा हाम्रा खर्क थिए । कतिपय बेला त हामी घर नजिकैको स्कुलबाट बिदा भएपछि बेलुका घर नफर्कि खर्क जान्थ्यौं । खर्कमा हजुरबा हजुरआमा हुन्थे । स्कुलबाट भागेर जानेमा प्रायः हामी ३ जना हुन्थ्यौ । काका र मेरो खर्क जोडिएको थियो भने रमेश दाईको खर्क केही पर थियो । जादा सँगै जान्थ्यौ, खर्क पुगेपछी आ–आफ्नो खर्कतिर लाग्थ्यौ । बर्खाको समयमा खर्कमा मकै, आलु, ओखर, स्याउ, चुलेरु, आलिबोख्रा, काक्रा आदि टन्नै फलेका हुन्थे ।
धित मरुजेञ्ल मकै, काक्रा, ओखर खान्थ्यौँ । कहिलेकाहीँ ओखरको खोपी बनाएर पनि खेल्थ्यौं । वरपर जंगलले ढाकिएको थियो, चरा चुरुगिंहरू पनि प्रशस्तै हुन्थे । हजुरबालाई भनेर चरा थाप्ने जेबालो बनाई माग्थे । बेलका थाप्यो भने बिहान उठनासाथ दगुरेर के पर्यो होला भन्दै हेर्न दगुर्थे । कहिल्यै ठूलो मुसा, कहिल्यै कालिखात्ते परेका हुन्थे भने कहिलेकाहीँ चाखुरो पनि भेटिन्थे ।
काका र हाम्रो गरि ८–१० वटा भैँसी हुन्थे । ति मध्येमा ४–५ वटा त दुध दिन कहिल्यै टुटदैनथे । गोठमा भैँसी नअटाएर आगनमा, बाटोमा भैँसी बाँधिएका हुन्थे । भैँसी कहिलेकाहीँ हराईहालेमा भैँसीलाई लगाएको घाडोको आवाजले सुनेर पत्ता लगाउने गरिन्थ्यो । मोटो मोटो दाउरा अगेनामा लगाईएको हुन्थ्यो । पानी पर्यो भने मकैको पातमाथि लागेर निकै आवाज आउथ्यो र पनि निकै आनन्द लाग्थ्यो । ८–१० घार माहुरी पनि कहिल्यै टुटदैन थिए । मह निकाल्ने दिन त्यता भएत मह यति धेरै खान पाईन्थ्यो कि कुरै नगरुम । माहुरीको पनि छुट्टै कथा छ । एक जना ब्यक्ति परदेश गएका रहेछन । त्यहाँ काम गर्ने बेलामा माहुरी नजिकै फुलमा बसेको देखेर आफ्नो गाउँघर र खर्कको याद आएछ । उसले माहुरी निकै टाढा सम्म मह ल्याउन जान्छन भनेको सुनेका रहेछन । उनलाई एकछिन त आफनै खर्कको घारको माहुरी हो कि जस्तो पनि लागेछ, निकै नियास्रो लागेछ गाउँघर र खर्कको । उनले माहुरी समातेर माहुरीको पछाडी धागो बाधिदिएछन । त्यसको निकै बर्षपछि घर फर्कदा त्यही धागो बाधेको माहुरी आफनो घारमा देखेपछि निकैबेर रोएछन ।
साँझ भएपछि गोठालाहरूले वन्यजन्तु खर्क नजिक नआउन भनेर बेला बेलामा उउउउउउउउउउउउउउ गरेर कराउथे, जसलाई कला हाल्ने भनिन्छ । एकजना गोठालाले कला हालेपछि वरपरका सबै गोठालाहरु कराउन थाल्थे । सुतेका भैँसीहरु पनि केही भईहाल्योकि भनेर होला जर्याकजुरुक उठी आफ्नो घाटीमा बाँधिएको घाडो जोरजोरले हल्लाउथे । पुरै लेक गुञ्जायमान हुन्थ्यो ।
साँझ खाना खाइबरी सबै गोठालाहरूको भेला हुने खर्क मेरै थियो । राति अबेर सम्म सर्बै गोठालाहरू बात मार्थे । कसैले भुतसँग साक्षात्कार गरेको अनुभव सुनाउथे भने कसैले इन्डियातिर जादाका किस्साहरू सुनाउथे । हामी सुनेर दंग पथ्र्यौ ।
बर्खा याम । झम झम झरी । छुटी भएपछि स्कुलबाट घर आउन छोडेर हामी लाग्यौँ खर्कतिर । यसरी भागेर खर्क जादा बुवाको झाप्पु पनि खाने सम्भावना हुन्थ्यो । त्यसैले खर्क गएपछि फर्कन मनै लाग्दैन्थयो । झन खर्कमा हजुर बा र हजुरआमाले गर्ने माया, मिठो मिठो खानेकुरा र निस्फिक्री मनलाग्दी गर्न पाईन्थ्यो ।
भाद्र महिनामा भैसे संक्रान्ति पर्दथ्यो । त्यो बेला सबै गाउका मानिस खर्कमा पुगेका हुन्थे । रौनक नै बेग्लै हुन्थ्यो । पौडि खेल्न बोल्ला खान सम्म पनि पुग्थ्यौ । कहिले काही सिकारीले पारि बनतिर बन्दुक पडकाएको आवाज आउथ्यो ।हामी अनुमान गथ्र्यौ, हिजो अस्तितिर कराउनेबाला रतुवा होला भनेर । कहिलेकाहीँ बादर आएर मकैबारीमा हमला बोल्थे, धपाउनका लागि निकै आपत पथ्र्यो । बादर धपाउनु पर्छ एक-दुई दिन यतै बस भनेपछि हाम्रो खुसीको सिमा रहन्थेन ।
त त सुतिस कि क्या हो, किन्टा काकाले झकझक्याएपछि म झल्यास्स बिउँझे जस्तै भए । कति मिठो सपना जस्तो अतित । अ हा ! कति मिठा र आनन्दी थिए ति दिनहरू । जहाँ कुनै जिम्मेवारी, तनाव, पिडा, अभाव, सङ्घर्ष थिएन । केवल खर्क पुगेपछि स्कुल फर्कने चिन्ता बाहेक ।
काकर तयार भयो तर त्यो दिन त्यही राख्ने र भोलिपल्ट मात्र लैजाने परम्परा छ । राती गाउँका सबै जना आएर काकरको वरिपरि कुरेर बस्नुपर्छ भन्ने छ । त्यसैले अहिले घर गएर राती फेरी फर्कन पर्ने हुँदा सबै जना हिडने तरखरमा लागे । म पनि अझै बस्ने रहर हुदा हुदै पनि घरतर्फ लाग्नुपर्यो । फर्केर हेरे, त्यही बुढो रुख र सुनसान खर्क मलाई टुलुटुलु हेरिरहेको भान भयो ।
(लेखक बिगत लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील छन्)