सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री सोडारीलाई एमालेले दिएको समर्थन फिर्ता, मन्त्रीले दिए राजीनामा

२०८१ असार २०, ०५:४७ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले दिएको समर्थन फिर्ता लिइएको छ। नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थत फिर्ता लिएको बताए। उनले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपारिषद को कार्यालयमा समर्थत फिर्ता लिएको पत्र दर्ता गरेको बताए। मुख्यमन्त्री सोडारी धनगढीमा नभएकाले फोनमार्फत जानकारी गराइएको उनले बताए। उनले भने, ‘हामीले मुख्यमन्त्री ज्यूलाई दिएको समर्थत फिर्ता लिएका छौ। आजका मितिबाट लागु हुने गरेर पत्र पठाएका हो। मुख्यमन्त्री कार्यालय र सचिवालयमा दर्ता भएको छ। मुख्यमन्त्री ज्यूलाई फोनबाट जानकारी गराएका छौ।’

नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकार सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका छन्। एमालेबाट आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, वन, वातावरण तथा सहकारी मन्त्रालय वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा साकीले राजीनाको पत्र पठाएका हुन्। एकीकृत समाजवादीको महाधिवेशनका लागि मुख्यमन्त्री सोडारी सङ्घीय राजधानीमा छन।

मुख्यमन्त्री सोडारी सङ्घीय राजधानीमा हुँदै अल्प मतमा परेका छन्।

 

कमेन्ट लोड गर्नुस