भ्रष्टाचारको अन्त्य र न्यायपूर्ण समाजको बाटो
लेखक द्रोण अवस्थी : विकिपीडिया अनुसार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूको विरुद्ध आचरणलाई भ्रष्ट आचरण अर्थात् भ्रष्टाचार मानिन्छ । भ्रष्टाचार भन्नाले दुई शब्द ‘भ्रष्ट’ र ‘आचार’ को सन्धि हो, जहाँ ‘भ्रष्ट’ को अर्थ खराब र ‘आचार’ को अर्थ आचरण (बानी–व्यवहार) हुन्छ । अर्थात्, भ्रष्टाचारको अर्थ खराब आचरण भन्ने बुझिन्छ । यस प्रवृत्तिले निष्पक्षता, समानता र न्यायका सिद्धान्तहरूलाई कमजोर पार्दै अर्थतन्त्रलाई विकृत बनाउँछ । नेपालको प्रतिपक्षमा हेर्ने हो भने कर्मचारीतन्त्र, कुशासन, सामाजिक विकृति, खुकुला ऐन कानुनहरू हुनु इत्यादि जस्ता परिणामहरूलाई नेपाली समाजमा भ्रष्टाचारको प्रमुख कारणको रूपमा हेरिन्छ तर गहिराइमा पुगेर हेर्दा वास्तविकता भने फरक नै छ । भ्रष्टाचारले सामाजिक न्यायलाई कमजोर बनाउँछ र देशहरूको प्रगतिमा बाधा पुर्याउँछ। भ्रष्टाचारको जरा पत्ता लगाउन र यसको समाधानको खोजी गर्नको निम्ति राजनीतिक, आर्थिक प्रणाली र नैतिकताबिचको जटिल अन्तरक्रियामा जानुपर्ने हुन्छ ।
मानव समाजको इतिहास आदिम साम्यवादी युगबाट सुरु भएको थियो। जुन युगको अर्थतन्त्र प्राकृतिकमा आधारित थियो, त्यसपछि दास युगको सुरुवात भयो जसमा समाज वर्गिय रुपमा विभाजित भयो, यस समाजको अर्थतन्त्र दासहरूमा आधारित थियो, त्यसपछि सामन्तवादी युगको सुरुवात भयो जसमा जमिनलाई अर्थतन्त्रको प्रमुख आधार मानिन्छ त्यस युगमा र उत्पादनको परिमाण व्यापक भइसकेपछि वस्तुहरू साटासाट गर्ने प्रकृया संगै पुँजीवादको जन्म हुन गयो । पुँजी प्रमुख उत्पादक शक्ति हुने व्यवस्था पुँजीवाद हो । यस प्रणालीमा उत्पादन शक्ति र उत्पादनका साधनहरू निजी स्वामित्वमा हुने गर्दछन्।
पन्ध्रौँ शताब्दीमा इटलीबाट पुँजीवादको सुरुवात भयो । सोह्रौँ शताब्दीमा नेदरल्याण्ड, सत्रौं शताब्दीमा बेलायत हुदै फ्रान्समा पनि पुँजीवादी क्रान्ति भइ पुँजीवादी व्यवस्थाको सुरुवात भएको थियो। पुँजीको प्रयोगको आधारमा अहिलेसम्म व्यापारिक पुँजीवाद, औधोगीक पुँजीवाद, एकाधिकार पुँजीवाद हुदै वर्तमानमा दलाल पुँजीवादको रूपमा विकास भएर आएका अवस्था छ । पुँजीवाद भनेको प्रतिस्पर्धा र विकासमा आधारित भनिएतापनि यसले वर्तमान अवस्था सम्म डरलाग्दो सम्पत्ति विभाजन निम्त्याएको छ। विश्वभर वित्तीय असमानताको स्तर बढ्दै गइरहेको छ। विश्वका ०.७% व्यक्तिहरू सँग विश्वको ४१.९% सम्पत्ति छ, ७.७% व्यक्तिहरू सँग विश्वको ४२.३% सम्पत्ति छ, २२.९% व्यक्तिहरू सँग १३.७% सम्पत्ति छ भने विश्वका बहुसङ्ख्यक ६८.७% व्यक्तिहरू सँग विश्वको ३ % मात्र सम्पत्ति छ। र यो आँकडा दिन प्रतिदिन साँघुरिँदै गइरहेको छ। यस तथ्याङ्कले यस विश्वमा आर्थिक असमानताको स्पष्ट चित्र प्रस्तुत गर्छ । पुँजीवादको आधार निजी स्वामित्व र स्वतन्त्र बजार अर्थतन्त्रको सिद्धान्तमा निहित हुन्छ। यद्यपि यस प्रणालीले प्रतिस्पर्धा र आर्थिक वृद्धिलाई बढावा दिने भनिएतापनि, यसले ठुला आर्थिक असमानताहरूलाई जन्म दिएको छ ।
कम्युनिस्ट मेनिफेस्टोमा लेखिएको छ कि पुँजी सामाजिक अन्तरक्रिया द्वारा सृजना हुन बस्तु हो त्यसैले यो सामाजिक बस्तु हो । नेपाली समाजमा भने व्यक्तिले आफ्नो आइडिया, प्लानले कमायो भन्ने बुझाइ रहेको छ र यही बुझाइ नै समाजको दुर्गतिको एउटा कारण पनि बन्न गएकाे छ। क्रान्ति नायक भ्लादिमिर लेनिनले भनेजस्तै "पूँजीवादी समाजमा स्वतन्त्रता भनेको सधैं पुरातन ग्रीकमा दासका मालिकहरूको लागि स्वतन्त्रता रहेजस्तै हुन्छ " जसले एकदमै थोरै व्यक्तिहरूलाई मात्र फाइदा गर्छ । पुँजीवादी समाजमा स्वास्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकतालाई पनि उपभोग्य वस्तु, नाफामा आधारित उद्यमको उत्पादनका रूपमा लिइन्छ । पुँजीवाद अन्तर्गत, शिक्षा र स्वास्थ्य सेवाहरू प्राय: बजार शक्तिहरूको अधीनमा रहेका वस्तुहरू बन्छन्। यो प्रणालीले राज्यका सम्पूर्ण अङ्गप्रत्यङ्गलाई पनि माल बनाएर बिक्री गर्नको निम्ति नियन्त्रण राख्छ । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँचलाई अधिकारको सट्टा विशेषाधिकार बनाउँछ। आधारभूत आवश्यकता भएपनि निजीकरण, व्यापारीकरण भएको व्यवस्थामा बहुसङ्ख्यकले आवश्यकता पुरा गर्न पनि कठिनाइ हुने गर्दछ,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खाडी जाने युवाहरूको लस्करको पनि यथार्थ यही नै हो। असमानताको खाडल फराकिलो हुँदै जाँदा सीमान्तकृत व्यक्तिहरूमा निराशाको भावना बढ्दै गएको छ ।
जब यस व्यवस्थाले नै समाजको आधारभूत आवश्यकताहरू प्रदान गर्न असफल हुन्छ, जो कोहीले आफ्नो र आफ्नो परिवारको लागि राम्रो जीवन सुरक्षित गर्न भ्रष्टाचार र अपराधको सहारा लिन थाल्दछन्। यसको मतलब राज्यमा बसेर देशलाई सिद्याउन लागेका भ्रष्ट पुँजीवादी धमिराहरूलाई चोख्याउन खोजिएको होइन, यस प्रणालीले मृत्यु या अपराधको दोबाटोमा पुर्याएका सीमान्तकृत शोषित यता उत्पीडित समुहहरूलाई भन्न खोजिएको हो। कैलालीमा पनि विगत लामो समयदेखि लागुपदार्थ ओसारपसार अपराधको कसुरमा किशोर किशोरी उमेर भित्रका थुप्रै युवायुवतीहरू पक्राउ पर्दै गइरहेका छन् ।
