सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जमिनको खण्डीकरण बढ्दो, कृषियोग्य भूमि बर्सेनि मासिँदै

२०८० पुष ६, ०७:०१ नारायण अवस्थी

धनगढीः २०१८ सालदेखि हरेक दश–दश वर्षमा कृषि गणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालयले धनगढीमा सुदूरपश्चिम प्रदेश र कैलाली जिल्लाको कृषि गणनाको नतिजा सार्वजनिक गरेको छ।

२०७८ मा गरिएको कृषि गणनामा सुदूरपश्चिम प्रदेशमा ५ लाख ७७ हजार १०२ घरपरिवार संख्या र चार लाख ५७ हजार ७५६ कृषक परिवार संख्या रहेको छ। प्रदेशमा एक लाख ९२ हजार ८८५ हेक्टर जग्गामा खेतीपाती भइरहेको छ। कैलालीमा भने दस वर्षको अन्तरमा एक लाख ९५ हजार ९५७ घरपरिवारको संख्या पुगेको छ। घरपरिवार संख्या २०६८ को कृषि गणनाको तुलनामा ५३ हजार ५४४ ले बढेको छ।

कैलालीमा कृषक परिवारको संख्या एक लाख २७ हजार १६ पुगेको छ। दस वर्षमा जिल्लामा १५ हजार ३५४ कृषक परिवार बढेको हो। कैलालीमा कृषिचलन जग्गा ६२ हजार ७३४ हेक्टर छ। २०६८ को कृषि गणनाको भन्दा २०७८ मा ३ हजार ९२५ हेक्टर खेतीपाती गरिने जग्गा घटेको छ। कृषि गणनाको नतिजाले स्थानीय र प्रदेश सरकारलाई कृषि सम्बन्धिको जानकारी दिने र आगामी योजना बनाउन सहयोग पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायले बताए।

‘यो नतिजाले स्थानीय सरकारहरूलाई कृषि क्षेत्रमा के गर्न सकिन्छ र अहिलेको अवस्था के छ भनेर वडासम्मको कृषि सम्बन्धित विषयमा जानकारी दिन्छ,’ उनले भने, ‘यसैगरी प्रदेश सरकारलाई समग्र प्रदेशको कृषि सम्बन्धी तथ्याङ्कको जानकारी दिन्छ।’ सुदूरपश्चिममा परिवारको हकको जग्गा मात्र कमाउने किसान परिवारको संख्या तीन लाख ६५ हजार २२४ रहेको छ भने अरुको जग्गा मात्र कमाउने परिवारको संख्या २ हजार ७५ रहेको छ।

कैलालीमा परिवारको हकको जग्गा मात्र कमाउने कृषक परिवारको संख्या ९९ हजार ३०४ र अरुको जग्गा मात्र कमाउने कृषक परिवारको संख्या ५५० रहेको छ। खण्डीकरणले कैलालीको खेतीयोग्य जमिन घटेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले बताए। ‘कैलाली जिल्लामा अन्य जिल्लाबाट हुने बसाइँसराइले कृषियोग्य जमिन खण्डीकरण भइरहेको छ,’ उनले भने, ‘पहाडमा जमिन बाँझो रहने र तराईको जग्गा आवास क्षेत्रामा परिणत हुँदा खाद्य सुरक्षाको जोखिम बढेको छ।’ 

सुदूरपश्चिममा एक लाख ८ हजार ८ सय हेक्टरमा धान खेती, एक लाख ४ हजार ५७३ हेक्टरमा गहुँ खेती, २३ हजार ७३ हेक्टरमा मकै खेती र ६ हजार ३१९ हेक्टरमा तरकारी खेती गरिएको कृषि गणना २०७८ को नतिजाले देखाएको छ। तर, कैलालीमा भने धान खेतीको क्षेत्रफल दस वर्षको अन्तरमा चार हजार २४४ हेक्टर घटेको छ। जिल्लामा मकै खेतीको क्षेत्रफल २१६ हेक्टर, गहुँ खेतीको क्षेत्रफल २ हजार ९२२ हेक्टर बढेको भए पनि तरकारी खेतीको क्षेत्रफल १६८ हेक्टर घटेको छ।

कैलाली र कञ्चनपुरमा खेतीयोग्य जग्गा आवासमा परिणत भएको छ भने पहाडी जिल्लाहरूमा खेतीयोग्य जमिन बाँझो छोडिएकाले खाद्यान्न आयात गर्नुपर्ने अवस्था बढेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चौधरीले बताए। २०६८ को कृषि गणनाअनुसार सुदूरपश्चिम प्रदेशमा वर्षैभरी खान नपुग्ने परिवारको प्रतिशत ६० प्रतिशत रहेकोमा २०७८ मा यो संख्या घटेर ५५ प्रतिशत देखिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस