सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा आमाको हत्यापछि फरार रहेका छोरा भारत भाग्दै गरेको अवस्थामा पक्राउ

२०८२ चैत्र ५, ०८:१० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा आमाको हत्यापछि फरार रहेका हत्या आरोपित छोरा हरिप्रसाद श्रेष्ठ भारत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन्।

दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर टोलको नेपाल–भारत सिमा नाका स्थितमा लुकिछिपि गरि भारत भाग्दै गरेको अवस्थामा फेला पारी बुधवार राति ९ः३५ बजेको समयमा प्रहरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मंगलबार साँझ आफ्नै सौतेनी आमा ७५ वर्षीया बिन्द्रा श्रेष्ठको हत्या गरेर ५५ वर्षीय छोरा हरिप्रसाद श्रेष्ठ फरार रहेका थिए। जग्गा–जमिनका विषयमा विवाद हुँदा हरिप्रसादले हँसिया प्रहार गरेर आमाको हत्या गरेका थिए भने दिदीको पनि आक्रमण गरेका थिए।

घाइते ५० वर्षीया भगवतीदेवी माझीको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरबाट थप उपचारका लागि भारतको भोजिपुरा लगिएको जनाइएको छ। पक्राउपछि हरिप्रसादलाई कानुनी प्रक्रिया अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस