सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैतकाे भेटाैलाे सुदूरपश्चिमकाे एक विशेष चाड : मान सिंह धामी

२०८२ चैत्र १, ०४:४०

सेलको भारी बोकी झान्ना दादा बैना !!

जैका हुन्ना दिदी बैनी भेटौलाका मैना !!

कोशेलाको भारी बोकी झान्ना दादा बैना !!

 लाग्यो इजु चैतकाे मैना, दादा काँछ मेरो !!

रुँनीहो न्याउली चरी, जिउ झुर्दो हो तेरो !! 

काफलकी करौउँ दानी, हुन लागे लाल !! 

फर्किफर्कि आइग्यो इजु, यै मास यै साल !! 

सोराइले हेर्दो छु मुइत, दाइकाे आउन्या बाटो !! 

इतिछाँटो बिरानो भयो, मेरै जनम्या माटो !!

बासीझा न्याउली चरी सम्राई मान्न्या छैत !!                    

सम्झना  माईतकि आउनी यै रंगीला चैत !!

धनगढीः सुदूरपश्चिमका दार्चुला र बैतडी तथा भारतको कुमाऊँ गडवाल क्षेत्रमा चैत्र महिनामा "भेटौलो" वा "भिटौली"/"चैतलो" पर्व सुरु हुन्छ । यो भाइबहिनी तथा माइती पक्षले विवाहित छोरीचेलीलाई भेट्ने र कोसेली दिने सामाजिक परम्परा हो ।

यसले पारिवारिक सम्बन्ध मजबुत बनाउँछ । प्रत्येक वर्ष चैत्र १ गतेदेखि यो पर्व प्रारम्भ हुन्छ र चैत्र महिनाभरि चल्छ । दार्चुला, बैतडी जस्ता सुदूरपश्चिमका पहाडी जिल्लामा भेटौलोको रूपमा चिनिन्छ भने कुमाऊँ गडवालमा भिटौली वा चैतलो भनिन्छ । यो खडेरीको महिना नयाँ खाद्यान्न सकिनुअघि माइतीले सहयोग पुर्‍याउने समय पनि हो । 

धार्मिक रूपमा यो चैते नवरात्रसँग जोडिएको छ, जसमा शक्तिपीठहरूमा पूजा र बलिसहित जात्रा हुन्छ । कुमाऊँमा देवताहरूले बहिनीहरू (भगवती रूपमा) लाई भेट्न जाने विश्वास छ । चेलीचेलीलाई दान दिनुले पुण्य प्राप्त हुने जनविश्वास छ ।

यो पर्वले भाइबहिनीको प्रेम बढाउँछ र पराइ घर गएकी छोरीलाई माइतीको साथको आभास दिन्छ । माइतीबाट सेलरोटी, मिठाई, फलफूल, लुगा आदि कोसेली लैजाने र छिमेकमा बाँड्ने चलन छ । यसले सामाजिक एकता र पारिवारिक बन्धन कायम राख्छ । परम्परागत कथनअनुसार कुमाऊँमा एक दाजुले बहिनीलाई चैत्रमा भेट्ने वाचा गरेपनि व्यस्तताले नभेटेको कथासँग जोडिएको छ । यो सुदूरपश्चिम र कुमाऊँ गडवालको साझा सांस्कृतिक सम्पदा हो, जसले प्राचीन व्यापारिक र सांस्कृतिक सम्बन्ध झल्काउँछ । आधुनिकीकरणले यसको निरन्तरता चुनौतीपूर्ण बन्दैछ ।

सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्लाहरूमा छाेरी, दिदीबहिनी तथा चेलीबेटी हरूलाई चैत्र महिनामा भेट्ने चलन रहेकाे छ । बुवा तथा दाजुभाइले आफ्ना छाेरी, दिदीबहिनी तथा फुपुहरूलाई विभिन्न खानाका परिकारहरू सेलरोटी, पिन्जरी, खजुरा लगायतका खानाका परिकारहरू लगेर चेलीबेटीकाे घरमा भेटाैलाे जाने गर्दछन् । चैत महिना शुरु भएसँगै दार्चुला बैतडीसहित सुदूरपश्चिमभरि भेटौलाे पर्व शुरु भएको छ । भाइबहिनीको प्रेम पर्वका रुपमा रहेको भेटौलाे खास गरेर  दार्चुला, बैतडी, डडेल्धुरा, कैलाली, कन्चनपुर र सीमावर्ती भारतीय गाउँतिर विहे भइसकेकी चेलीबेटीलाई माइती पक्षकातर्फबाट दाजुभाइले भेट्ने चलनको रुपमा प्रचलित छ । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ ।

