कारागारमा कैदीको मृत्युको घटनाको छानबिन गर्न समिति गठन

धनगढी : जिल्ला कारागार, कैलालीमा रहेका कैदीबन्दी हरिशसिंह पालीको रहस्यमय मृत्यु भएपछि छानबिन गर्न समिति गठन गरिएको छ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन्। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले उक्त समितिलाई सात दिनभित्र घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय पालीको सोमवार मृत्यु भएको थियो। जिल्ला कारागार, कैलालीमा रहेका रहेका पाली सेती प्रादेशिक अस्पतालमा राति मृत्यु भएको हो। बैंकिङ्ग कसुरमा पालीलाई फागुन २९ गते कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो। सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो। पक्राउपछिको दुई दिनमै उनको मृत्यु भएको हो।

पालीको शरीरमा चोटपटक देखिएको भन्दै पीडित परिवारले हत्या भएको शंका गरेका छन्। घटनाको निष्पक्ष छानबिनको माग गर्दै उनीहरूले शव बुझ्न मानेका छैनन्। घटनाप्रति आक्रोशित परिवारजनले बुधवार डडेल्धुरामा बजार र सडक बन्द गरेका थिए।
