सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसापानी–राजकाँडा केबुलकार निर्माण गर्न शिलान्यास हुँदै, सात अर्ब लगानी

२०८१ पुष ११, १२:०७ कमल सावद

धनगढीः कैलालीको चिसापानी–राजकाँडा केबुलकार निर्माण गर्न शिलान्यास गरिने भएको छ। चिपासानीदेखि राजकाँडासम्म केबुलकार तथा भौतिक संरचनाहरू निर्माणका लागि शिलान्यास हुने भएको हो।

चन्द्रागिरि केबुलकारका सञ्चालक चन्द्रप्रसाद ढकाल, जिल्ला समन्वय समिति कैलालीका पूर्व सभापतिसमेत रहेका सूर्यबहादुर थापाको समूहले केबुलकार निर्माणको काम सुरु गर्ने भएको हो। जालपादेवी केबुलकारको शनिवार परराष्ट्रमन्त्री आरजु राणा देउवाले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

लम्कीचुहा नगरपालिका–३ चिसापानी र मोहन्याल गाउँपालिका–७ राजकाडाँसम्म विशेष गरी भारतीय पर्यटकलाई लक्षित गरेर केबुलकार सञ्चालनका लागि संरचनाहरू निर्माणको काम सुरु हुने भएको हो। सञ्चालक सूर्यबहादुर थापाले एक वर्षमा सञ्चालनको योजना अनुसार भौतिक संरचनाहरू निर्माणको काम सुरु गरिने बताए। उनले भने, ‘शिलान्यासको तयारीमा छौ। पुस १३ गते बिहान ११ बजेदेखि शिलान्यासको कार्यक्रम सुरु हुन्छ। पहिलो चरणको काम सकेको छौ। निर्माणको काम सुरु गर्दै छौ। कममा ८ महिना बढीमा एक वर्षमा उद्घाटन गर्ने तयारी छ।’

चिसापानी–राजकाँडा केबुलकार एक वर्ष भित्र सञ्चालनमा आउने भएको हो। कैलालीको प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको कर्णाली चिसापानी र राजकाँडा जोड्ने केबुलकार निर्माणको काम सुरु गर्न थालिएको हो। जालपादेवी केबुलकारले सात अर्बको लगानीमा केबुलकार लगायतका संरचनाहरू निर्माणको काम थालेको हो। कम्पनीले नेपाल सरकारलाई रुखको क्षति बाफतको तीन करोड ५० लाख रुपैयाँ बुझाएको थियो।

जाल्पादेवी केवलकार कम्पनीको नाममा रहेको दुई सय ५० रोपनी जग्गामा घेरबार, केबुलकार, मन्दिर, एक हजार व्यक्तिको लागि पार्क, स्टेशनहरू, चमेनागृहहरू, पाँच तारे होटेल, चिसापानीमा एक हजार मान्छेका लागि हल, क्यासिनो लगायतका संरचनाहरू निर्माण सुरु गरिने भएको हो। केबुलकारको काम सुरुमा हुने र संरचनाहरू निर्माण हुँदै जाने जलपादेवी केबुलकारले बताएको छ।

चिसापानीमा १३ बिघा र केबुलकार सञ्चालन हुने क्षेत्रमा थप सात बिघा जग्गा कम्पनीले प्रयोग गर्ने छ। कम्पनीले २० बिघा जग्गा नेपाल सरकारलाई सट्टामा दिएको छ।

जाल्पादेवी केबुलकार कम्पनीका सञ्चालक सूर्यबहादुर थापाले एक वर्ष भित्रमा चिसापानी–राजकाँडा केवलकार सञ्चालनमा आउने बताए। प्राकृतिक रूपमा निकै सुन्दर राजकाँडा सूर्योदय अवलोकनका लागि प्रसिद्ध रहेको छ। सडक यातायात नपुगेकाले कम्पनीले काम गर्दै छ। कम्पनीले साइकल यात्रीका लागि समेत छुट्टै योजना बनाएको छ। कम्पनीले तीन दशमलव एक किलोमिटरमा केबुलकार सञ्चालनको तयारी गरेको हो। जाल्पा केवलकार कम्पनीले सात अर्ब केबुलकारसहितका एक पाँच तारे होटेल, एक तीन तारे होटेल, एक सेमिनार हल, पाँच वटा पार्टी प्यालेस, स्वीमिङ्ग पुल, पार्कहरू लगायतका संरचनाहरू निर्माणमा खर्च गर्ने योजना बनाएको छ। थापाले भने, ‘क्यासिनोसहितको पाँच तारे होटेल सञ्चालनमा आउने छ। पार्टी प्यालेससहित पार्कहरू निर्माण गर्ने छौ। चिसापानीमा १३ बिघा जग्गा छ। तीन तारे होटेल, पार्टी प्यालेस, स्वीमिङ्ग पुलहरु निर्माण गर्ने छौ।’

चिसापानीबाट केबुलकारमा राजकाँडा पुग्न करिब २० मिनेट लाग्ने छ। केबुलकारमा भ्रमण गर्ने पर्यटकले सो २० मिनेटमै फरक फरक वातावरणको आनन्द लिन पाउने दाबी कम्पनीको छ। पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने पार्टी प्यालेस, होटेल तथा रेस्टुरेन्ट, जाल्पा देवीको ठूलो मुर्ति, दरवार, गुफा व्यवस्थीत गर्ने योजनामा कम्पनी रहेको छ। राजकाडाँमा प्राकृतिक चिकित्सालयको योजनासमेत बनाइएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग थापाले लगानी साझेदारी गरेका छन। केबुलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन्। केबुलकार दैनिक छ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुनेछ। कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको योजनास्थलबाट सुरु हुने केबुलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाश धामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ। सुदूरपश्चिम प्रदेशको प्रदेशद्वारका रुपमा रहेको कर्णाली चिसापानीमा केबुलकार सञ्चालनका लागि संरचना निर्माण सुरु हुने भएको हो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस