सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–जुगेडा सडक निजी संरचनाले निर्माणमा समस्या

२०८१ पुष ११, ११:३० कमल सावद

धनगढी : कैलालीको धनगढी–जुगेडा सडकमा पर्ने भौतिक संरचनाहरूले निर्माणमा समस्या भएको छ। सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालय, धनगढीले सडक निर्माणका लागि ठेक्का सम्झौता गरेकोमा निजी संरचनाका कारण समस्या भएको हो।

धनगढी उपमहानगरपालिका–८ भगत टोलमा निजी जग्गा र घर तथा संरचनाका कारण सडक साँघुरो हुने देखिएको छ। स्थानीयले सडकको क्षेत्राधिकार खाली गर्न नमानेका कारण सडकको नालीहरूसमेत बाङ्गो बनाइदैछ। पूर्वाधार कार्यालय, कैलालीका इन्जिनियर विनोद खड्काले १० मिटर क्षेत्रमा सडकको नाली निर्माण थालिएको बताए। उनले भने, ‘१० मिटर भित्रमा हाम्रो नाली हुँदैछ। उपमहानगरपालिकाले फुटपाथ बनाउन सक्छ। फुटपाथका लागि २ मिटर दायाँ र २ मिटर बाँयाको क्षेत्र लिनुपर्छ।’

धनगढीगाउँदेखि घुइयाँघाट हुँदै जुगेडा जोड्ने सडकको निर्माणमा निजी संरचनाहरूले समस्या गरेको हो। सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएकोमा निजी संरचनाहरूले काममा समस्या भएको हो। धनगढीको दक्षिणी क्षेत्रका लागि निकै महत्वपूर्ण सडकको क्षेत्राधिकार छोड्न स्थानीयले नमानेका हुन। स्थानीयले निजी जग्गा, घर तथा संरचनाहरू परेको भन्दै अवरोध गरेका छन।

प्रदेशको पूर्वाधार कार्यालयले बहुवर्षीय योजनाका रूपमा रहेको यो सडकको पहिलो प्याकेजमा पाँच ५० मिटरमा कालोपत्रे सडक निर्माणको काम भइरहेको छ। त्यति दुरीका लागि गत वर्ष ठेक्का भएको थियो। ठेक्का भएको ठाउँमा नाली निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार कार्यालयले १० मिटर चौडाइको सडक निर्माण गर्दै छ।धनगढी उपमहानगरपालिका–८, १० र १२ जोड्ने सो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले डेढ करोड बजेट विनियोजन गरेको छ। तर, बहुवर्षीय योजना रहेकाले थप चार गुणा बजेट थपको प्रयास पनि भइरहेको जनाइएको छ। पूर्वाधार कार्यालयले चार वटा सडकको एक प्याकेज बनाएर सडक निर्माणको ठेक्का सम्झौता गरेको हो। पूर्वाधार कार्यालयका इन्जिनियर खड्काले नाली निर्माणको काम जारी रहेको बताए।

कृषि सडकका रूपमा लिइएको यो सडक नालासहित १० मिटर चौडा बन्ने बताइएको छ । पहिलो प्याकेजमा मिनु कन्स्ट्रक्सनले सडक निर्माणको काम गरिरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । २०८२ असार मसान्तसम्म सडक निर्माणको समयावधि रहेको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस