सुदूर नेपाललाई विश्वसँग जोड्दै

अख्तियारको पोखरा महानगरमा छापा

२०८१ असार १८, ०७:२१ खबर संवाददाता

पोखराः पोखरा महानगरपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। मणिपाल शिक्षण अस्पताललाई कानुन विपरीत राजस्व छुट दिइएको उजुरीपछि अख्तियारले मङ्गलवार कार्यालय छापा मारेको हो।

अख्तियार पोखराले मणिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको बताएको छ। महानगरले वडा नम्बर ११ मा रहेको मणिपाल शिक्षण अस्पताललाई करिब २० करोड कर छुट दिएर घरनक्सा सम्पन्न प्रमाणपत्र दिएको थियो। महालेखा परीक्षकको प्रतिवेदनले यसमा प्रश्न उठाएपछि महानगर छुट दिने निर्णय बदर गरिसकेको छ।

वि.स. २०५३ मा बनेको मणिपाल शिक्षण अस्पताललाई महानगरको २०७९ चैत १० गते भएको बैठकले २० करोड कर छुट दिएर एक करोड ७५ लाख लिई मणिपाललाई भवन सम्पन्न प्रमाणपत्र दिने निर्णय लिएको थियो। महालेखाले मणिपालले २१ करोड ५७ लाख बुझाउनुपर्ने औँल्याएको छ।

असार १० गतेको नगर सभाले प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको संयोजकत्वमा कर यकिन गर्न समिति बनाएको छ। समितिमा डा होम गैरे, विमल भण्डारी र अधिवक्ता सुवदेव गौतम, इन्जिनियर सुरेन्द्र पाण्डे, रामजी पौडेल र शिवराम भण्डारी सदस्य छन्।
 

कमेन्ट लोड गर्नुस