सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट होः राष्ट्रपति

२०८२ असार ४, ०२:३८ रासस

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताउनुभएको छ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नाममा स्थापित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ वितरण समारोहमा उहाँले अग्रज नेताको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेकाले गणतन्त्रको अभिष्ट जनताको  जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गरे।

सो अवसरमा राष्ट्रपति पौडेलले  राजनीति तर्फको सम्मान शान्ता मानवी, इतिहासतर्फका सम्मान डा मेदिनीप्रसाद सेडाईं र साहित्यतर्फ राममणि पोखरेललाई सम्मान गर्नुभएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारको राशि एक लाख रहेको छ। 

राष्ट्रपति पौडेलले भन्नुभयो, “सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र  संविधानले राखेको लक्ष्य पूरा हुनेछ। यो लक्ष्य पूरा गरे मात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।”

राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तरविरोधहरूलाई सुक्ष्म ढङ्गले अभिलेखन गर्न पनि योगदान गर्नुभएको उल्लेख गरे। उहाँले भन्नुभयो, “पुष्पलाल कम्युनिष्टहरूबीच पनि फरक चिन्तन र अलग पहिचान बनाउन सफल नेता हो। उहाँ  माक्र्सवादी र वर्ग संघर्र्षको सिद्धान्तबाट आएको नेता भएर पनि लोकतान्त्रिक प्रक्रियाबाटै सबै समस्याको समाधान सम्भव छ भन्ने विश्वासमा अटल भएर उभिएको एउटा असल नेता थिए।

राष्ट्रपति पौडेलले पुष्पलालको चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग भएको बताउँदै उनको यो विचार उपयुक्त थियो भन्ने ०४६  सालको परिवर्तनले पुष्टि गरेको बताए।  उनले भने, “पुष्पलालको यो चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग थियो भन्ने म ठान्दछु।”

राष्ट्रपति पौडेलले  पुष्पलालको यो विचार उपयुक्त थियो भन्ने ०४६  सालको परिवर्तनले पुष्टि गरेको बताए। 

कमेन्ट लोड गर्नुस