सुदूर नेपाललाई विश्वसँग जोड्दै

७ खर्ब ३३ अर्ब भित्रियो रेमिटेन्स, विदेश पढ्न जानेबाट बाहिरियो करिब ५९ अर्ब

२०८० माघ २३, ०४:१९ खबर संवाददाता

काठमाडौंः गत आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिटेन्स भित्रिएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २५  प्रतिशतले बढी ७ खर्ब ३३ अर्ब रुपैयाँ भित्रिएको छ।

मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्टमा आयातमा आएको कमी र रेमिट्यान्समा भएको वृद्धिका कारण सोधनान्तर बचतको स्थिति र वैदेशिक मुद्रा सञ्चिति बढेको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा आयात ३.१ प्रतिशतले कमी आई ७ खर्ब ६८ अर्ब १७ करोडमा खुम्चेको छ। पुस मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो। २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई २०८० पुस मसान्तमा १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ।

विदेश पढ्न जानेहरूबाट भने चालु आर्थिक वर्षको ६ महिनामा गत वर्षको तुलनामा २३ अर्ब बढी रकम बाहिरिएको छ। अघिल्लो वर्षको पुस मसान्तसम्म ३५ अर्ब ३६ करोड बाहिरिएकोमा ५८ अर्ब ९५ करोड बाहिरिएको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा न्यून मात्रै बढेको देखिएको छ।

गत वर्षको पुससम्म  १ खर्ब ३७ अर्ब ३३ करोडले बढेको कर्जा यो वर्षको सोही अवधिमा १ खर्ब ९२ अर्ब ६४ करोडले बढेको छ। २०८० पुस मसान्तसम्म  सरकारका विभिन्न खातामा २ खर्ब ३६ अर्ब ७१ करोड नगद मौज्दात रहेको देखिएको छ। महँगी भने केही घटेको देखिएको छ। २०८० पुस महिनामा मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा ७ दशमलव २६ प्रतिशत रहेको थियो।

कमेन्ट लोड गर्नुस