अहिले आएर आधुनिकीकरण, बसाइँसराइ, कार्य व्यस्तता आदि कारणले गर्दा भेटौलाे पर्वको महत्त्व कम हुँदै गएकाे छ । पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरतामा कमि आइरहेको छ । होली पर्वको महत्त्व जस्तै सुदूरपश्चिममा यो पर्वकाे पनि  निरन्तरता भने भइरहेको छ । “अरु संस्कृतिहरू बरु छोड्दै गएको पाइन्छ”, “तर यो पर्वमा भाइबहिनीको भेट नभए खल्लो महसुस गर्ने गर्छन् ।”

परम्परागत कथन अनुसार भारतको कुमाऊँमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भेटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको हाे । भेटौलोमा माइतीले मीठो खानेकुरा (सेलराेटी, पुरी, लाउन, पिन्जरी), मिठाई लगायत लुगाकपडा छोरीबहिनीको घरमा पु-याउने चलन रहेकाे छ । माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँ छिमेकमा बाँड्ने चलन रहेको छ ।

पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोसमेत थाहा हुँदैन थियो । वसन्त ऋतुमा पराई घरमा छोरी चेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको हाे । 

भेटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, खजुरा, गुड, मिश्री, फलफूल र क्षमता अनुसार लुगा र गहनासमेत दिने चलन रहेकाे छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलनले निरन्तरता पाएकाे देखिन्छ । भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ । दाजुभाइ नभएका परिवारमा नजिकमा गएर भेट्ने चलन रहेको छ ।

चैत महिनामा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्त्व गाउँघरतिर घटेको छैन । यो महिनाभरि एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन रहेको छ । यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने बताइएको छ ।

चैत महिना लागेसँगै दिदीबहिनीहरू दाजुभाइकाे बाटाे हेरेर बसेका हुन्थे । तर अहिले सञ्चारकाे जमाना भएकाेले भेटाैलाे कहिले आउने, काे आउने, गाउँमा जुठाे परेकाे, सबै ठिकठाक नै भएकाे सबै कुराकाे जानकारी हुने गरेकाे छ । पुस्ताैंदेखि चलेकाे याे भेटाैलाे परम्परालाई निरन्तरता दिनु पर्दछ । परम्पराकाे जगेर्ना गर्ने हाे भने हामीले बजारकाे महङ्गो मिठाई, फलफूल भन्दा अर्गानिक घरैमा इजाले पकाएकाे सेलरोटी, हलुवा, खीर, माणा, खजुरा, मालपुवा, पिन्जरी (घिउमा गुड र पिठाे हालेर भुटेकाे/ प्रसाद) आदि पथ्य र पाैष्टिक खानाका परिकार लगेर भेटाैलाे गर्नु पर्दछ । यदि यस्ता खानाका परिकार पकाउने फुर्सद छैन भने उक्त परिकार पकाउन चाहिने पिठाे (गहुँ र चामल), तेल, गुड, दाउन आदि सामग्री लगेर भेट्नु पर्दछ भन्ने पङ्तिकारकाे मान्यता रहेकाे छ ।

दिदीबहिनी, फुपू, छाेरीलाई भेटेपछि काेसेली लगेकाे झाेला रित्ताे पठाउदैनन् । खानाका परिकार तथा गुड, खुदाे, मह, घ्यु आदि दिने वा पठाउने चलन रहेकाे छ । तर आधुनिकताले अहिले धेरै जसाेले बाध्यता सम्झन्छन् र बजारबाट स्याउ, केरा लगायतका फलफूलले भेटाैलाे टुङ्याउने गर्दछन । कामकाे चटाराे, हताराेले गर्दा एकछाक खानापनि नखाएर मुख देखाएर जाने गरेकाे पनि देखिन्छ । तर भेटाैलाे पर्वलाई परम्परागत र संस्कारयुक्त बनाऔं, हामी पनि संस्कारी बनाैं । भेटाैलाे गएपछि बास बस्न नसकिए पनि एकछाक खाएरै आउनु पर्दछ ।

चैैतकाे भेटाैलाे भने पनि सुदूरपश्चिमका केही जिल्ला डाेटी, अछाम, डडेल्धुरा लगायतका जिल्लामा माघ महिनामा भेटाैलाे पर्व मनाइन्छ ।

मान सिंह धामी (भाैनबाटी)

उप-प्राध्यापक, कैैलाली बहुमुखी क्याम्पस, धनगढी । 

स्थायी ठेगाना : माालिकार्जुन गाउँपालिका हुनैनाथ - ४ गाेठ्युडी (काेटबुङ्गा), दार्चुला ।

कमेन्ट लोड गर्नुस