सकियो चतुर्मास, विवाह–व्रतबन्धको सिजन सुरु
कार्तिकशुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा चतुर्मास वा कार्तिकस्नान समाप्त भएको छ। आषाढ शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास सोमबारदेखि सकिएको हो।
कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन गरिने चलन छ। चतुर्मासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वास गरिन्छ। त्यसैले यो समयमा विभिन्न विशेष काम तथा शुभकार्यहरु शुभारम्भ गरिँदैन। यो समयमा भगवान् विष्णु निद्रामा हुने भएकाले शुभ तथा मंगल कार्यहरू रोकिएको मानिन्छ।
हिजो सोमबारबाट फेरि शुभ कार्यको थालनी गर्न सकिन्छ, नयाँ सुरुवात गर्न सकिन्छ भन्ने जनविश्वास रहेको छ। मंसिर लागेसँगै विवाह तथा व्रतबन्धका साइतहरू धमाधम सुरु हुन्छन्। चतुर्मासका कारणले रोकिएका विवाह तथा ब्रतबन्धहरु अनि ठूला पूजा–आजा सुरु भएका छन्। भगवान् शिवले यसैदिन त्रिपुरासुर नामक दानवको अन्त्य गरेको पुराणमा उल्लेख छ।
यो दिन पवित्र नदी तलाउमा स्नान गर्ने र चन्द्रमा उदय भएपछि साँझ शिवजीको पुजा गर्ने चलन छ। औँसीमा पितृकार्य गरिएजस्तै देवीदेवता सम्बन्धी अनुष्ठानका लागि पूर्णिमाको महिमा छ। चन्द्रमाको कला बढ्दै गएर पूर्ण हुने पक्षलाई शुक्ल र पूर्ण भएको चन्द्रमाको कला घट्दै गएर चन्द्रमा नै नदेखिनेसम्मको अवधिलाई कृष्ण पक्ष भनिन्छ। चतुर्मास सँगसँगै सनातनी हिन्दु धर्मालम्बीहरुका लागि सोमबारबाट कार्तिक स्नान पनि समापन भएको छ। बडादसैँको समापनसँगै सुरु भएको कार्तिक स्नान समापन भएको हो।