पर्यटन विकासमा उत्कृष्ट कार्य गरेबापत अपिहिमाल गाउँपालिका सम्मानित
दार्चुलाः पर्यटन विकासमा उत्कृष्ट कार्य गरेबापत दार्चुलाको अपिहिमाल गाउँपालिका सम्मानित भएको छ। नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अपिहिमाललाई देशभरका स्थानीय तहमध्ये पर्यटन विकासमा उत्कृष्ट पालिकाको रूपमा सम्मान गरेको हो।
गत शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई सम्मानपत्र हस्तान्तरण गरे। विविध कारणले सेप्टेम्बर २७ मा आयोजित मुख्य समारोहमा उपस्थित हुन नसकेकाले मन्त्रालयले छुट्टै कार्यक्रम आयोजना गरी अध्यक्ष बोहरालाई सम्मानपत्र हस्तान्तरण गरेको हो।
गाउँपालिकाले पछिल्ला तीन वर्षमा पर्यटन विकासमा उल्लेखनीय प्रगति हासिल गरेको छ । आफ्नो ५ वर्षे आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम र १० वर्षे पर्यटन रणनीति अनुरूप अघि बढेको गाउँपालिकाले सुदूरपश्चिमको प्रमुख तथा देशकै सुन्दर गन्तव्यको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको छ ।
यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारका विभिन्न निकायसँग सहकार्य गर्दै आएको गाउँपालिकाले जनाएको छ । अपिहिमाल गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले ‘अग्र्यानिक अपि’अभियान मार्फत कृषि पर्यटनलाई विशेष जोड दिएको छ ।
स्थानीय रैथाने उत्पादनहरूलाई बजारसँग जोडेर स्थानीयको जीविकोपार्जनमा टेवा पु¥याइएको छ । यसका साथै, पदयात्रा र हिमाल आरोहणलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । पर्यटन पूर्वाधार विकासमा समेत गाउँपालिकाले महत्त्वपूर्ण काम गरेको छ । नेपाल पर्यटन बोर्ड तथा युएनडिपीको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिएको छ ।
यस केन्द्रले पर्यटकहरूलाई सूचना प्रदान गर्नुका साथै स्थानीय उत्पादनहरूको बिक्री वितरणमा पनि सहयोग पु¥याइरहेको छ ।