यी घटनाहरूमा हाम्रो समाजको विचार र संवेदनाहीनहरूको ठुलो जमातले भद्दा तरिकाले टिप्पणी पनि गरिरहेको छ तर यी कलिला अवस्थाका किशोर किशोरी को वास्तविक अवस्था गहिराइबाट बुझ्ने हो भने यो प्रणालीले नै अपराध गर्न बाध्य पारेको देखिन्छ। शिक्षा स्वास्थ्य खरिद गर्नुपर्ने, आयात मुखी अर्थतन्त्र, रोजगारी,उद्योग हरू सबै नष्ट, राज्यमा नातावाद कृपावाद, निजी कम्पनीहरूमा श्रम शोषण, आविष्कार मा अनुसन्धानमा शून्य प्रोत्साहन भएको पुँजीवादी प्रणालीमा सीमान्तकृत व्यक्तिहरूले अपराध गर्नु नै अन्तिम उपाय हुनजान्छ। यो सिङ्गो प्रणालीले नै एकातिर अपराध गर्न बाध्य पारिरहेको भने, अर्कोतिर अपराधी करार गरेर जेलमा सडाइरहेको छ ।
सर्वहाराका महान गुरु कार्ल मार्क्सको अतिरिक्त मूल्यको सिद्धान्तले पूँजीवादले श्रमिक वर्गको श्रमबाट मूल्य निकालेर अन्तर्निहित रूपमा आर्थिक असमानता उत्पन्न गर्छ भन्ने कुरामा छर्लङ्ग पारेको छ । मार्क्सका अनुसार कुनै वस्तुको मूल्य, उत्पादनमा लाग्ने श्रमको आधारमा निर्धारण गर्नु पर्छ। तर पुँजीवादी व्यवस्थाले स्वाभाविक रूपमा अतिरिक्त मूल्य उत्पन्न गर्छ। निजी स्वामित्वमा आधारित प्रणालीको कारण श्रमिकले श्रम गरेर पनि थोरै पारिश्रमिक पाउँछ भने श्रम नै नगर्ने मालिकले धेरै पारिश्रमिक पाउँछ। मार्क्सको सिद्धान्तले पूँजीवाद र भ्रष्टाचारबिचको आधारभूत सम्बन्धलाई भन्डाफोर गरेको छ, तसर्थ पुँजीवादी व्यवस्थामा निकालिनेको अतिरिक्त मूल्य, अन्याय र असमानतापूर्ण निजी सम्पतिमूलक प्रणाली नै सबैभन्दा ठुलो भ्रष्टाचार हो भन्ने निष्कर्षमा अब हामी पुग्नु आवश्यक छ। यस प्रणालीले निर्माण गर्ने संस्कृति नै एकले अर्कालाई लुट्नु, ठग्नु, भ्रष्टाचार गरेर भएपनि धनी बन्नु नै पुँजीवादी संस्कृति हुन्छ। तसर्थ सीमान्तकृतहरूले अपराध गर्नु व्यक्तिको रोजाइ मात्र नभएर यो हामी बाँचिरहेको प्रणालीको बाध्यात्मक परिणामको हुन जान्छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर अनुसार भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल सन् २०१३ मा १७७ राष्ट्रमध्ये ११६ औँ स्थानमा थियो। त्यसपछिका वर्षहरूमा नेपालको वरियतामा उतारचढाव देखियो । सन् २०१४ मा १७५ राष्ट्रमध्ये १२६ औँ स्थानमा, २०१५ मा १३० औं स्थानमा, २०१६ मा १३१ औँ स्थानमा, २०१७ मा १२२ औँ स्थानमा, सन् २०१८ मा १२४ औँ स्थानमा , २०१९ मा ११३ औँ स्थानमा, २०२० मा ११७ औँ स्थानमा, २०२१ मा ११७ औँ स्थानमा र २०२२ को पछिल्लो प्रतिवेदन अनुसार ११० औ स्थानमा पुगेको छ । यी तथ्याङ्कहरूले वर्तमान राज्य प्रणालीमा भ्रष्टाचार बढ्दै गएको र समाधानको निम्ति वैकल्पिक राजनीतिक आर्थिक प्रणालीहरूको खोजी गर्नुपर्ने आवश्यकतालाई छर्लङ्ग पारेका छन्। नेपालमा अस्थिरता, भ्रष्टाचार, अन्याय अत्याचार, दलाली र माफियातन्त्र विरुद्ध प्रभावकारी रूपमा विरुद्ध लड्न आर्थिक प्रणालीलाई नै सम्बोधन गर्ने गरी हामीले सोच्नु आवश्यक छ ।
पुँजीवादी संसदीय राजनीतिका पुराना, नयाँ केही नयाँ केही जत्थाहरूले समय समयमा आफू सत्तामा गए सबै भ्रष्टाचार अन्त्य गर्ने भाषण गरिरहेका छन् भने केहीले त राजतन्त्र फर्काए, ज्ञानेन्द्रलाइ श्रीपेच भिराए सबै ठिक हुने हास्यास्पद तर्क गरिरहेका छन्। पुराना फाइल खोलेर केही नेताहरूलाई जेल कोच्ने नायक फिल्मको हिरो वाला डाइलग पनि हान्छन।हुटिङमा रमाउने बानी परेका विचार विहीन कथित नेता र तिनका केही हुलहरूलाई लाग्छ होला कि उनीहरू सत्तामा गएर केही पुरानाहरूलाई जेल हाल्दैमा सबै ठिक हुन्छ तर पुँजीवादले निर्माण गरेको अन्यायपूर्ण परिभाषा, मापदण्डहरू प्रति उनिहरू अचेत र बेखबर छन् ।
जसरी रोगीको ठिक तरिकाले उपचार गर्न सर्वप्रथम रोगको पहिचान हुनु आवश्यक हुन्छ त्यसैगरी देशलाई स्वतन्त्र, समानतामूलक र स्वाभिमानी बनाउन समस्याहरूको ठिक पहिचान हुनु पर्दछ । सम्पत्तिमा समान स्वामित्व हुने वास्तविक समाजवादी प्रणालीको सम्पूर्ण संरचनाको निर्माण र कार्यान्वयन नै अबको विकल्प हो । समाजवादी व्यवस्थामा शिक्षा र स्वास्थ्य सेवा वस्तु नभई मौलिक अधिकार हुन्, जुन सबैका लागि स्वतन्त्र रूपमा पहुँचयोग्य हुनुका साथै समाजको सामूहिक उत्तरदायित्वले स्रोतको न्यायोचित वितरण सुनिश्चित गर्छ। आर्थिक असमानतालाई ठिक तरिकाले सम्बोधन गर्न र थप समतामूलक समाज निर्माण गर्न, परिवर्तनका समर्थकहरूले सतही कारणहरूभन्दा बाहिर हेर्दै र प्रणालीगत परिवर्तनको लागि प्रयत्न गर्नु आवश्यक छ । तब मात्र हामी अन्याय, अत्याचार,दमन, शोषण र भ्रष्टाचारको बन्धनबाट मुक्त संसारको लागि मार्ग प्रशस्त गर्न सक्छौँ, जहाँ समृद्धि र समानता एकसाथ रहुन्।
वैज्ञानिक समाजवाद नै यस्तो व्यवस्था हो जसको राजनीतिक,आर्थिक सांस्कृतिक प्रणालीले जसले सामूहिक स्वामित्व र आवश्यक सेवाहरूमा समान पहुँचलाई प्राथमिकता दिन्छ। भने पुँजीवादले निर्माण गरेका अन्यायपूर्ण मापदण्डहरूलाई टेकेर केही भ्रष्ट संसदीय यसै प्रणालीका नेताहरूले पुराना फाइलहरू पल्टाएर दुईचार पुराना नेताहरूलाई जेल कोच्ने फिल्मी भाषणमा ताली ठोक्दैमा नेपालीहरूको आधारभूत जीवनमा केही पनि परिवर्तन आउन सक्दैन, पुँजीवादमा सम्पत्तिको असमान स्वामित्व नै भ्रष्टाचार र अपराधको प्रजनन स्थल हो ।
यो प्रणाली स्वतन्त्रता, समानता र भातृत्वको नारा लिएर उदाएको भएतापनि यसले, सीमित वर्गलाई मात्र फाइदा हुने अन्यायपूर्ण प्रणाली हो, चरम असमानता र एक मानिसले अर्को मानिस प्रति देखाउने मानवीय भावनाको पनि अन्त्य गरेर केवल फाइदाको पछाडि कुद्ने हाड र मासुका मेसिनहरू निर्माण गरेको छ तसर्थ वर्तमान समयको वास्तविक ज्ञान ,क्षमता र राजनीतिक चेत सहितका नयाँ युवाहरूको नेतृत्वमा वर्तमान भ्रष्ट व्यवस्था परिवर्तन पछिको वास्तविक वैज्ञानिक समाजवादको स्थापना नै अब नेपालीको आधारभूत जीवनमा खुसी सुख ल्याउने न्यायपूर्ण समाजको एक मात्र बाटो हो।