सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकार अपि र साइपाल चढ्ने बाटो खोज्दै, २० लाख बजेट

२०८३ कार्तिक ८, ११:३० खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका अग्ला हिमाल आरोहणका लागि खुला छन्, अनुमति शुल्क पनि लाग्दैन। तर, आरोहीलाई हिमालको शिखरसम्म पुर्‍याउने स्पष्ट मार्गकै अभाव छ। यही समस्या हटाउन प्रदेश सरकारले अपि र साइपाल हिमालको आरोहण मार्ग पहिचान गर्ने योजना अघि सारेको छ। त्यसका लागि चालु आर्थिक वर्षको बजेटमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइमार्फत उक्त योजना कार्यान्वयन गरिनेछ। सुदूरपश्चिमको सबैभन्दा अग्लो अपि हिमाल ७ हजार १३२ मिटर उचाइमा छ। यस्तै, साइपाल हिमाल ७ हजार ३१ मिटर र जेठी बहुरानी हिमाल ६ हजार ८५० मिटर अग्ला छन्। 

नेपाल सरकारले एक वर्षदेखि सुदूरपश्चिमका २३ वटा हिमाल आरोहणका लागि निःशुल्क अनुमति दिने व्यवस्था गरेको छ। तर, अनुमति शुल्क नलाग्ने व्यवस्था भए पनि स्पष्ट आरोहण मार्गको अभावमा आरोही आकर्षित हुन सकेका छैनन्। त्यसैले हिमालसम्म पुग्ने सम्भावित बाटो पहिचानलाई पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आधारका रूपमा हेरिएको छ।

यसअघि असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटमा अपि, साइपाल र जेठी बहुरानी हिमालको आरोहण मार्ग पहिचानका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको थियो। तर, उक्त बजेट पारित हुन सकेन। आर्थिक वर्ष सुरु भएको तीन महिनापछि नेपाली कम्युनिस्ट पार्टी नेतृत्वको प्रदेश सरकारले ल्याएको बजेटमा भने अपि र साइपालको मार्ग पहिचानका लागि २० लाख रुपैयाँ मात्रै छुट्याइएको छ।
 

कमेन्ट लोड गर्नुस