सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालपोतमा काम गराउनै सकस, सेवाग्राहीको समय र पैसा दुवै खेर 

२०८३ मंसिर ४, ०९:३४ लक्ष्मण ढुङ्गाल

धनगढी: कैलालीको धनगढीस्थित भूमि प्रशासन कार्यालयमा सेवाग्राहीले सहज र छिटोछरितो सेवा पाउन नसकेको गुनासो गरेका छन्। जग्गा नामसारी, किनबेच तथा अन्य कामका लागि कैलालीका विभिन्न स्थानीय तहबाट कार्यालय पुग्ने सेवाग्राहीले कयौं दिनौँसम्म धाउँदा पनि काम सम्पन्न नहुने गरेको बताएका हुन्। 

गोदावरी नगरपालिकाका भर्थरी चौधरी तीन दिनदेखि जग्गा नामसारीका लागि भूमि प्रशासन कार्यालय धाइरहेका छन्। तर, पटकपटक कार्यालय पुग्दा पनि उनको काम हुन सकेको छैन। एकैदिनमा सम्पन्न हुनुपर्ने कामका लागि धेरै दिन खर्चिनुपर्दा आफूले सास्ती खेप्नुपरेको उनको गुनासो छ। 

त्यस्तै, अर्का सेवाग्राही कृष्णसिंह पाली पनि दुई दिनदेखि कार्यालय धाइरहेका छन्। समयमै काम सम्पन्न नहुँदा आफू समस्यामा परेको उनी बताउँछन्। अहिले किसानलाई गहुँ छर्ने चटारो छ। तर, जग्गासम्बन्धी कामका लागि पटकपटक कार्यालय धाउनुपर्दा खेतीपातीको कामसमेत प्रभावित भएको उनको भनाइ छ। 

धनगढीका धनबहादुर रावलको अनुभव पनि उस्तै छ। केही समयअघि पनि सेवा लिन कार्यालय पुगेका उनी पुनः दुई दिनदेखि कामका लागि धाइरहेका छन्। सेवाग्राहीसँग कर्मचारीले गर्ने व्यवहार र सेवाभावप्रति समेत उनको असन्तुष्टि छ। कार्यालयमा काम गराउन आउँदा उचित व्यवहार र सहज सेवा नपाएको उनी बताउँछन्। 

यता, भूमि प्रशासन कार्यालयका प्रमुख भूमि प्रशासन अधिकृत लक्ष्मणबहादुर कठायतले भने कार्यालयबाट सेवा प्रवाह चुस्त र दुरुस्त भइरहेको दाबी गरेका छन्। सेवाग्राहीको चापअनुसार कर्मचारी परिचालन गरी सेवा प्रवाह भइरहेको उनको भनाइ छ।

तर, सरकार परिवर्तन भए पनि सरकारी कार्यालयमा सेवाग्राहीले भोग्नुपर्ने समस्या समाधान हुन नसकेको सेवाग्राहीको गुनासो छ। जिल्लाका टाढाटाढाका स्थानीय तहबाट सेवा लिन आउने नागरिकलाई पटकपटक कार्यालय धाउनुपर्दा समय र आर्थिक भार दुवै बढेको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस