सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीवन र मृत्युको संघर्षः एउटा बिहान अस्पतालको गेटमा

२०८२ साउन २४, १२:१९

सुदर्शन भट्टः एक बिहान म अस्पतालको गेटमा पुगेँ।

दिनको चहलपहलजस्तै भिड देखेर एकछिन त म झस्किएँ। “अहिले त बिहानै हो नि, तर यस्तो किन?“ — मनमा प्रश्न उठ्यो। घडी हेरेँ, सपना देखिरहेजस्तो लाग्यो। त्यो गेटअगाडि मानिसहरू यति धेरै थिए, जस्तो कि कुनै जात्रा, महोत्सव वा उत्सव।

धनगढीको उज्यालोले झनै दिउँसो जस्तो देखिन्थ्यो। तर त्यो उज्यालोको आडमा के देखियो भने—जीवन र मृत्युको सीमामा संघर्ष गरिरहेका मानिसहरू। केही बिरामीहरू शिथिल अनुहार लिएर ओछ्यानमा छट्पटाइरहेका, त केही आफन्तहरू रोइरहेका, चिच्याइरहेका, प्रार्थना गरिरहेका।

“ओ... एया... बचाइदिनुहोस्, म बाँच्न चाहन्छु! मेरो परिवार एक्लो हुन्छ...“— यी शब्दहरू अस्पतालको सैयाबाट झझल्किरहन्थे। यी आवाजहरू सायद कुनै देवताको मन्दिरमा गरिएको प्रार्थनाभन्दा गहिरा थिए, किनकि ती आवाजहरू बाँच्न चाहने आत्माका अन्तिम पुकार थिए।

अस्पतालभित्रको यथार्थ
त्यहाँ सबैथरिका बिरामी थिए।

कोही जीवनको अन्तिम मोडमा पुगेका, कोही सास फेर्न संघर्षरत। कोही नवजात बच्चा पाउने तयारीमा रहेकी महिला, कोही वृद्ध, कोही अङ्गभङ्ग, कोही मानसिक रूपमा कमजोर, त कोही सामान्य ज्वरो लिएर आएका। तर सबैमा एउटै कुरा थियो — “बाँच्न पाउने आशा“।

बिरामीका आफन्तहरू डाक्टरहरूसँग हात जोड्थे — “कृपया बचाइदिनुहोस्।” तर, सबै चिकित्सक एउटै स्वभावका हुँदैनन्। कोही न्यानो शब्द बोल्ने, हौसला दिने; त कोही चिच्याउने, कठोर व्यवहार गर्ने। र त्यस्ता शब्दहरू बिरामीको आत्मामा चोट पु¥याउँछन्। बाँच्ने जुझारु भावना नै हराउँदै जान्छ।

त्यो पीडा, जुन शब्दले बयान गर्न सकिँदैन
सम्झनुहोस् त — यदि तपाईं आफैं बिरामी हुनुहुन्छ, तपाईंको परिवार सदस्य गम्भीर अवस्थामा छन्, र तपाईंसँग न समय बाँकी छ, न पैसा, न शक्ति...

तपाईंको रातभरको अनिदो, ऋणको भारी, कामबाट छुट, अनि अन्तहीन प्रतिक्षा...कसरी काबुमा राख्न सकिन्छ त्यो मन?
आमा—जसले नौ महिना पेटमा बच्चा बोकेकी — आज सुत्केरी कक्षमा अर्धमृत अवस्थामा छन्।
बुबा—जसले दिनरात दुःख गरेर पैसा कमाए — आज छोराको उपचार खर्चमा ऋण लिन बाध्य छन्।
ज्याला मजदुरी गरेर जीवन धान्ने परिवार — एकमुठी सास बचाउन लाखौं खर्च गर्न विवश छन्।

तर अझै पनि आशा बाँकी छ
त्यहाँ सबैको अनुहार मलिन छ, तर आँखा अझै झिनो आशामा चम्किरहेका छन्।

“शायद म बाँच्न सक्छु।”“शायद उहाँ निको हुनहुन्छ।”“शायद हामी फेरि पुरानै जस्तो जिन्दगी जिउन सक्नेछौं।”

अन्ततः — के गर्न सकिन्छ?
हामी सबैमा भावना छन्, तर सहानुभूति अझै काँचो छ।
पीडालाई महसुस गर्नुहोस्।
बिरामीलाई हौसला दिनुहोस्, न की निराशा।
 बोल्न सकिन्छ भने मिठो बोल्नुहोस्
 

कमेन्ट लोड गर्नुस