एनपिएलः सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा
काठमाडौं: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको छ।
जितका लागि पाएको १४८ रनको लक्ष्य विराटनगरले ११ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर भेट्टायो। जसमा साम हिजलेट र फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले। साम ५१ र फाफ ५० रनमा आउट भए। सुदूरपश्चिमका अविनाश बोहराले दुई र हर्मित सिंहले एक विकेट हात पारे।
यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४७ रन बनायो। जसमा आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन जोडे।